आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अपराध अनुसन्धानमा प्रहरीकै कुशलता बढाउने ‘कुशल’

जसले केही जघन्य अपराधमा संलग्नलाई यसरी पत्ता लगायो
सोमबार, ०७ कात्तिक २०७९, १९ : ०५
सोमबार, ०७ कात्तिक २०७९

पोखरा ।  गत वर्ष पुस २९ गते तनहुँको व्यास–११ मा एक जना व्यक्ति मृत भेटिए । जिल्ला प्रहरी कार्यालय तनहुँमा अपरिचित व्यक्ति मृत भेटिएको खबर आएपछि प्रहरी घटनास्थलमा पुग्यो । टाउकोमा चोट लागेकाले मृतकको पहिचान हुन गाह्रो थियो । घटना रहस्यमय भएपछि जिल्ला प्रहरी कार्यालय तनहुँले विशेष टोली नै बनाएर अनुसन्धान थाल्यो । टोलीका अधिकृत थिए– तनहुँ प्रहरीका प्रवक्ता युवराज खड्का ।

बिहान ५ बजेको घटना दुई घण्टापछि प्रहरीले थाहा पाएको थियो । प्रमाण नष्ट हुन सक्ने भएपछि अनुसन्धान टोलीले गण्डकी प्रदेश कार्यालयबाट तालिमप्राप्त कुकुर ‘कुशल’ माग ग¥यो । तत्काल घटनास्थलमा प्राविधिक सहितको टोली पुग्यो । घटनास्थलमा भेटिएको प्रमाणका आधारमा कुशलले हत्याराको संकेत गरेको अनुसन्धान अधिकृत खड्का बताउँछन् ।

उनले भने, ‘त्यहाँ केही प्रमाण भेटिएका थिए । कुशललाई सँुघाउने बित्तिकै हत्याराको घर नै इन्डिकेट गरेको थियो । मृतृकको पहिचान खुल्नु अघि नै हत्यारा पत्ता लाग्यो ।’ उनका अनुसार कुशलले घटनास्थलबाट ८० मिटर टाढा रहेको हत्याराको घरलाई इन्डिकेट गरेको थियो ।

कुशलको सहयोगमा घटनामा संलग्न तनहुँ व्यास–११ दराई पँधेराका आयुष तिवारी पक्राउ परे । उनले सहकर्मी किरण गुरुङलाई ‘फोरुवा’ प्रहार गरी मारेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको तनहुँका डीएसपी खड्काले बताए । ‘घटनास्थलमा फोरुवा भेटियो । कुशललाई त्यही सुघाइदिएपछि हत्यामा संलग्न आयुष तिवारीकै घरमा ‘कुशल’ले इन्डिकेट ग¥यो । हामीले त्यसपछि आयुषलाई पक्राउ गरेर अनुसन्धान गर्दा त्यो प्रमाणित पनि भयोे ।’

आयुषले नै मृतक किरण गुरुङ रहेको प्रहरीलाई बताएका थिए । काठमाडौंमा सँगै काम गर्ने उनीहरुबीच विवाद हुँदा घटना घटेको खड्का बताउँछन् । ‘किरणको घर पोखरा–८ हो । तर, काठमाडौंबाट आएर तनहुँको हाइवेमा ओर्लिएको छ । त्यसपछि किरणले योजनावद्ध तरिकाले मारेको प्रमाणित भयो ।’

किरणले आयुषलाई घरबाट फोरुवा ल्याएर मारेको प्रहरी अनुसन्धनबाट खुलेको हो । आयुष अहिले पुर्पक्षका लागि तनहुँ कारागारमा छन् ।  

कुशलले तनहुँकै मनेना कुमालको हत्यारा पनि पत्ता लगाएको छ । गत वर्ष मंसिर १ गते तनहुँ, सिसाघाटकी मनेना कुमालको शंकास्पद तरिकाले हत्या भयो । घटनामा संलग्न पत्ता लगाउन कठिन देखियो । तनहुँ प्रहरीले प्रदेश प्रहरीसँगको सहकार्यमा ‘कुशल’लाई अपराधन अनुसन्धानमा संलग्न गराएपछि हत्यारा पत्ता लाग्यो । सोही ठाउँका १७ वर्षीय महेन्द्र कुमाललाई प्रहरीले कुशलकै मद्दतमा पक्राउ ग¥यो । महेन्द्रको रेप अटेम्प्ट मनेनाले अस्वीकार गर्दा सिसाघाटकै प्रतीक्षालयमा महेन्द्रले हत्या गरेका थिए । कुकुर ‘कुशल’ले घटनास्थलमा भेटिएको टोपी सुँघेर हत्यारा पहिचान गरेको थियो ।

०७५ असोज ९ गते पोखरा–२२, पुम्दीभुम्दीकी १० वर्षीय श्रेया सुनारको बलात्कारपछि हत्या भयो । त्यतिबेला पनि कुकुर ‘कुशलको सहयोगमा हत्यारा पत्ता लागेको थियो । बिस्कुट किन्न पसलतिर आइरहेकी बालिकालाई कुसुम पौडेलले बाटोमा देखे । उनले ५ रुपैयाँ दिए । फेरि १० रुपैयाँको लोभ देखाएर आफूतिर डाके । नजिक आएपछि बलात्कार गरेर टाउकोमा ढुंगाले हानेर हत्या थिए । त्यतिबेला पनि कुशलले नै हत्यारा इन्डिकेट गरेको थियो ।

पोखरा महानगरपालिका–२२ निवासी मीनबहादुर विकको जाहेरीको आधारमा प्रतिवादी स्याङ्जा स्थायी ठेगाना भई पोखरा–२२, कोदी बस्दै आएका २७ वर्षीय पौडेललाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । कुकुर ‘कुशल’ अहिले सेवाबाट अवकाश भइसकेको छ । कुशल अपराध अनुसन्धानमा उत्कृष्ट भएर पुरस्कृत भएको नेपाल प्रहरी गण्डकी प्रदेशमा कार्यरत केशव केसीले बताए । केसीका अनुसार कुशलले घटनास्थलमै १२ जना अपराधी समातेको छ । अपराधी संकेत भने सयौं पटक गरेको उनको भनाइ छ ।

नेपाल प्रहरीले कुनै बेला अनुसन्धानमा पोख्त अधिकारी र प्रविधिले अपराधी पत्ता लगाउन हार खाएको अवस्थामा कुकुरको प्रयोग गर्ने गरेको छ । अपराध अनुसन्धानमा जहाँजहाँ कुकुरको प्रयोग भएको छ, त्यहाँ प्रहरीलाई अपराधी पत्ता लगाउन सजिलो भएको देखिन्छ ।

सुँघ्ने क्षमता, आज्ञाकारी व्यवहार र बफादार स्वभावकै कारण कुकुरलाई अनुसन्धानमा प्रयोग गरिन्छ । अपराध भएको ठाउँको सबुत प्रमाणमा भएको गन्ध सुँघेर कुकुरले अपराधमा को व्यक्ति संलग्न छ भन्ने पत्ता लगाउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप