मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

देवकोटा सङ्ग्रहालयमा देवकोटाको व्यक्तित्व चर्चाका साथै रचना वाचन

शुक्रबार, ०४ कात्तिक २०७९, १६ : १८
शुक्रबार, ०४ कात्तिक २०७९

नेपाल प्रज्ञा प्रतिष्ठानले देवकोटाको ११४औँ जन्मजयन्तीलाई अवसरमा देवकोटाको व्यक्तित्व चर्चा तथा रचनावाचन कार्यक्रमको आयोजना गरेको छ । प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गरुङको अध्यक्षतामा आयोजित सो कार्यक्रम महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय, मैतीदेवीमा भएको हो । उक्त कार्यक्रमको निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गरे ।

कार्यक्रमलाई स्वागत गर्दै प्राज्ञ डा. हेमनाथ पौडेलले गत असोज २४ गते  उद्घाटन गरिएको सङ्ग्रहालयमा पहिलो पल्ट कार्यक्रम आयोजना गरिएको बताए । यसअघि कवि, साहित्यकारहरुको जन्मजयन्ति प्रज्ञा प्रतिष्ठानकै प्राङ्गणमा गरिँदै आएकामा अब देवकोटाको जन्मजयन्ती भने हरेक वर्ष यही सङ्ग्रहालयमा मनाइने बताए ।

यसैगरी प्राज्ञ देवी नेपालले देवकोटाले युगवाणीको सम्पादन गर्दा होस् या नेपाली साहित्य परिषद्का सभापति भएर काम गर्दा होस् उनले नेपाली साहित्यमा विशेष योगदान दिएको बताए । उनले भने, “नेपाल प्रज्ञा प्रतिष्ठानको परिकाल्पना गर्ने व्यक्तित्व नै महाकवि देवकोटा हुन् । देवकोटाको महान सपना अनि बालचन्द्र शर्माको सरकारी नेतृत्व र तत्कालीन कवि मविवि शाहको दूरदर्शी निर्णयका कारण नेपाल प्रज्ञा प्रतिष्ठान निर्माण भएको हो ।” त्यो प्रज्ञा प्रतिष्ठान कमलादीबाट मैतीदेवीसम्म विस्तार भएको उनले बताए । 

देवकोटाको सङ्ग्रहालय नेपाली सर्जकका लागि तीर्थस्थल भएको चर्चा गर्दै प्राज्ञ डा. उषा ठाकुरले यस तीर्थस्थलमा देवकोटाको ११४औँ जन्मजयन्ति मनाउन पाउँदा अत्यन्त हर्षित भएको बताइन् । उनले पन्त, प्रसाद, निराला र देवकोटाबीचको अन्तरसम्बन्धबारे विस्तृत चार्चा पनि गरिन् । 

यसैगरी निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेतीले देवकोटाको सङ्ग्रहालय निर्माण गरेर देवकोटाका सम्पूर्ण सामग्री सुरक्षित राख्न सकेकोमा खुसी व्यक्त गरे । यस कार्यमा आम सर्जक, पाठक र दाताहरूको साहोगबाट नै सङ्ग्रहालय निर्माण सम्भव भएको उनले बताए । 

कार्यक्रममा निमित्त कुलपति डा. जगमान गुरुङ, देकोटाकी सुपुत्री अम्बिका देवी देवकोटा, प्राज्ञ डा. देवी नेपाल, प्राज्ञ डा. जगतप्रसाद उपाध्यायले देवकोटाबारे आआफ्नो मन्तव्य राखेका थिए । कार्यक्रमा रामेश्वर राउत मातृदास, रेजिना आपगाईं, बलराम दाहाल, देवु लुइटेल, मञ्जिला अनिलले देवकोटाका रचना वाचन गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप