सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बाँके-२ मा त्रिपक्षीय प्रतिस्पर्धा

शुक्रबार, १८ कात्तिक २०७९, १२ : ४२
शुक्रबार, १८ कात्तिक २०७९

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं २ मा पूर्व मन्त्री र पूर्व नगरप्रमुखबीच चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । 

जनता समाजवादी पार्टीका नेता पूर्वमन्त्री मोहम्मद इस्तियाक राई र राप्रपाका महामन्त्री एवं नेपालगञ्ज उपमहानगरपालिकाका पूर्व नगरप्रमुख डा धवलशम्शेर राणा गाउँगाउँमा चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन् । दुवै उम्मेदवारले नेपालगन्जमा विकासको एजेण्डालाई प्राथमिकता दिएका छन् ।

डा राणा नेपालगन्ज उपमहानगरपालिकामा दुई कार्यकाल नगर प्रमुख भएर विकासप्रेमी नेताका रुपमा छवि बनाएका छन् भने राईले पछिल्लो पटक भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा सडक र पुलका योजना ल्याएर धमाधम शिलान्यास गरी चर्चित भएका छन् । राई यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यति बेला डा राणा नेपालगन्ज उपमहानगरपालिका प्रमुखमा विजयी भएका थिए ।  

“अहिले परिस्थिति फेरिएको छ । यहाँ कसले जित्छ यसै भन्ने स्थिति छैन”, नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ भन्छन्, “पूर्वमन्त्री र प्रमुखको चर्चा छ ।”

राप्रपाका उम्मेदवार राणालाई जिताउन बाँके क्षेत्र नं २ मा नेकपा एमालेले चुनावी तालमेल गरेको छ । प्रतिनिधिसभामा राप्रपा र दुई वटै प्रदेशसभामा एमालेका उम्मेदवारलाई जिताउने गरी चुनावी तालमेल भएको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले जानकारी दिए । 

पूर्वमन्त्री र नगरप्रमुखको चर्चा भए पनि पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाको चुनावी क्षेत्र रहेको यस क्षेत्रमा नेपाली कांग्रेसको पकड पनि राम्रो रहेको छ । यो निर्वाचन क्षेत्रमा पर्ने नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जीत हासिल गरेको छ । 

नेपाली कांग्रेसबाट यहाँ सुदीप नरसिंह राणा उम्मेदवार बनेका छन् । उनी सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को साझा उम्मेदवार बनेका हुन् । 

राप्रपा र नेपाली कांग्रेसका उम्मेदवार जिताउन चुनावी गठबन्धन र तालमेल भइरहँदा पूर्वमन्त्री एवं जनता समाजवादीका नेता राई भने यो निर्वाचन क्षेत्रमा एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । तीनवटै उम्मेदवारले आफूले निर्वाचन जित्ने दाबीका साथ मतदाताको घरदैलोमा पुगेर मतदाताका कुरा सुन्दै, आफ्ना कुरा मतदातालाई सुनाउनेक्रम जारी छ । 

स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र माओवादी केन्द्रको २४ हजार नौ सय ८०, नेकपा एमाले र राप्रपाको २३ हजार नौ सय ७२ तथा जनता समाजवादी पार्टीको १४ हजार एक सय नौ मत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप