आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इमरानको ज्यान बचाउन आक्रमणकारीसँग भिड्ने यी युवक

शुक्रबार, १८ कात्तिक २०७९, १२ : ०७
शुक्रबार, १८ कात्तिक २०७९

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि बिहीबार एक बन्दुकधारीले गोली चलाउँदा उनी घाइते भएका छन् । यस गोलीबारीमा इमरानको पार्टी तेहरिक इन्साफका १४ कार्यकर्ता पनि घाइते भएका छन् भने एक कार्यकर्ताको मृत्यु भएको छ ।

इमरान खान लाहोरको शौकत खानम अस्पतालमा भर्ना भएका छन् र उनको खुट्टामा लागेको गोली निकाल्न शल्यक्रिया गरिएको छ । आज इमरान खानले आफ्नो पार्टीको बैठक बोलाएका छन्, जसमा उनले आफ्नो आगामी रणनीति तय गर्ने छन् । 

इमरान खानको तेहरिक इन्साफ पार्टीले लाहोरदेखि इस्लामावादसम्म लङ मार्च गरिरहेको छ । पार्टीले पाकिस्तानमा चाँडो भन्दा चाँडो आम चुनाव गराउन माग गरेको छ । यस मार्चको क्रममा बिहीबार पञ्जाब प्रान्तको गुजरनवालामा एक बन्दुकधारीले खानमाथि गोली चलाएको थियो।

गोली चलाउने आक्रमणकारीलाई रोक्न तेहरिक इन्साफका धेरै कार्यकर्ता उनीतर्फ अघि बढेका थिए । गोली लागेर एकजना मजदुरको मृत्यु भएको छ । इब्तेसाम हसन नामका पीटीआई कार्यकर्ता आक्रमणकारीसँग भिड्न पुगेका थिए । इब्तेसमले आक्रमणकारीलाई बलियोसँग पक्रेपछि उनले गोली चलाउन सकेनन् ।

घटनापछि मिडियासँग कुरा गर्दै इब्तेसामले आफू इमरान खानको कन्टेनरबाट १० फिट टाढा रहेको बताए । उनले भने, ‘आक्रमणकारी आयो र म्यागजिन लोड गरेर गोली चलाउन थाल्यो । म हतार हतार उसको तर्फ दौडेर भिडेँ । त्यसपछि उनको गोली भुइँमा लागेको थियो । मैले उसको पेस्तोल खोस्ने प्रयास गरेँ र खोसाखोसमा पेस्तोलबाट तल खस्यो । त्यसपछि आक्रमणकारी भाग्न खोज्यो । मैले फेरि पक्रने प्रयास गरे, त्यसपछि पुलिस आएर उसलाई समातेर लग्यो ।’

इब्तेसामले पाकिस्तानी टिभी च्यानललाई घटनाबारे विस्तृत जानकारी दिएका छन् । उनले बोल न्युजसँग भने, ‘मेरो उद्देश्य खान साहबलाई निशाना नलागोस् भन्ने थियो । उसलाई देख्ने बित्तिकै मलाई शङ्कास्पद लागेको थियो । उसले तुरुन्तै सलवारबाट पेस्तोल निकाल्यो । उसले पेस्तोल निकाल्ने बित्तिकै म त्यतातिर दगुरेँ । उसले खान साहबलाई सीधै निशाना बनाउन सकेन । त्यतिन्जेल मैले पेस्तोल समातेको हात पक्रेँ । त्यसपछि पनि गोली चल्यो, तर कसैलाई निशाना बनाएर होइन। मेरो लक्ष्य थियो कि म मरे भने पनि खान साहबको ज्यान जोगाउनु पर्छ।’

इब्तेसामको साहसको पाकिस्तानको सामाजिक सञ्जालमा निकै प्रशंसा भइरहेको छ । इमरान खानकी पहिलो पत्नी जेमिमा गोल्डस्मिथले ट्विटरमा इब्तेसमको तस्विर शेयर गर्दै लेखेकी छिन्– हिरो ।

 तेहरिक इन्साफको सरकारमा मन्त्री रहेका जरताज गुल वजीरले भने– अहिले यी युवा राष्ट्रिय नायक बनेका छन् । उनले खान साहबलाई निशाना बन्न दिएनन् । पाकिस्तानका एक व्यापारी मीर मोहम्मद अली खानले इब्तेसाम नायक भएको बताएका छन् ।

के भएको थियो बिहीबार ?
लाहोरबाट इस्लामाबादसम्म सुरु भएको इमरान खानको पार्टीको पदयात्रा पञ्जाबको गुजरनवालासम्म पुगेको थियो । उक्त र्‍यालीमा हजारौं मानिस सहभागी थिए । इमरान खान आफ्नो कन्टेनरमा पार्टीका केही वरिष्ठ नेताहरू सहित उपस्थित थिए । त्यसपछि त्यहाँ एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउन थाले। घटनामा १४ जना घाइते भएका थिए भने एक जनाको ज्यान गएको छ ।

इमरान खानको खुट्टामा पनि गोली लागेको थियो । उनलाई तुरुन्तै लोहारको शौकत खानम अस्पतालमा भर्ना गरियो, जहाँ उनको राति अबेरसम्म शल्यक्रिया गरिएको थियो । अहिले उनी खतरामुक्त रहेको बताइएको छ। यो अस्पताल पनि इमरान खानले आफ्नो क्रिकेट करियरका दौरान बनाएका थिए ।

इमरान खानको पार्टीले यस हमलाको लागि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ र गृहमन्त्री राणा सनाउल्लाहलाई दोषी ठहर गर्दै यो खानको हत्या गर्ने प्रयास भएको बताएको छ। पाकिस्तानमा सत्तारुढ गठबन्धन र शाहबाज शरीफको पार्टी मुस्लिम लिग (नवाज) ले पञ्जाबमा पीटीआईको शासन रहेको र पुलिस उनीहरूको अधीनमा रहेको बताएको छ। यता प्रधानमन्त्री शरीफले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण घटनाको छानबिन गर्ने घोषणा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप