आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोदालो काँधमा बोकेर चुनावी प्रचारमा श्रीमननारायण

बिहीबार, ०३ कात्तिक २०७९, १७ : १४
बिहीबार, ०३ कात्तिक २०७९

जनता प्रगतिशील पार्टीका उम्मेदवार श्रीमननारायण आफ्नो चुनाव चिह्न बोकेर प्रचार प्रसारमा निस्केका छन् । रौतहट क्षेत्र नम्बर १ (ख) को प्रदेशसभा सिटमा उम्मेदवारी दिएका उनी कोदालो काँधमा बोकेर प्रचारका लागि निस्केका छन् । उनको पार्टीका चुनाव चिह्न कोदालो बोकेको किसान रहेको छ । 

उनी घरदैलो कार्यक्रम गर्दा आवश्यकताअनुसार काँधमा कोदालो राखेर मतदाता समक्ष जाने गरेका छन् । श्रीमननारायणले भने, ‘मेरो चुनाव चिन्ह कोदालो बोकेको किसान हो, म किसानको छोरा भएको कारण आफ्नो र आफ्नो चुनाव चिह्नको परिचय गराउन त्यस्तो गरेको हुँ ।’ सबै ठाउँमा लिएर जान्न तर आवश्यकता र परिवेशअनुसार कोदालो काँधमा राखेर मतदातासमक्ष जाने गरेको उनले बताए । 

नेपाल सदभावना पार्टीमा स्थापनाकालदेखि नै क्रियाशील रहेका श्रीमननारायणले सो पार्टीमा कहिले कुनै अवसर पाएनन् । एक दुईपटक समानुपातिकमा राखेपनि पार्टीका अध्यक्षहरुले आ–आफ्नालाई मात्रै च्याप्ने गरेको उनको गुनासो छ । 

पछि उनी कुनै पार्टीमा आवद्ध थिएनन् । पार्टीमा निस्कृय भएपनि उनी आफ्नो लेख रचनाबाट मधेशको राजनीतिमा सक्रिय नै थिए । यही क्रममा ह्रदयेश त्रिपाठीले जनता प्रगतिशील पार्टी गठन गरेपछि उनी पनि सो पार्टीमा सहभागी भए र अहिले सोही पार्टीबाट चुनावमा भाग लिएका हुन् । उनले भने, ‘जनताको आग्रहमा नै मैले चुनावमा भाग लिएको हुँ र मलाई जनताले नै जिताउनेछन् ।’

उनले औद्योगिकरणलाई प्राथमिकतामा राखी बेरोजगारी न्युनिकरण गर्ने काम गर्नुको साथै रोजगार केन्द्रीत नीति र कार्यक्रम कार्यान्वयनमा जोड दिने बताएका छन् । यस्तै तत्काल बेरोजगार युवालाई विना धितो जीवनयापन योग्य आर्थिक अनुदानको उपलब्धता गराउने आफ्नो चुनावी प्रतिबद्धता उनले सुनाए । 

कृषि र किसानलाई प्रमुख महत्व दिइ कृषि उपजको न्यायोचित मूल्य निर्धारण गराउने प्रतिवद्धता जनाएका उनले किसानहरुको खातामा सरकारी सहायताको उपलब्धता सुनिश्चित गर्ने पनि बताएका छन् । यस्तै कृषिसम्बन्धी नीति निर्धारणमा किसान प्रतिनिधिको सहभागिता गराउने, वीरगञ्ज चिनी मिल, गरुडा चिनी मिल र जनकपुर चुरोट कारखानाको पुनः सञ्चालनको लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

विगत पाँच वर्षमा प्रदेश सरकारद्वारा भएका भ्रष्टाचार र अनियमितताका घटनाको छानविन गराई दोषीमाथि कारवाही गराउने पनि उनले प्रतिवद्धता जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप