आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कविता : भोट कसलाई दिऊँ ?

शनिबार, १२ कात्तिक २०७९, ०६ : ०२
शनिबार, १२ कात्तिक २०७९

चुनाव आउँदैछ 
भोट माग्न घर–घर दैलो–दैलोमा
गाउँ बस्तीको टोल–टोलमा
चहार्दै छन् नेताहरु
भोट कसलाई दिऊँ ?
अन्योलको दोसल्ला ओढेर
विगतको इतिहास कोट्याउँदैछु
चुनावको बेला 
दस औंला जोडेर कोरा सपनाहरु बाँड्दै
हिँडेर बोलेको कुरा सम्झन्छु
 ङिच्च दाँत देखाएर ग्लानीले भरेको 
नेताको खोल ओडेर आएका 
अनुहारहरुलाई झलझली सम्झन्छु ।
जितेर एक पल्ट पनि अनुहार देख्न नपाएको
महान नेतालाई सम्झन्छु ।
काम विशेषले भेट्न खोज्दा
छली–छली हिँड्ने नेतालाई 
भेटेर ग्वामलङ्ग अंगालो हाल्ने मन छ ।
चुनाव अघि र पछिको 
बहुरुपी स्वभावले गर्दा
सोच्दैछु अब
भोट कस्तालाई दिऊँ ?

....
सधैँको बासी अनुहार भन्दा
एउटै क्षेत्रमा सत्र जनासम्म उठेका
स्वतन्त्र जुझारु युवा नेतालाई दिऊँ कि ?
या अरु कसैलाई दिऊँ ?
मेरो गोप्य मतको अधिकार मै सँग छ ।
तर त्यो अनमोल मत म कसलाई दिने
अन्यौल अन्यौलमा छु ।

...
मन जरजर भएर थलेको छु
कहालीलाग्दो देशको हविगतले 
अर्काको देश परदेशको सस्तो श्रमबजारमा
कवाडीको भाउमा लिलाम हुँदै गरेको
हवाईअड्डाको अध्यागमन डेक्स अगाडि
लामबद्ध उभिएको हुलका हुल
युवाहरुको जिन्दगीलाई सोधी हेरे
अरबको ५५ डिग्रीको गर्मीको मार खेपेर
मरुभूमिमा उट र भेंडा  चराउँदै
असफल जिन्दगीको कथा लेख्दै गरेको
मन फाटेको एक हुल युवालाई सोधी हेरे
युवाको आँसु र पसिनालाई सोधी हेरे
तिनको रगत, पसिना मिस्सिएर आएको 
रेमिट्यान्सलाई सोधी हेरे
परदेशबाट रातो बाकस भरेर आएको
लासहरुलाई सोधी हेरे
कसलाई पो दिने हो भोट ?
भन्छन् उनीहरु–
उधारो आश्वासनमा बाँड्नेलाई होइन 
स्वच्छ, सफा, राम्रो नेतालाई देऊ भन्छन्
घुमी घुमी खोजी हेरे
आँखाको परेला दुखुन्जेल हेरिरहे
आशाको किरणहरु 
आशामै मुर्झाएर गए 
समाजवादको सिद्धान्त घोक्नेहरु
साम्यवादको सपना देखाउनेहरु
थुप्रै वाद र सिद्धान्तको कुरा गर्नेहरु
पद र कुर्सीको लागि
हिजो टाउको मूल्य तोक्नेहरु
हिजो टाउको लुकाएर हिँड्नेहरु
हिजो लोकतन्त्र दरवारलाई बुझाउनेहरु
हिजो टाउको छिनाउनेहरु
पद, पावर र पैसाको लागि
हुने होइन, नहुने कर्म गर्दा रहेछन् !
मिल्ने होइन, नमिल्ने कर्म गर्दा रहेछन् !
म मात्रै होइन
पुरै नेपाली जनता रनभुल्लमा छन् ।
कसलाई र कुन चिन्हमा पो दिने भोट  ?
कुन नेतामा छैन खोट ?

काभ्रे, पाँचखाल 

हालः लिमासोल, साइप्रस 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप