सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

संविधान र लोकतन्त्रमाथि खतरा बढेपछि गठबन्धन बनाउनुपर्यो : नेता श्रेष्ठ

शुक्रबार, १८ कात्तिक २०७९, १३ : ०६
शुक्रबार, १८ कात्तिक २०७९

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानको रक्षा, शान्ति सम्झौताका बाँकी काम पूरा गर्न र समृद्ध नेपाल निर्माणका लागि गठबन्धनको मुख्य तीन काम भएको बताएका छन् । 

गोरखा समाज चितवनले आज चितवनमा आयोजना गरेको गोरखाको समग्र विकासको योजना तर्जुमा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “संविधान र लोकतन्त्रमाथि खतरा बढेपछि बनेको यो गठबन्धनले देशका लागि धेरै काम गर्नुछ ।” गठबन्धनले निर्वाचन जितेर देशको विकासमा लाग्न आवश्यक रहेको बताउनुभयो । लोकतन्त्र, संविधान र प्राप्त उपलब्धिको रक्षा गर्दै जनताले अनुभूति गर्ने गरी विकास गर्नका लागि गठबन्धनको जित आवश्यकता रहेको उनको भनाइ थियो । शान्ति प्रक्रियाका केही अवशेष रहेको भन्दै उनले त्यसलाई पूरा गर्नका लागि गठबन्धन आवश्यक भएको बताए । उनले भने, “द्वन्द्वपीडितका लागि आयोगले गर्नुपर्ने काम अझै बाँकी रहेको छ । त्यसका लागि गठबन्धनले काम अघि बढाउने छ ।”

जनताको अपेक्षाअनुसार काम हुन नसकेको बताउँदै श्रेष्ठले जनतामा निराशा पैदा हुँदा राष्ट्रियतामाथि खतरा हुने र राज्य असफल हुने बताए । संविधान कार्यान्वयनको चरणमा रहेको बताउँदै उनले भने, “यो गठबन्धन निश्चित उद्देश्यका साथ बनेको छ । त्यो उद्देश्य पूरा गर्छ ।”  

उनले गोरखाको विकासका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उम्मेदवारी इतिहास सावित हुने बताए । गोरखा पर्यटकीय, सामाजिक तथा विकासका दृष्टिकोणले सम्भावना बोकेको जिल्ला भएको भन्दै उनले यसको विकासका लागि सबै हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट गोरखा प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र बजगाई, प्रदेशसभा सदस्य क्षेत्र नम्बर १ (क) का उम्मेदवार कृष्णप्रसाद धिताल र २ (ख)का उम्मेदवार सुरेन्द्र पाण्डेले गठबन्धन मिलेर विकास सम्भव कसरी हुन्छ भन्ने देखाउने बताए । दलहरु प्रति जनताको आस्था गुम्दै गएको समयमा गठबन्धनले नयाँ आयाम थपेको उनीहरुको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप