सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गठबन्धनको साथ पाउँदा भोजपुरमा सुदनलाई सजिलो

आइतबार, १३ कात्तिक २०७९, ११ : ५२
आइतबार, १३ कात्तिक २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भोजपुरमा माओवादी केन्द्रका उम्मेदवार सुदन किराती र एमालेका उम्मेदवार शेरधन राईबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका उम्मेदवार सुदन नेपाली कांग्रेस, एकीकृत समाजवादीलगायत पाँच दलीय सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् । एमालेका उम्मेदवार शेरधनलाई भने अन्य पार्टीले सहयोग गरेका छैनन् । यस आधारमा हेर्दा भोजपुरको चुनावी प्रतिस्पर्धामा एमालेका शेरधनभन्दा माओवादी केन्द्रका सुदन अगाडि देखिन्छन् ।

अर्कातर्फ केही महिना पहिले भएको स्थानीय तहको निर्वाचनको परिणामले पनि सुदन अगाडि रहेको देखाउँछ । स्थानीय चुनावमा भोजपुरका वडाध्यक्षहरूमा एमालेले कुल २७ हजार ६५६ मत पाएको थियो । उता सत्ता गठबन्धनले वडाध्यक्षहरूमा पाएको कुल मत ३८ हजार ५५६ पुग्छ ।

यसरी हेर्दा स्थानीय चुनावमा प्राप्त मतको आधारमा गठबन्धन एमालेभन्दा १० हजार ९ सय मतले अगाडि छ । 

एमालेका उम्मेदवार शेरधन मन्त्रीदेखि मुख्यमन्त्रीसम्म भइसकेका छन् । माओवादी केन्द्रका उम्मेदवार सुदन भने अहिलेसम्म मन्त्री भएका छैनन् । चुनावी मैदानमा सुदन र शेरधनको दुईपटक जम्काभेट भइसकेको छ । २०६४ को निर्वाचनमा सुदनले शेरधनलाई पराजित गरेका थिए भने २०७० मा शेरधनले सुदनलाई । २०७४ को निर्वाचनमा भने सुदन र शेरधन दुवै वाम गठबन्धनका उम्मेदवार थिए । त्यतिबेला सुदन प्रतिनिधिसभा र शेरधन प्रदेशसभाका उम्मेदवार थिए । २०७४ को निर्वाचनमा दुवै निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप