सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाभन्दा डेन्जर पो रैछ डेंगु

सोमबार, १४ कात्तिक २०७९, १८ : ३५
सोमबार, १४ कात्तिक २०७९

‘मलाई लामखुट्टेले हैन, राक्षसले टोकेको हो, नत्र यस्ता लामखुट्टेले जीवनमा कति टोक्यो टोक्यो ।’ 

डेंगु भएर सुतेपछिको निक्कै दिनमा एक जना शुभचिन्तकले फोनमा के भयो भनेर भन्दा मैले भनेथे । किनकि निकै गाह्रो पारिरहेको थियो र मुखबाट यो वाक्य निक्लियो । 

विकासानन्द गुरुको आश्रममा लेखिएको सम्झे, ‘तपाईंलाई लामखुट्टेले हैन, तपाईको अल्छाईले टोक्छ ।’

झुल हाल्यो भने टोक्दैन भन्ने सम्बन्धमा उहाँले त्यसो भन्न खोज्नु भएको । आजकल त सहरभरी दिउँसै टोकेर पनि थला परेको खवर छ । अनि झुल पनि अब हावा खान लाग्यो । त्यसैले प्याट प्याट पड्काउने ब्याट आएको छ । त्यसले पनि कति पड्काउने ? लिक्विड म्याट आएको छ । त्यो पनि कति बाल्ने ? 

अल्छी हैन, जाँगर नै जाँगरिलो भए पनि लामखुट्टेले टोकिरहेको छ । हो, आजकल काठमाडौंमा लामखुट्टे राक्षस बनेर हिँडिरहेको छ । कुनै पनि बेला यो राक्षसले टोक्दैछ र बिमारी, कमजोरी र मृत्युसम्म गराइरहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनसार कात्तिक १३ गते सम्ममा ४६ हजार ४ सय १३ लाई डेंगु संक्रमण भैसकेको छ । यो राक्षसी टोकाईले  ५२ को मृत्यु लिएर अगाडि बढिरहेको छ । 

हामीकोमा सरकार नभएको धेरै भैसक्यो । अभिभावकविहीन बनेको हामीलाई कहिले हो अभिभावकले हेर्ने ? एकपछि अर्काे नेतामा आश थोपर्यो, कहिल्यै अभिभावक पाइएन । फोहर र कुनाकाप्चा महानगरले मात्रै स्प्रे गरिदिए पनि हुने नि । त्यो पनि छैन । स्वास्थ्य राज्यमन्त्री आफैलाई डेंगु भयो । दुःखाई सहेर उनी पनि के गरिरहेका छन् । एक्सन देखिएको छैन । जनता आफै आफैसँग दुःखेर मरिरहेका छन् । थला परिरहेका छन् । कसले हेर्ने ? झन् अहिले त चुनाव लागेको छ । 

                            ०००

‘मामा, मेरो साथी केटी भएकै कारण डेँगूले मर्न पर्यो ।’

भान्जी निरुपाले यसो भनेपछि म मर्माहत भएँ ।

सोधँे, ‘के भयो र ?’

निरुपाले भनिन् ‘हामी शंकरदेव पढदथ्यौ, उ मिन्स भएकी रहिछ, त्यहीबेला डेंगु भयो र रगत नै नरोकिईकन मृत्युवरण गरिन् ।’

‘अलाप बिलाप र प्रलापले केही काम लागेन मामा । उनी यो धर्तिबाट अल्पायुमै गइन्, हजुर आफ्नो ख्याल गर्नुहोला ।’

 के ख्याल गर्नु ? 

होनाहार किशोरीको एकाएक मृत्यु भयो । साँच्चै केटा भएको भए मिन्स हुने थिएन । रगत नआएको भए मृत्यु नै हँुदैनथ्यो कि ! साच्चै केटी भएकै कारण ती किशोरीको मृत्यु भयो । म विक्षिप्त झँै भएँ यो कुराले । डेंगुमा रगत आउनु साह्रै नराम्रो रहेछ । आमाबुबाले रोक्न सकेनन् । रुन मात्र सके । डाक्टरले औषधि छैन भन्यो सकिगो । त्यसको केही बेरमा जीवन नै सकियो । 

डाक्टर पनि चित्त खाने डेंगु हरेकलाई हरेक प्रकारको नयाँ रहेछ । देख्दा सामान्य रोग भए पनि हरेक बिमारीलाई हरेक प्रकारको लक्षणको छ यो डेंगु । कोरोना भन्दा डेन्जर लाग्यो मलाई डेंगु । 

मेरी आमा अम्बिकालाई केही महिनाअघि बिहानैदेखि ज्वरो आयो । ज्वरो घट्दै घटेन । कल अन डक्टर बोलाएर चेकअप गराएँ । उहाँको ज्वरो १०२ को १०२ नै रह्यो । त्यो रात सिटामोल खान दिएर सुताइयो । भोलिपल्टै बिहान ह्याम्स अस्पताल लिएर जाँदा आमाले भन्नुभयो, ‘टाउको दुःखेर मर्नु भयो छोरा, फेरि कोरोना भएछ कि क्या हो ?’  

ईमर्जेन्सीमा जचाउँदा डेंगु पोजिटिभ आयो । जे नहोस् भनेको त्यही भयो । त्यसपछि हामी आत्तियौ । कहाँ टोक्यो होला लामखुट्टेले भनेर सोच्न थालियो । उपचार पनि भर्ना गरेर नै गर्नुपर्ने भयो । यसको औषधि भनेको केही रहेनछ । स्लाईन पानी र सिटामोल दिएर तीन दिन राखेपछि बल्ल उहाँको टाउको दुख्ने कम र ज्वरो घट्दै जान थाल्यो । 

आमाले एक दिन भन्नुभयो, ‘७३ वर्ष अघि म जन्मिदा काठमाडौंमा लामखुट्टे नै थिएन, अहिले मलाई लामखुट्टेले टोकेर डेंगु भयो ।’

बडो मार्मिक कुरा लाग्यो आमाको यो । काठमाडौंलाई पछिल्लो पुस्ताले कसरी बिगार्दै गएको छन् भन्ने इतिहास उहाँले भन्नु भएझैं लाग्यो । 

आमा तंग्रिएको लगभग एक महिनापछि म थला परे । एक्कासी ज्वरो आयो । ज्वरो पनि यस्तो कि ईन्तु न चिन्तु । सामान्यतः ज्वरो आएपछि सिटामोल खाने हो । एक चक्की खाइयो, हावै लागेन । दुई चक्की खाइयो, अँह छुदै छोएन । भोलिपल्ट फेरि घर नजिकैको ह्याम्स अस्पताल गइयो । रगत जाँच गरेपछि उही लामखुट्टे राक्षसको टोकाईले रहेछ भन्ने थाहा भयो । 

डाक्टरले भने– ६/६ घन्टामा दुई चक्की सिटामोल खानु ।

त्यसै गरे । अहँ १०२ ज्वरो केही घट्दै घटेन । मेरो दिनचर्या भयो, सिटामोल खाने सुत्ने । पसिना आउँछ पुछ्ने । अनि ज्वरो नाप्ने । तीन दिन भैसक्यो । सिटामोलले केही छँुदै छँुदैन । नाप्दा ज्वरो देखिएको देखियै छ । कतिपय अवस्थामा वरिपरि बसेर परिवारजनले गरेको कुरा पनि थाहा छैन । म त ईन्तु न चिन्तु भएँ । धेरै पछि यत्ति उग्र ज्वरो आएको थियो । धन्न अरुले भने जस्तो बेस्कन जिउ दुख्ने, टाउको दुख्ने भएन । मलाई मात्र ज्वरो चढिरह्यो । चढेको ज्वरो ओर्लिन मानेन । 

मैले डाक्टरले भनेको सम्झे । पानी बेस्कन खानु । 

तीन दिनपछि गाईबस्तुले पानी खाएझँै मैले १०/१० लिटर पानी खान थाले । बल्ल ज्वरो ओर्लियो ९९ मा । अनि सिटामोल पनि दुई दुई चक्की खाईदिएपछि ज्वरो कुलेलाम ठोक्यो । ज्वरो त भाग्यो तर आफ्नो अंश छाडेर हिँडेछ । 

घाउ गएर दाग बाँकी भ झँै ज्वरोको कमजोरी देखियो । 

मलाई त उठ्यो कि रिँगटा लाग्ने भयो । मैले पनि जे त पर्ला भनेर बिस्कुट पनि नखाई बेस्कन पानी र सिटामोल ठोकिदिएथे । त्यसले त झन कमजोर पारेछ । झननन रिँगटा लागेर लडौला जस्तै भयो ।  बाथरुम जाँदा पनि समाउँदै हिँडनुपर्ने अवस्था आयो । सिटामोलले नै कमजोरी हो कि भन्ने लागेर खान छाडिदिएँ । डेंगुमा ज्वरो दोहरिन्छ भन्ने सुनेको थिएँ । कतै दोहरिने हो कि भनेर मनमनमा डर थियो । तर ज्वरो ९६/९५/९४ सम्म आयो । एक दिन त ९३ पनि देखियो । 

फेरि अर्काे चिन्ता । एकातिर रिँगटा अर्काेतिर चिन्ता ।

फेरि रगतको काउन्टिङमा गए । प्लेटरेट र ह्वाईट ब्लड दुबै घटेछ । बरु १०४ ज्वरो भएको बेलामा जाँदा १ लाख ३० हजार भएको प्लेटरेट ह्वात्तै घटेर ९० हजारमा आएछ । अंकहरुले चिन्तित बनाउने रहेछ । बनायो । लौ के हुने हो । मलाई यसले निक्कै गाल्छ कि क्या हो भन्ने मन मनमा लाग्यो । घर फर्के । अब बेस्कन खाने । अरु उपाय छैन भनेर सिर्जनाले भनिन् । उनले गुगल हेरि हेरि केले रगत बढछ भनेर खुवाउन थालिन् । 

जब चिन्ता पर्छ, त्यहिबेला अनेक थरि अजासु (अतिजान्नेसुन्ने)हरु आइपुग्छन् । कोही भन्न थालेः

‘मेरो फलानुलाई डेंगु ठिक नभएर रगत चढाएर ल्याएको ।’

‘मेरो फलानुलाई १० दिन अस्पताल राखेको ।’ 

‘मेरो मान्छे त एक महिनै थला परेको ।’

‘मेरो त मृत्यु नै भयो फलानुको ।’

यस्तै यस्तै वाक्यले कानमा घोचेपछि बिमारीलाई झन चिन्ता हुने । चिन्तामाथि चिन्ता बढिरहेको बेला, रिंगटा लागेर हैरान भईरहेको बेला यस्ता कुराले पनि थप चिन्ता थपिदिने । 

अनि अहिले त फोनमा कुरा गर्न र मान्छे पनि भेटनु पर्दैन । फेसबुकमा पनि डेंगु भएर राखेका फोटो । टिकटक र अन्य सोसियल साइटमा पनि त्यस्ता अजासुले हैरान छ । 

बिमारी भएको बेला लागेको घाम र हावाको पनि केही मतलव नहुने । आफ्नो लागि लागेकै हैन झैँ लाग्ने । त्यहिबेला मतलव नगरुँ भने पनि अजासुका कुराले हल्का छोइहाल्ने । नकरात्मक कुरा मतलव गर्नु हुन्न भने पनि थोरै लागिहाल्ने रहेछ ।    

आफूलाई यता चिन्ता परिररहेको हुन्छ । भोलि निको भए पछि पनि कमजोर हुने हो कि ? के हुने होला ? कसरी निको होला ? भन्ने परिरहेको हुन्छ ।  अर्काेतिर परिवारजनको मुख हेरेपछि , आमा, बूढी, भाइ, छोरीको मुखले झन् चिन्ता थप्ने । यिनले के ठानिरहेका होलान् । यिनीहरुलाई पनि दुःख भयो भन्ने लागिरहने । ह्या यस्ता अजासुको कुराले के मतलव भन्ने लाग्न थाल्यो फेरि एकैछिनमा । 

हेल्थ ईज वेल्थ भनेर अरु बेलामा भने पनि यतिबेला भने ठयाक्कै यसको अर्थ बुझिने, बिमारीकै बेला हो ।  घाम, जुन, हावाको समेत मतलब नहुने यो बेला शरीरकै कारण पैसा, समय र स्वास्थ्य तीनवटै खत्तम भएकोले कुन बेला ठिक होला भने झैँ लाग्ने । 

कुनैबेला मनमा आयो । मान्छेहरु लामखुट्टे आउँदा बाघजस्तो ठान्ने भए । मान्छेको प्रकृतिको दोहन र विनाशले डायनोसर, बाघ, भालु, चितुवाहरु लोप हुँदै गए । अब जंगली जनावरले भन्दा ससाना कीराले पो टोकेर मान्छे मर्ने भए ।

यसो गर्दा गर्दै डेंगु भएको ७/८ दिन बित्यो । एक पल्ट प्लेटरेट चेक गर्न जानु पर्यो भनेर गएको १ लाख ८१ हजार आएछ, बल्ल ढुक्क भयो । प्लेटरेट नै नघटेर पनि डेंगुमा बेस्कन बिमारी परेर रगतै भोमिट भएको एक जना आफन्तको कुरा पनि सुनेथे । तर प्लेटरेट बढेपछि खुशी लाग्यो । 

सिर्जनाले बिहानै दुई वटा अण्डा, अनारको जुस, एभोगाडो, दिउँसो चिकेन सुप तीन पल्ट, जीवनजल, पानी, मेवा, किवी, कुरिलो, च्याउ लगातार खुवाएर ठिक पारिन् । डेंगु गयो । कमजोरी गएको छैन । आज ११ दिन भयो, जिउमा फूर्ति अझै आएको छैन । अब हिँडनुपर्ने छ भनेर हिँडने मुडमा छु । 

लामखुट्टेले टोकेर मान्छे मर्नु न बाँच्नुको दोसाँधमा छन्, मरिरहेका पनि छन् । तर सरकार आज यति बढेछ, यस्तो भएछ भनेर तथ्याङ्क नापेर मात्र बसिरहेको छ । सम्बन्धित निकायले लामखुट्टेको लागि के के छर्किने हो छर्केर सखाप बनाउन नलाग्ने हो भने अझ एक महिना चल्ने यो लामखुट्टे राक्षसको खपतले मान्छेलाई आलसतालस पार्नेछ । 

कोरोनामा केही दिन कमजोर हुने हुन्थ्यो । यस्तो दुख्ने र गल्ने हुँदैनथ्यो । कोरोना भन्दा डेन्जर यो डेंगु अब केही दिनमा १५ डिग्री तापक्रम मात्र हुन्छ, अनि गैहाल्छ भनेर बस्नु हुन्न । एकछिन भए पनि जनताले सुख पाऊन् भन्ने सरकार चाहन्छ भने तुरुन्त झुल बाहिरका तमाम यी लामखुट्टे नियन्त्रण गर्न लागिहालोस् । नत्र राक्षसी रुप लिएको लामखुट्टेले कुन बेला कसलाई मरिहत्ते बनाउँछ पत्तै हुँदैन । 

मलाई त निको भयो । तपाईंलाई डेंगु नहोस्, शुभकामना ।    

लेखक लेखनकुन्जका अध्यक्ष हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल ढकाल
कमल ढकाल
लेखकबाट थप