सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काभ्रे–१ मा माओवादी नेता सूर्यमान दोङलाई टक्‍कर दिँदै एमालेका रेशम लामा

कसको अवस्था कस्तो ?
शुक्रबार, १८ कात्तिक २०७९, ०९ : ०३
शुक्रबार, १८ कात्तिक २०७९

 नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्यमान दोङ (लालध्वज) काभ्रे–१ बाट प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका उम्मेदवार छन् । सो क्षेत्रमा उनको प्रतिस्पर्धीका रुपमा नेकपा एमालेका केन्द्रीय सदस्य रमेशबहादुर लामा उम्मेदवार छन् ।

पहिलो संविधानसभा निर्वाचनमा निर्वाचित भएका दोङ दोस्रो संविधानसभामा झिनो मतान्तरले पराजित भए । २०७४ सालको चुनावमा टिकट नपाएका दोङ तेस्रो पटक चुनावी मैदानमा उत्रिएका हुन् ।

काभ्रे–१ कै प्रदेशसभा ‘क’मा गठबन्धनबाट माओवादीका रत्न ढकाल र प्रदेशसभा ‘ख’ मा कांग्रेसका तीर्थ लामा उम्मेदवार छन् । ढकाल बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्रीसमेत हुन् । २०७० सालको चुनावमा उनी काभ्रेबाट निर्वाचित भएका थिए । हाल तीर्थ कांग्रेस काभ्रेका सभापति हुन् ।

एमालेबाट प्रदेश सभा‘क’ मा दिलिप तामाङ र प्रदेशसभा ‘ख’ मा चन्द्र लामा उम्मेदवार छन् । प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवार लामा पहिलो पटक चुनावी मैदानमा उत्रिएका छन् भने माओवादीका दोङ दोस्रो पटक चुनावबाट निर्वाचित हुने उद्देश्यका साथ प्रतिस्पर्धामा छन् ।

कांग्रेससहित पाँच दलीय गठबन्धनको साथ भएकाले आफू निर्वाचित हुनेमा दोङ ढुक्कजस्तै छन् ।

एमाले उम्मेदवार रेशम लामा २०७० सालमा तत्कालीन राप्रपा नेपालको तर्फबाट समानुपातिक सांसद बनेका थिए । राप्रपा पृष्ठभूमिबाट आएका लामालाई उम्मेदवार बनाएपछि पुराना एमाले नेताहरु चिढिएका छन् ।

जिल्लाका सिनियर नेतालाई पन्छाएर रेशमलाई उम्मेदवार बनाएको भन्दै एमालेका कतिपय पुराना नेता–कार्यकर्ता उनीप्रति असन्तुष्ट छन् ।

एमालेबाट रेशमबाहेक चन्द्र लामा र नविना लामाले प्रतिनिधिसभातर्फ उम्मेदवारीका लागि दाबी गरेका थिए । ०७४ मा समानुपातिक सांसद बनेकी नविना यस पटक उम्मेदवार बन्न असफल भइन् । चन्द्र लामा भने प्रदेशसभामा खुम्चिए ।

चन्द्र ०७४ मा वाम गठबन्धनको समर्थनमा काभ्रे–१ (ख) प्रदेशबाट निर्वाचित भएका थिए । दुवैलाई उछिनेर रेशम लामाले उम्मेदवारी हात पारेपछि एमालेमा असन्तुष्टि बढेको हो ।

तर, एमाले उम्मेदवार रेशम लामाले आफ्नो निर्वाचन क्षेत्रका जनताले विजयी गराउने विश्वास व्यक्त गरे । ‘मेरो निर्वाचन क्षेत्रका जनताले विकास र परिवर्तन चाहेका छन्, मुलुकमा विकास र परिवर्तनको नेतृत्व गर्ने भनेको एमालेले हो, त्यसकारण यसपटक यो क्षेत्रमा हामी जित्छौँ,’ उनले भने ।

काभ्रे–१ मा कांग्रेसका तीर्थ लामाले पनि उम्मेदवारीका लागि दाबी गरेका थिए । गठबन्धनभित्र साविकमा जितेको क्षेत्र लिने सहमति भएसँगै यो क्षेत्र माओवादीको भागमा परेको थियो । कांग्रेसले पाउनुपर्ने क्षेत्र माओवादीले लिएको भन्दै कांग्रेसका कतिपय नेता असन्तुष्ट छन् ।

कांग्रेसका तीर्थ लामा प्रदेशसभाको उम्मेदवार बनेकाले कांग्रेसभित्रको असन्तुष्ट पक्षले चित्त बुझाएको अवस्था छ । तीर्थ लामा प्रदेशसभा सदस्यको उम्मेदवार बनेसँगै यो क्षेत्रमा अहिले गठबन्धनको पक्षमा माहौल देखिएको छ ।

सत्ता गठबन्धनका साझा उम्मेदवार दोङले चुनावी माहोल आफ्नो पक्षमा भएकाले निर्वाचन जित्ने दाबी गरे । ‘म अहिले पनि घरदैलोमा छु, मसँगै कांग्रेस काभ्रेका सभापति एवं प्रदेश (ख)का उम्मेदवार तीर्थ लामा पनि अभियानमा हुनुहुन्छ, हालसम्मको माहौल हेर्दा हाम्रो जित निश्चित भइसक्यो, कति मतान्तर सहित जित्ने भन्नेमात्रै हो,’ उनले भने ।

स्थानीय तहको यस्तो छ अंकगणित

काभ्रे–१ अन्तर्गत चौरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिका, रोशी गाउँपालिका, महाभारत गाउँपालिका, खानीखोला गाउँपालिका पर्छन् । यस्तै बेथानचोक गाउँपालिकाको १ नम्बर वडा, नमोबुद्ध नगरपालिका अन्तर्गत ८, ९, १०, ११, १२ वडा, पनौती नगरपालिका अन्तर्गत ४, ५, ६, ७, ८, ९, १० वडा पनि यस क्षेत्रमा पर्छन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा यस क्षेत्रमा सत्तारुढ गठबन्धन बलियो देखिन्छ ।

यहाँ एमालेको पक्षमा ३४ हजार ३४६ मत छ भने गठबन्धनको पक्षमा ६६ हजार ९६८ मत देखिएको छ । एमालेको तुलनामा गठबन्धनको मत ३२ हजार ६२२ ले बढी देखिएको छ ।

यदि गठबन्धनको सबै मत एकत्रित हुने हो भने यो क्षेत्रमा एमालेलाई चुनाव जित्न कठिन देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप