मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कविता कृति ‘नदीको तिर्खा’ लोकार्पण

आइतबार, ०६ कात्तिक २०७९, १२ : १२
आइतबार, ०६ कात्तिक २०७९

कवि अमृता स्मृतिको नयाँ कविता कृति ‘नदीको तिर्खा’ लोकार्पण गरिएको छ । हिजो (शनिवार) काठमाडौंको कुञ्ज थिएटरमा एक कार्यक्रम आयोजना गरि कविता कृतिको विमोचन गरिएको हो । कार्यक्रममा नदीको तिर्खा पुस्तकमा समावेश कविताहरूको चर्चा परिचर्चा गरिएको थियो ।

पुस्तकमाथि धारणा राख्दै कवि उमेश अकिञ्चनले कवि अमृता स्मृतिको कविता सशक्त र सरल रहेको बताए । उनले कवितामा नारी विद्रोह समेत समावेश गरेको उल्लेख गरे । उनले भने, समग्रमा कविताकृति विभेदविरुद्धको पैरवी गरेको मैले पाएँ, ‘जुन साँच्चै राम्रो छ ।’

कार्यक्रमका विशिष्ट र अतिथि शैलेश साकारले अहिलेको समयको आवाज कवि स्मृति भएको बताए । उनले पुस्तकमाथि धारणा राख्दै कविले कवितामार्फत विद्रोह गरेको सुनाए । उनले भने, ‘अहिले देशको अवस्था नै यस्तै छ, कवितामा विद्रोह छ, शक्तिशाली छ ।’ विशिष्ट अतिथि कवि साकारले कवितामा परिस्कृत विम्बको प्रयोग भएको बताए । उनले भने, ‘म कविता संग्रहको शीर्षकबाटै प्रभावित भएँ ।’

कार्यक्रममा प्रमुख अतिथि रहेका वरिष्ठ कवि तुलसी दिवसले कवितामा कवि इमानदारी भएको सुनाए । कवि अमृता स्मृतिले कविता संग्रहमा सशक्त कविता लेखेको सुनाइन्  । कवि तुलसी दिवसले चर्चाको लागि मात्रै कविता लेख्न नहुने उल्लेख गरे ।  उनले भने, ‘पारिवारिक मात्रै हैन राष्ट्रिय घटनामा पनि कविता लेख्न सक्नुपर्छ, यसमा कवि इमानदारी हुनुपर्छ, यसमा कवि अमृता स्मृति सजग हुनुहुन्छ ।’

‘भाषा शैली र प्रस्तुतिमा कविको आफ्नो पन देखिएको छ, जुन निकै राम्रो छ’ उनले भने । कवि अमृता स्मृतिले कार्यक्रममा १० वर्षपछि नयाँ पुस्तक सार्वजनिक गर्न पाउँदा खुशी लागेको सुनाइन् ।
उनले कविता कृतिप्रति आआफ्नो सल्लाह सुझाव दिन आग्रह गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप