मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेता घरदैलोमा, व्यवसायी सडकमा

आइतबार, ०६ कात्तिक २०७९, १० : ५५
आइतबार, ०६ कात्तिक २०७९

आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि रुपन्देहीका दलका उम्मेदवारहरू भोट माग्न व्यस्त छन् । केन्द्रीय राजनीतिमा प्रभाव राख्ने ‘हेभीवेट’का नेताहरु एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही–२, कांग्रेसका नेता बालकृष्ण खाँण रुपन्देही–३, एमाले परित्याग गरेका नेता घनश्याम भुसाल रुपन्देही–१ मा उम्मेदवार छन् । 

यी नेताहरुले चुनावी अभियान र घरदैलो उद्योगी व्यवसायी कहाँ पुगेर गरिरहेका पनि छन् । उसो त अप्रत्यक्ष रुपमा नेताहरुलाई सघाउने व्यवसायी नै हुन् । एमालेका नेता तथा पूर्वअर्थमन्त्री समेत रहेका विष्णु पौडेलले त उद्योगी व्यवसायीलाई भेला गराएरै यो साता भोट मागे । 

नेताहरुले यसरी भोट मागिरहँदा यहाँका उद्योगी व्यवसायी भने बैंकको चर्को ब्याज तिर्न नसकेर आन्दोलन गर्न सडकमा छन् । उनीहरुले बैंकको चर्को ब्याजविरुद्ध चरणबद्ध आन्दोलन गरिरहेका छन् । 

रुपन्देही व्यापार संघले चर्को बैंक ब्याजविरुद्ध एकल एवं संयुक्त आन्दोलनको कार्यक्रम गरिहरेको हो । नेपाल राष्ट्र बैंकले गत भदौ ७ गते इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने चालु पुँजी प्रकृतिका कर्जा सम्बन्धमा कार्तिक १ गतेदेखि लागू हुने गरी जारी गरेको चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ र त्यसबाट उत्पन्न परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै त्यसका विरुद्ध संघले आन्दोलनको घोषणा गरेर सडकमा छ ।

संघले पहिलो चरणको कार्यक्रम कार्तिक ३ गते नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखामार्फत राष्ट्र बैंकका गर्भनरलाई ज्ञापनपत्र बुझाएको छ भने व्यापारिक प्रतिष्ठानहरुमा कालोपट्टी बाँधेर व्यवसायीले काम गरे । त्यसपछि व्यवसायीले राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाका भवन तथा सडकमा समेत धर्ना दिएको संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे बताए । 

व्यवसायीले आन्दोलन जारी राखेको भएपनि चुनाव केन्द्रीत दलका नेताले भने उनीहरुको मागको कुनै सुनुवाई गर्ने पहल गरेका छैनन् । व्यवसायीले पूर्व अर्थमन्त्री समेत रहेका विष्णु पौडेललाई ज्ञापन पत्र समेत बुझाएको संघका महासचिव दयानिधि भण्डारीले बताए ।

पछिल्लो समयमा नेपालको अर्थतन्त्र चलायमान नसकेको अवस्थामा बैंक वित्तीय संस्थाहरुबाट विना कारण पटकपटक ब्याजमा भैरहेको बृद्धिले निकै मर्कामा परेका व्यवसायीले बताएका छन् । बैंक तथा वित्तिय संस्थाहरुबाट लिएका ऋणको व्याज अस्वाभाविक रुपमा बृद्धि गरिएको र त्यसमा कसैको निगरानी नहुदा व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको उनीहरुको गुनासो छ । 

बुटवल उद्योग बाणिज्य संघको अगुुवाईमा रुपन्देहीका ५ वटा नगरका उद्योग बाणिज्य संघहरुले पनि अघिल्लो आसोज ३१ गते चर्को ब्याजबिरुद्ध सडकमा धर्ना दिएका थिए । सैनामैना उद्योग बाणिज्य संघ, देवदह उद्योग बाणिज्य संघ, तिलोत्तमा उद्योग बाणिज्य संघ र सिद्धार्थ वाणिज्य संघले संयुक्त रुपमा सडकमा धर्ना दिइसकेका छन् । ब्याज घटाउने मागको सुनुवाइ नभए तिहारपछि थप आन्दोलनका कार्यक्रम गरिने बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप