आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राज्यले चलचित्र क्षेत्रलाई उद्योगको सुविधा नदिएको गुनासो

बुधबार, ०२ कात्तिक २०७९, १९ : ५३
बुधबार, ०२ कात्तिक २०७९

नेपाल सरकारले नेपाली चलचित्र क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिएपनि त्यो अनुसारको सुविधा नदिएको गुनासो निर्माताहरुले गरेका छन् । राज्यले विदेशी चलचित्र प्रमोटका लागि कुनै पनि कार्य नगरेको उनीहरुको आरोप रहेको छ ।

बुधबार परिवर्तन नेपालले नव निर्वाचित चलचित्र निर्माता संघका पदाधिकारीको स्वागत तथा सम्मान गर्न आयोजित कार्यक्रममा नेपाली चलचित्रलाई वेवास्ता गर्दै विदेशी चलचित्र प्रदर्शनलाई महत्वका साथ बढी हल दिने प्रवृत्तिविरुद्ध आफूहरु अहिले लडिरहनु परेको बताएका छन् । कार्यक्रममा संघका नव निर्वाचित अध्यक्ष नवल खड्काले आफूहरुले गरिएको स्वागत तथा सम्मानले निर्माताहरूको हक हितमा जुट्न अझ प्रेरित गरेको बताए । उनले नेपाली चलचित्र उद्योगलाई जोगाउन निर्मातहरुसँग सबै चलचित्रकर्मीको साथ हुनुपर्ने बताए । उनले नेपाली चलचित्रको प्राथामिकतामा लागि हल वालाहरुको संस्था नेपाल चलचित्र संघका पदाधिकारीसँग वार्ता भएको र उनीहरुले आफ्नो मागलाई महत्व दिने बाचा गरेको बताए ।

परिवर्तन नेपालका अध्यक्ष तथा नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले नेपाली चलचित्र उद्योगमा पछिल्लो समय धेरै विकृति आएको बताए । उनले नेपाली चलचित्रमा राष्ट्रियता र मौलिकतालाई महत्व दिन अझ प्रेरणा मिलोस् भनेर आफूहरुले संस्था मार्फत सम्मान तथा स्वागत गरेको सुनाए । 

संघका निवर्तमान अध्यक्ष आकाश अधिकारीले राष्ट्रिय उद्योगको मान्यता पाएपनि राज्यबाट चलचित्रले पाउनुपर्ने सुविधाहरु अझै नपाएको गुनासो गरे । नेपालकी प्रथम अभिनेत्री भुवन चन्दले पनि नेपाली चलचित्र उद्योगमा विकृति छाएको बताइन् । अग्रज कलाकार वसुन्धरा भुसालले पनि यहाँ चलचित्रकर्मीबीच एकले अर्कालाई खुट्टा तान्ने प्रवृति बढेको बताइन् । कार्यक्रममा पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रिय, निर्देशक लय संग्रौला, निर्देशक माधव खरेल, कलाकार गोपाल ढकाल लगायतको उपस्थिती रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप