आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गन्तव्य कहाँ हो भनिदेउ न

शनिबार, १२ कात्तिक २०७९, ०६ : ३५
शनिबार, १२ कात्तिक २०७९

जिन्दगीलाई हेर्दा हेर्दै
आफैलाई हेर्न बिर्सेछु,
पल पल बगेका यी पलहरुमा                           
जीवनको परिभाषा खोज्दैछु ।

जन्म र मृत्यु एउटै हो भने 
रात र दिनमा किन अन्तर हुन्छ
आँसु र व्यथाका कथाहरुले 
खुसी र आनन्द किन रोज्छ ?

रहर होइन जन्मिनलाई, 
कहर पनि हैन मर्नलाई
प्रारब्धको सञ्जोग हो यो
भोग्नैपर्ने ब्यूँझिनलाई ।

जन्मदिनको केक काट्दा
आफैलाई रेटेझैं लाग्छ
खुसीले थपडी बजाइरहदा 
मृत्युले गिज्याइ रहेझै भाछ ।

न जन्म मेरो, न मृत्यु मेरो
फेरि पनि किन यो चाह यस्तो
म भित्र मै छैन भने 
शुन्यताको सबै सेरोफेरो ।
 
पागलकै पगरी न हो 
आनन्द मानी स्वीकारी दिन्छु
सबैबाट भिन्न भएपछि
राम–रस पिइरहेछु ।

अन्तर मनले बोलाई रहँदा
आफै भित्र फर्किरहेछु
बाधा अड्चन हुरी बनी
हुरीमै उडाइ दिन्छु ।
 
आए कहाँबाट थाहा भएन
जान्छु कहाँ थाहा छैन
पञ्च तत्त्वको शरीर छाडी
गन्तव्य कहाँ हो भनिदेउ न ।
                  –भक्तपुर
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप