कविता : पानीको कहानी
शनिबार, १९ कात्तिक २०७९, ०६ : ३७
न छ यसको रङ्ग
न त छ यसको स्वाद नै
तर पनि छ, यसको महत्व अपार
कति निर्मल, कति कन्चन हुन्छ पानी ।
पानी बिना, सक्दैन बाँच्न कोही
पानी बिना, सक्दैन कल्पना गर्न कसैले
चाहिन्छ पानी, यस जगतका
यावत जीवात्मा अनि वनस्पतिलाई
जन्मदेखि मरणसम्म,
चाहिन्छ पानी सजीब सबैलाई ।
मर्न लागेका पनि राख्छन् आश,
एक थोपा पानीको
खाना नखाई भोकै बस्न सकिन्छ होला बरु
खाना नखाई बाँच्न सकिन्छ होला बरु
तर बस्न्न सकिन्न कोही प्यासी भई
बाँच्न सकिदैन कोही
पानीको एक थोपा बिना पनि ।
बुझाउँछ यसले प्यासीको प्यासलाई
बनाउँछ यसले गरमलाई शितल अनि ठण्डा
अबिरल बग्छ पानी
पहाड कन्दराका कुना काप्चाबाट
झर्छ पानी झरना बनेर पहाडको टाकुराबाट
बगिरहन्छ पानी
खहरे खोला, नदी भई सागरमा
अनि बिलिन हुन्छ, त्यही पानी महासागरमा ।