मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कविता : सत्ताका पिपासुहरु

शनिबार, १९ कात्तिक २०७९, ०६ : ४३
शनिबार, १९ कात्तिक २०७९

गाउँ फर्किएका छन् 
फेरि झुक्याउन हामीलाई
केही दलालहरु 
पैसाको बिटो बोकेर 
कुर्चीको भागबन्डा गर्दै 
अब सुनिनेछन् मीठा कुराहरु 
लोभलाग्दा योजनाहरु 
यो, त्यो सबै पूरा गरिदिने बाचाहरु
मलाई जिताउनुस् मात्र 
म तपाईंको क्षेत्रको मुहार फेरिदिन्छु 
अनेक आश्वासनका लामा लामा
संवादहरु पोखिनेछन् मञ्चहरुबाट 
अघिपछि नमस्कार भन्दा नचिन्नेहरु 
खुब साख्खै बन्न आउनेछन् 
दुई हात जोडेर नमस्कार गर्दै
अझै जितको लागि आर्शीवाद माग्दै 
घरघर हिँड्नेछन् नकावपोश दलालहरु

चिल्लो घसेर मीठो बोलेर 
अनेकौ प्रलोभन देखाएर तमासा गर्नेछन्
वर्षौदेखि जिताएर पठाएकाहरु 
खुब मोटाएका छन्, चिल्लो गाडी 
सहरमा महल, शान शौकतको जिन्दगी 
हिजो साइकल चढ्नेहरु आज पजेरोमा हिँड्छन् 
खुब परिवर्तन भाको छ 
देशको होइन, जनताको होइन 
मात्रै दलालहरुको जीवन शैलीको 
यो पल्ट फेरि उनै दलालहरु सल्बलाएका छन्
नयाँ र जोशिला अनुहारलाई ओझेलमा पार्न 
अनेकौ षड्यन्त्र हुनेछन् 
जालहरु बुनिनेछन् 
आश्वासनहरु छरिनेछन्
मख्ख पारिनेछन् 
तर अब त तपाईंको चेतना जाग्नुपर्छ 
चिन्नुपर्छ तपाईंले भातमाराहरुलाई
देश बेच्ने दलालहरुलाई 
अनि तपाईंको मतको मूल्य तोक्नेहरुलाई 
आउनुस्, तपाईं हामी सबै मिलेर 
बहिष्कार गरौ 
यी दलालहरुलाई 
देश बेच्नेहरुलाई 
सत्ताका पिपासुहरुलाई ।

बर्दिया, हालः साउदी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप