मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

रोदनको ‘समकालीन नेपाली निबन्ध’ विमोचन

बिहीबार, ०३ कात्तिक २०७९, १७ : ००
बिहीबार, ०३ कात्तिक २०७९

निबन्धकार श्रीओम श्रेष्ठ रोदनको सम्पादकत्वमा ‘समकालीन नेपाली निबन्ध’को विमोचन गरिएको छ । शङ्कर लामिछाने साहित्य प्रतिष्ठानको आयोजनामा थाहा पुस्तकालय मीनभवनमा बिहीबार आयोजित कार्यक्रममा बरिष्ठ साहित्यकार प्रमोद प्रधान, राधेश्याम लेकाली, शान्तिमाया गिरी, सुधा शर्मा, सम्पादक श्रीओम श्रेष्ठ रोदनले संयुक्त रूपमा सो कृतिको विमोचन गरे । 

कार्यक्रममा बरिष्ठ साहित्यकार प्रमोद प्रधानले वर्तमान समयका लेखकहरु सीमित शब्द र सीमित विचारहरुका आधारमा निबन्ध लेखनमा लागेर रातारात बरिष्ठ साहित्यकार बनेको भ्रममा रहेका बताए । उनले भने, “समकालीन नेपाली निबन्धले कस्ता निबन्धहरू लेखिनुुपर्छ भन्ने नमुना यस कृतिमा प्रस्तुत गरिए छ ।” तेजेश्वरबाबु ग्वांग, तारानाथ शर्मादेखि पछिल्लो पुस्ताका निबन्धकारका प्रतिनिधि निबन्धहरु यस कृतिमा सङ्कलन गरिएको बताए । 

यसैगरी साहित्यकार शान्तिमाया गिरीले कृतिमा अग्रज पुस्ताहरुदेखि लिएर समसामयिक निबन्धकारहरुका निबन्ध यस कृतिमा समेटिएकाले यसले समकालीन नेपाली निबन्धको वास्तविक प्रतिनिधित्व गरेको बताइन् । उनले अघिल्लो पुस्ताका मात्र होइन कान्छो पुस्तका निबन्ध पढ्दा अध्ययन, अनुभव, चेतना, विचार, चिन्तनका हिसाबले परिपक्व रहेको बताइन् । 

शङ्कर लामिछाने साहित्य प्रतिष्ठानका अध्यक्ष राधेश्यम लेकालीले समकालीन नेपाली निबन्धले आत्मपरक निबन्धको वास्तविक प्रतिनिधित्व गर्ने बताए ।  

नेपाली आत्मपरक निबन्ध सङ्ग्रह अरू धेरै नै सम्पादित भएर प्रकाशित भए पनि ती कुनै न कुनै रूपमा कसै न कसैबाट प्रभावित रहेको सम्पादक श्रीओम श्रेष्ठ रोदनले बताए । उनले भने, “यो समकालीन नेपाली निबन्धको सङ्कलन मात्र नभई आत्मपरक निबन्धको इतिहास निर्माण पनि हो ।” 

यस निबन्धमा ४५ निबन्धकारहरुका ४५ वटा निबन्ध सङ्कलित छन् । यीमध्ये १३ जना नारी स्रष्टाका आत्मपरक निबन्ध सङ्कलित छन् । 

कार्यक्रमा गोविन्द गिरी प्रेरणा, प्राडा लक्ष्मण गौतम, गोविन्दराज भट्टराई, ध्रुव मधिकर्मी, तुलसीहरि कोइराला, प्रतीक ढकाललगायतका बरिष्ठ साहित्यकाहरुको उपस्थिति थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप