आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पराजयको घाउ मेट्न चाहन्छन् गण्डकीका यी उम्मेदवार

बुधबार, ०९ कात्तिक २०७९, ०७ : ०१
बुधबार, ०९ कात्तिक २०७९

पोखरा । प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनको तयारीमा उम्मेदवारहरु यतिबेला मतदातासँग भेटघाट गरिरहेका छन् । उनीहरु घरदैलो कार्यक्रममा सहभागी देखिन्छन् । यसै क्रममा गण्डकी प्रदेशमा केही उम्मेदवार यस्ता छन्, जो विगतमा पराजित भएर पनि यस पटक जितको खोजीमा चुनावी मैदानमा उत्रिएका छन् ।

यो सूचीमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि छन् । उनी प्रतिनिधिसभातर्फ तनहुँ–१ बाट उम्मेदवार बनेका छन् । ०७४ सालमा वाम गठबन्धनका कृष्णकुमार श्रेष्ठसँग पराजित पौडेलले यसपटक सत्तारुढ गठबन्धनको साथ पाएका छन् ।

त्यसो त, पौडेलले पाँच पटक संसदीय निर्वाचन जितिसकेका छन् । यद्यपि, २०७४ को निर्वाचनमा उनी श्रेष्ठसँग ६ हजार ८०२ मतले पराजित भए ।  तनहुँ–१ मा एमालेबाट एकबहादुर राना उम्मेदवार छन् । अर्कोतिर पौडेलकै पूर्व सहकर्मी गोविन्दराज जोशी पनि सोही क्षेत्रमा उम्मेदवार छन् । लामो समय कांग्रेसमा रहेर राजनीति गरेका र पटकपटक मन्त्री भएका जोशी पछिल्लो समय कांग्रेसबाट कारबाहीमा परेपछि स्वतन्त्र उम्मेदवार बनेका हुन् ।

उनको उम्मेदवारीले सो क्षेत्रमा पौडेलको केही मत काटिने आकलन गरिएको छ । यद्यपि पौडेल यस पटक पराजयको घाउ मेट्ने प्रयासमा छन् । 

२०७४ को  निर्वाचनमा तनहुँ २ बाट एमालेका केदार सिग्देलसँग पराजित भएका केन्द्रीय सदस्य शंकर भण्डारी यसपटक जितको खोजीमा छन् । त्यतिबेला एमालेका सिग्देल ३२ हजार ९२४ मतसहित विजयी भएका थिए। कांग्रेस भण्डारीले २९ हजार ६४५ मत पाएका थिए । अहिले एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङ र भण्डारीबची त्यहाँ प्रतिस्पर्धा हुँदैछ । 

मनाङबाट ०७४ सालमा प्रतिनिधिसभा सदस्यमा पराजित नेपाली कांग्रेसका टेकबहादुर गुरुङ पनि यस पटक जितको खोजीमा सोही क्षेत्रबाट फेरि उम्मेदवार बनेका छन् । ०७४ को निर्वाचनमा उनलाई एमालेका पोल्देन छेपाङ गुरुङले २७१ मतको झिनो अन्तरले पराजित गरेका थिए । 

एमालेले यस पटक पनि पोल्देनलाई नै उम्मेदवार बनाएको छ । टेकबहादुर फेरि पोल्देनसँग प्रतिस्पर्धामा उत्रिएका छन् ।

०७४ सालमा स्याङ्जा–१ बाट प्रतिनिधिसभा सदस्यमा पराजित कांग्रेसका राजु थापा पनि आसन्न निर्वाचनमा उम्मेदवार छन् । उनी अहिले पनि सोही क्षेत्रबाट उम्मेदवार बनेका हुन् । ०७४ को निर्वाचनमा उनलाई एमाले उम्मेदवार नारायणप्रसाद मरासिनीले पराजित गरेका थिए । दोस्रो संविधानसभा निर्वाचनमा भने मरासिनीलाई थापाले पराजित गरेका थिए । कांग्रेसका उम्मेदवार थापाले यस पटक पनि एमालेका मरासिनीसँगै मुख्य प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ ।

०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पर्वतबाट पराजित भएका कांग्रेसका अर्जुनप्रसाद जोशी पुन उम्मेदवार छन् । उनी यसअघि नेकपा एमालेका उम्मेदवार पदम गिरीसँग पराजित भएका थिए ।

त्यसअघि जोशीले पर्वतबाटै तीन पटक चुनाव जितेका थिए । यो पटक पनि जोशीले एमालेका गिरीसँगै मुख्य प्रतिस्पर्धा गर्नुपर्ने छ ।

यस्तै, बागलुङ क्षेत्र नम्बर २ मा एमालेले उम्मेदवार बनाएको मञ्जु शर्मा गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा गलकोट नगरपालिकाको मेयर पदमा पराजित भएकी थिइन् ।

नेपाली कांग्रेसबाट टिकट नपाएपछि मेयर पदमा स्वतन्त्र उम्मेदवार बनेकी उनले ३ हजार २०० मत हासिल गरेकी थिइन् । त्यस लगत्तै एमालेमा प्रवेश गरेकी उनले प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट टिकट पाएकी हुन् ।

यो चुनावमा उनका मुख्य प्रतिस्पर्धीका रुपमा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका देवेन्द्र पौडेल छन् । ०७४ सालका वाम गठबन्धनबाट पौडेल सोही क्षेत्रमा निर्वाचित भएका थिए । पौडेल हाल संघीय सरकारमा शिक्षा मन्त्री छन् ।

यस्तै, म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका नेपाली कांग्रेसका खमबहादुर गर्बुजा पनि पराजयको शृङ्खला तोड्न चाहन्छन् । उनी दोस्रो संविधानसभा र ०७४ सालको संसदीय निर्वाचनमा पराजित भएका थिए ।

यस पटक उनी गठबन्धनको साथबाट चुनाव जित्ने दाउमा छन् । उनका प्रतिस्पर्धीका रुपमा एमालेका हरिकृष्ण श्रेष्ठ चुनावी मैदानमा छन् ।

कास्की क्षेत्र नम्बर ३ का एमाले उम्मेदवार दामोदर बैरागी पनि यसअघि पराजित व्यक्ति हुन् । बैरागी ०७४ सालको निर्वाचनमा अन्नपूर्ण गाउँपालिका–५ को वडा सदस्यमा पराजित भएका थिए ।

आसन्न निर्वाचनमा उनका प्रतिस्पर्धीका रुपमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका रामजीप्रसाद बराल छन् । बराल हाल गण्डकी प्रदेशका अर्थ मन्त्री हुन् ।

यसअघि प्रदेशसभातर्फ गोरखा–१ (ख) बाट पराजित कांग्रेसका राजेन्द्र बजगाईँ फेरि उम्मेदवार बनेका छन् । उनी पुरानै प्रतिद्वन्द्वी एमालेका रामशरण बस्नेतसँग यसपटक गोरखा–१ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् ।

०७४ सालका निर्वाचनमा गोरखा–१ (ख) मा आपसमा प्रतिस्पर्धा गरेका उनीहरु यसपटक प्रतिनिधिसभा सदस्यतर्फ प्रतिस्पर्धामा छन् । अघिल्लो निर्वाचनमा प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा गर्दा बस्नेतले बजगाईंलाई पराजित गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप