सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पाल्पामा बढ्यो चुनावी सरगर्मी, के–के छन् उम्मेदवारका एजेन्डा ?

बिहीबार, १७ कात्तिक २०७९, ०८ : ५७
बिहीबार, १७ कात्तिक २०७९

सोमप्रसाद पाण्डेय छैटौँ पटक चुनावी मैदानमा छन् । उनी २०५१  सालदेखि पाल्पाबाट चुनाव लड्दै आएका छन् । यसपालि उनले सिद्धबाबाको बाटो निर्माणलाई चुनावी मुद्दा बनाएका छन् । 

“सिद्धबाबाको बाटोमा सुरुङ मार्गको योजना अगाडि बढेको छ”, पाल्पा क्षेत्र नं २ मा पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट नेकपा ९एकीकृत समाजवादी०का उम्मेदवार रहेका पाण्डेयले भने, “यो क्षेत्रको विकासका लागि मेरो उम्मेदवारी हो ।” 

विगतमा व्यवस्था परिवर्तनका लागि लडेको उल्लेख गर्दै उनले यो निर्वाचनले विकास र समृद्धिको रेखा कोर्ने उल्लेख गरे । पाल्पाको क्षेत्र १ मा २०५१ सालदेखि नै एमालेका उम्मेदवार विजयी हुँदै आएका छन् । क्षेत्र नं २ मा २०५१, २०५६, २०७० र २०७४ मा सोमप्रसाद पाण्डेय विजयी भएका थिए। उनी त्यति वेला एमालेमै  थिए। विसं २०६४ मा तत्कालीन नेकपा माओवादीकी लीला सोमैसँग उनी पराजित भएका थिए । 

यस्तै पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका नेकपा एमालेका ठाकुर गैरेले समग्र पाल्पाको एकीकृत विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । राष्ट्र र राष्ट्रियताका सवालमा आवाज उठाउँदै आएका उनले पनि चुनावी प्रतिबद्धतामा सिद्धबाबाको बाटो निर्माणलाई उल्लेख गर्नुभएको छ । 

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाण्डेय र गैरले घरदैलो अभियानलाई तीव्र पारेका छन् । पाल्पाको विकासको खाका लिएर आएको भन्दै दुवै जनाले मतदाता रिझाउन थालेका छन् । प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य गरी ४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यो निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धा पाण्डेय र गैरेकै बीच हुने देखिन्छ । सदरमुकाम तानसेन नगरपालिकासहित बगनासकाली, रिब्दीकोट, रैनादेवी र तिनाउ गाउँपालिका यो निर्वाचन क्षेत्रभित्र पर्दछन् । क्षेत्र नं १ मा भने यस पटक एमालेबाट नारायणप्रसाद आचार्य र नेपाली कांग्रेसबाट ज्ञानबहादुर गाहाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । दुवैको चुनावी एजेन्डा ‘विद्युतीकरण’ रहेको छ । निस्दी गाउँपालिकाका तीन वडामा अहिले पनि विद्युत् पुगेको छैन । यहाँका नागरिक टुकीमाथि निर्भर छन् । 

एमाले उम्मेदवार आचार्य  भने, “हाम्रै पहलमा विद्युत् विस्तार गरेका हौँ ।” सबै क्षेत्रमा विद्युत् विस्तार गरी उज्यालो निस्दी बनाउने योजना रहेको उनको भनाइ छ । यहाँका वडामा सामुदायिक विद्युतीकरणमार्फत बिजुली बाल्न सुरु गरिए पनि सर्वसुलभ र सहज नभएको कांग्रेस उम्मेदवार गाहाको भनाइ छ । “राष्ट्रिय प्रसारण लाइनमा जोडेर जनतालाई सहज विद्युत् आपूर्ति गराउने योजना छ”, उनी भन्छन्, “विकास र समृद्धिको खाका लिएर चुनावी मैदानमा होमिएको छु ।” रामपुर नगरपालिकासहित रम्भा, निस्दी, पूर्वखोला र माथागढी गाउँपालिका क्षेत्र नं १ मा पर्दछन् । 

प्रतिनिधिसभाको दुई निर्वाचन क्षेत्रमा २३ जनाको उम्मेदवारी परेको छ । प्रदेशसभाको चार क्षेत्रमा २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा क्षेत्र १ मा राजनीतिक दल र स्वतन्त्र गरी १० तथा २ मा १४ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ छ दल र चार स्वतन्त्रका साथै क्षेत्र नं २ मा ११ दल र तीन स्वतन्त्रले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नं १ प्रदेशसभा ९क० र  ९ख० मा पाँच÷पाँच जनाले तथा क्षेत्र नं २ प्रदेशसभा ९क० मा सात र ९ख० मा पाँच जना उम्मेदवार छन् । 

पाल्पाको दुवै निर्वाचन क्षेत्रमा गरी सात स्वतन्त्र उम्मेदवार छन् । “लामो समयदेखि दलहरुले नेतृत्व गरेर पनि पाल्पाको विकास भएन”, क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवार रहेका उपेन गैरे भन्छन्, “विकास नहुनुको मुख्य कारण भ्रष्टाचार हो ।” उनी इन्जिनियरिङ पेसामा आबद्ध छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप