सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

तिहारै आयो लौ झिलिमिली : मायामा घुर्कीदेखि हिन्दू संस्कृति र लाहुरे संस्कृतिसम्म

मङ्गलबार, ०८ कात्तिक २०७९, १० : १२
मङ्गलबार, ०८ कात्तिक २०७९

हरियो गोबरले लिपेको लक्ष्मीपूजा गरेको,
हे औँसीको बारो गाई तिहारो भैलो । 

यो गीत शम्भु प्रधान निर्देशित सिनेमा ‘स्वर्ग’को कथालाई आधार बनाएर सांस्कृतिक पक्ष झल्काउने गरी लेखिएको हो । गीतमा तिहारको बयान गरिएको छ । हिन्दूू धर्मावलम्बीले तिहारलाई विशेष रूपमा लिने गरेका छन् । तिहारमा लक्ष्मी वा धनको देवीको पाइला बनाएर घरको दैलोमा स–सानो दियोमा बत्ती बाल्ने चलन छ । 

तिहारै आयौ लौ झिलिमिली,
ए, सुन हजुर भैलिनी आए आँगन,
मनको आँखा उघारी हेर, 
ए, सुन हजुर लक्ष्मी आइन् आँगन । 

यो गीत सिनेमाको भएकाले दुई अर्थ लागेको छ । एकातिर झिलिमिली अवस्थाले ‘लक्ष्मी’ आएको प्रतीत हुन्छ, लक्ष्मीलाई देख्न भने मनको आँखा उघार्न भनिएको छ । अर्कोतिर नायिका नायकलाई भेट्न आएकी छन् । सिनेमाको कथा अनुसार नायक शिव श्रेष्ठलाई भेट्न नायिका गौरी मल्ल आएकी छन् । 

झ्यालैमा बत्ती दैलोमा बत्ती,
ए, सुन हजुर जोरबत्ती पालैमा, 
लक्षिन पसून् यो घरभित्र, 
ए, सुन हजुर लौ नयाँ सालैमा ।

यी हरफमा आशीष र शुभकामना आएका छन् । सफा, उज्यालो ठाउँमा लक्ष्मी आउने मान्यता छ । यहाँ लक्षिन पसून् भनेर नयाँ साल (नेपाल संवत्)को शुभकामना दिएका छन् । 
यो गीत ०४९ सालमा लेखेको हुँ । पहिला पहिला धन कमाउन लाहुर वा भारतीय र ब्रिटिस सेनामा धेरै जाने गर्थे । उनीहरू चाडपर्वमा घर आउन पाउँदैनथे । त्यस कारण घर–परिवारलाई नरमाइलो हुन्थ्यो । यहाँ नायिकाले नायकलाई लाहुर नजान आग्रह गरेकी छन् । 

मेरो हजुर नजाऊ लाहुर 
नेपालमा पाइन्छ जागिर ।

सिनेमा कथा अनुसार, यसमा माया र घुर्कीलाई पनि गीतमा ल्याइएको छ । धाएर भेट्न आएकी नायिकाले नायकलाई नदेखेपछि दुखेसो पोख्छिन् । उनले फर्केर जाने घुर्की पनि ल्याउँछिन् । 

टाढाका हामी धाएर आयौँ,
हाम्रो त घर हो गैह्री गाउँ,
मनका धनी रैनछन् यहाँ,
हिँड है साथी फर्की जाऊँ । 

पहिले र अहिलेको तिहार 
यो गीत आएको ३० वर्ष हुँदासम्म अझै पुरानो भएको छैन । यस गीतबाट मैले धेरैबाट निकै राम्रो प्रतिक्रिया पाएको छु ।
पहिलापहिला सवारीसाधन अभावका कारण दिदीबहिनीहरू निकै टाढाबाट दुई–तीन दिन लगाएर हिँडेर आउनुपथ्र्यो । तिहारमा दिदीबहिनीले विभिन्न कोसेली बनाएर ल्याउने चलन थियो । अचेल यातायातको सुबिस्ताका कारण दिदीबहिनीलाई भेट्न दाजुभाइ जान वा दाजुभाइलाई भेट्न दिदीबहिनी जान त्यति समस्या छैन । 

अहिले आधुनिकता र विकासले परम्परामै परिवर्तन आएको छ । पहिले लक्ष्मी पूजाको दिन गोबरले लिपेर दियोमा बत्ती बालेर लक्ष्मीको पाइला बनाएर घरभित्र पु¥याउने प्रचलन थियो, अहिले यस्तो चलन निकै कम छ, लक्ष्मी भित्र्याउने विधिमै फरक छ । पहिले तिहार सुरु भएको दिनदेखि देउसी–भैलो खेल्नेको भीड हुन्थ्यो, रातभरि खेल्ने गर्थे । भैलो महिलाले र देउसी पुरुषले खेल्थे । अहिले त्यस्तो विभेद छैन, दुवैले दुवै खेल्छन् । तर अहिले पहिलाजस्तो देउसी–भैलो खेल्नेहरू आउन छाडेका छन् । ५०–६० को दशकसम्म देउसी भैलो खेल्ने निकै आउने गर्थे । एकपटक हाम्रो घरमा ७१ वटा ग्रुपसम्म आएको थियो । एकपटक प्रगतिशील लेखक संघका आनन्ददेव भट्टको नेतृत्वमा पनि देउसी खेल्न मकहाँ आउनुभएको थियो । 

पछिल्लो समय त कोभिड महामारीका कारण पनि देउसी–भैलो खेल्ने कम भए । अचेल पहिलेको जस्तो तिहारको रौनक पाइँदैन । राणाहरूको पालामा पञ्चक तोकेको थियो, अघि–पछि कसैले जुवा खेल्दैनथे । तिहारको पाँच दिन जुवा खेल्न छुट थियो । यसले कतिले सम्पत्ति गुमाउने पनि गर्थे । पहिला कौडा बढी खेल्थे । अहिले त पञ्चकको कुनै महत्व छैन । सरकारले नै क्यासिनो खोल्न दिएको छ । डिजिटल जमानाका कारण जुवा खेल्ने प्रचलन पनि नयाँ आएको छ ।
०००
दिदीबहिनी र दाजुभाइको अन्तर्सम्बन्धलाई तिहारले झनै नजिक बनाउँछ । पहिला पहिला दिदीबहिनीहरू हामीकहाँ आएर टीका लगाउने गरेका थियौँ, अहिले हामी नै उनीहरूकहाँ गएर टीका ग्रहण गर्ने गरेका छौँ । टीका कसको घरमा लगाउने उनीहरूले निर्णय गर्छन्, त्यसपछि हामी एक ठाउँमा जम्मा हुन्छौँ ।

समय परिवर्तन भएर तिहारको महत्व घटेको छ, त्यस्तो नहोस् दिदीभाइ दाजुबहिनीको सम्बन्ध अझै गाढा हुँदै जाओस् । 

(गीतकार खरेलसँग प्रमिला भट्टले गरेको कुराकानीमा आधारित ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप