मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कथा : निर्दयी मन र कोमल फूलको कथा

शनिबार, १९ कात्तिक २०७९, १२ : २६
शनिबार, १९ कात्तिक २०७९

आज पनि हर बिहान सम्झिन्छु म तिमीलाई । 

कति सबेरै उठ्थ्यौ, घरको कामधन्दा सबै सर्लक्कै गर्थ्यौ । अहिले तिमी कहाँ छौ प्यारी ?

आज हामी छुट्टिएर अलग भएको ५ वर्ष भयो । तिमीले त मलाई सजिलै बिर्सियौ तर मैले तिमीलाई कहिल्यै भुल्न सकिन प्यारी ।

हो, म मान्छु कि मबाट ठुलो गल्ती भयो । जब तिमी मसँग थियौँ, जब तिमी मेरी थियो, मैले तिम्रो माया र तिम्रो कोमल भावनालाई बुझ्न सकिन । 

घर अनि परिवारको स्याहारसुसार गर्दा थकित भएका तिम्रा ती कोमल हातलाई कहिल्यै मायाले सुम्सुम्याउन सकिन । तिम्रा ती निर्दोष आँखाबाट बग्ने ती आँसुलाई कहिल्यै पुछ्न सकिन । तिमीले गर्ने प्रेमिल व्यवहारलाई सधैँ सामान्य रूपमा लिएँ । तर आज आएर महसुस भयो कि प्रिय तिमी मेरो कति खास मान्छे रहिछ्यौ भनेर । 

प्यारी, तिमीले मलाई छोडेर गएको २÷४ दिन त बडो खुसीयाली र हर्षबढाइँका साथ बित्यो । म सोच्थे कि खुट्टा भए जुत्ता कति कति । त्यसैले, छाडेर जाँदैमा मलाई केही फरक पर्दैन । त्यसमाथि मर्दले दशवटी बिहे गरेर ल्याउँछ भनेर ढाडस दिने मेरा घरपरिवार थिए । जसकारण तिमी जाँदा पनि मलाई रत्तिभर दुःख थिएन ।

तर प्यारी तिमीले छोडेर गएको केही समयपछि नै मलाई तिम्रो यादले पछ्याउन र सताउन थाल्यो । प्यारी, तिमी र तिम्रो मायालाई चिन्न नसकेको मेरो दिमाग भए पनि मेरो आत्मा र मेरो शरीरले तिम्रो मायाको महसुस गरेको रैछ भन्ने आभाष हुँदै थियो मेरो मानसपटलमा ।

प्यारी, आजपनि हरेक बिहान सम्झिन्छु म तिमीलाई । जब म विहानीको मस्त निद्राबाट ब्युझिन्छु, तिमी छेउमै भएको आभाष गर्दै तिमीलाई एकनासले हेरिरहन्छु । यस्तो लाग्छ कि तिमी उज्यालो भयो भन्दै उठ्छेउ र सधैँझै गुड मोर्निङ भन्दै मेरो गालामा मायालु भाव पोख्दै गहिरो चुम्बन गर्छ्यौ ।

तर प्यारी तिमीलाई थाहा छ ? यसपाली म तिमीलाई पहिले झै ‘छोड न मलाई । छ्या, के गरेको बिहान बिहान निद्रा खराब नगर, उता जाऊ’  भनेर गाली गर्दिनथे । 

हो नि प्यारी, आज पनि याद छ मलाई । सधैँझै विहानीको नित्यकर्म सकेर जब तिमी चियाको कप लिएर मलाई गुड मोर्निङ भन्थ्यौ र मलाई सानो बच्चालाई झै फकाएर तोते बोली बोल्दै छिटो छिटो उठ्नुस भन्थ्यौ, ती सबै सबै याद आउँछ प्यारी  ।

मैले अफिसको काम नभ्याउँदा तिमीले मेरो काममा कति सहयोग गर्थ्यौ । तर, म भने तिमी केही नजान्ने जस्तो गरी तिमीसँग रिसाउँथे । आजभोलि जब अफिसबाट थकित भएर आउँछु, मेरा आँखाले तिम्रो हँसिलो मुहारको खोजी गर्छ । 

म के गरु प्यारी ? हुन त मैले तिमीलाई प्यारी भन्ने अधिकार गुमाइसकेको छु तर पनि आज तिमी मसँग भइदिएको भए म हरेक शब्दहरूमा प्यारी सम्बोधन गर्थे होला । 

तिमी मसंगै हुँदा कहिल्यै तिमीसँग मीठो बोली बोल्न सकिन । तिमी मेरो छेउमै हुँदापनि तिम्रो वास्ता गरिन । मेरो अरू महिलाहरू सँगको बाहिरी सम्बन्ध थाहा पाउँदा तिमीले रुँदै रुँदै पटक पटक मलाई सम्झाउँदा तिम्रो कुरा कहिल्यै सुनिन । 

तिमीले मेरो सामु घुँडा टेकेर दुइ हात जोडेर मलाई माया मात्रै दिनुहोस् । हजुर मेरो मात्रै हुनुहोस्, म संसार जित्न सक्छु भन्दा मैले कहिल्यै तिम्रा ती कारुणिक भनाइ आफ्नो हृदयमा बसाउन सकिन । न त मेरो खोक्रो र थोत्रो मानसपटलमा त्यो कुरा नै घुस्यो । न त तिमीलाई कहिल्यै मायालु व्यवहार नै दर्शाएँ । 

मलाई कहिल्यै पनि महसुस भएन कि मेरी श्रीमतीलाई पनि मेरो माया चाहिन्छ भनेर, बाहिरी दुनियाँबाट तृप्त भएर आएको मलाई उनले मायाले सुम्सुम्याउन खोज्दा पनि तिखा काँडाले घोचेझै महसुस हुन्थ्यो । उनका हरेक क्रियाकलापमा झर्किने र थर्काउने म जस्तो महिषासुरलाई उनले सधै सम्मान गर्थिन् । 

प्यारी मलाई आज पनि याद आउँछ, तिमीले मसँग लोकसेवाको विज्ञापन खुलेको रैछ मसँग मात्र ८ सय छ, मलाई २ सय जति दिनु न । म फारम भर्छु भन्दा मैले तिमीलाई बिना कारण गाली गर्दै तुच्छ वचन लगाएको थिएँ । 

‘पैसा कमाउन कति गाह्रो छ, घरमा बसेर खानेलाई के थाहा ? जा, एकदिन बाहिरको अफिसको काम गर्न,कति तनाव हुन्छ । खुब हाकिमै हुने झै गरी फम भर्छु रे । छैन मसँग पैसा सैसा । तैले केही गर्न सक्दिनस् । अब खुरु खुरु बच्चा जन्माएर हुर्काइ बढाइ गर ।’

इस्ता तुच्छ वचन नलगाएको भए आज तिमी मसँग हुने थियो होला । तिम्रो मनमा त्यो मेरो वचनको तीर यसरी गढ्यो कि आज ५ वर्ष हुँदा सम्म पनि तिमीले म अनि मेरो घरतिर फर्केर पनि हेरिनौ । तिमी स्वाभिमानी र मिहेनती थियो । तर पनि मैले तिमीलाई कहिल्यै कुनै कुराको अवसर दिइन  । म त पागल थिएँ, जो आफ्नी श्रीमतीको सुन्दरता र शालीनतालाई नबुझेर दुनियाँका मुहारका मेकअपले भरिएका अनुहार छान्दै हिँडे ।

अब तिमीलाई पूर्ण रूपमा गुमाई सकेपछि आज बल्ल आएर तिम्रो सुन्दरता छर्लङ्ग देखे । सम्बन्ध विच्छेदका क्रममा विभिन्न जालझेल गरी मैले तिमीलाई केही पनि दिइनँ । तिमीले म बाट पाउनुपर्ने अधिकार केहीपनि पाइनौ । न त तिमीले श्रीमानको माया, साथ सहयोग पायो, न त सासु ससुराबाट हौसला र प्रेरणा पायो । हामीले तिमीमाथि निकै ठुलो अत्याचार गरेका थियो । 

मैले किन बुझिन कि मेरी आमाले भनेको कुरा मेरो बुबाले सधैँ सुन्नुहुन्थ्यो । र, अझै पनि सुन्नु अनि मान्नु हुन्छ । बाल्यकालदेखि यो दृश्य देखिरहेको मैले आफ्नी श्रीमतीको कुरा कहिल्यै सुनिन किन ? किन मेरा बुबा आमाले श्रीमतीको कुरा पनि सुन्नुपर्छ उसको पनि मनोभावना बुझ्नुपर्छ भनेर सिकाउनु भएन मलाई ? 

किन मलाई श्रीमतीको कुरा सुन्दा जोइटिङ्ग्रे भइन्छ भनेर सिकाउनु भयो ? हे आमा, मलाई यस्तो कुसंस्कार किन दिनुभयो । भन्छन् नि जस्तो कर्म गर्यो, त्यस्तै फल पाइन्छ भनेर । त्यस्तै भयो अहिले म अनि मेरो परिवारमा । 

.....

तिमीले रुँदै मेरो घर छोडेर गएको केही वर्षपछि मेरो बहिनीलाई ज्वाइँले घरबाट निकाली दिनुभएछ । बहिनी रुँदै आइन् र अदालत जाने कुरा गरिन् । ज्वाइँले शारीरिक तथा मानसिक यातना दिने, खान, लाउन समेत नदिई रातदिन घरबाट निस्केर जान दबाब दिएपछि उनले अदालत जाने कुरा गरिन् । 

बहिनीको त्यो कारुणिक हाल देखेर मेरी आमा बहिनीलाई अँगालो हालेर खुब रुनु भयो । त्यतिबेला मैले तिमीलाई सम्झिएँ । प्यारी, तिमी पनि त आफ्नो बुबा आमाको मुटुको टुक्राजस्तै थियो । तिमी पनि त तिम्रो बुबा आमाकी प्यारी परी हौ । तिमी पनि त्यसरी रुँदै जाँदा तिम्रो बुबा आमालाई कति पीडा भयो होला ? 

सायद तिमी र तिम्रो आमाबुबाको मन दुखाएर होला, मेरी बहिनीलाई यस्तो चोट परेको । बहिनीले अदालत जाने कुरा गरेपछि हामीले पनि ठिकै छ भनी समर्थन जनायौ र अदालत गयौ । 

सबैभन्दा पहिले न्यायिक र कानुन बुझेको मान्छेसंग सल्लाह लिने विचार गरी जिल्ला न्यायधीवक्तालाई भेटेर कानुनी परामर्श लिउँ भन्दै जिल्ला सरकारी वकिल कार्यालय गयांै । 

त्यहाँ बाहिर सुरक्षा गार्डले एकछिन पर्खनुस्, हाकिम साप अहिले ब्यस्त हुनुहुन्छ भने । 

एकछिनको प्रतिक्षापछि हामीलाई भित्र बोलाइयो । म मेरी बहिनी र मेरो नाता पर्ने काकासहित वरिष्ठ न्यायधीवक्ताको कार्यकक्षमा प्रवेश गर्यौं, कोठामा बाक्लो मखमलको कार्पेट, रङ्गीचङ्गी पर्दा, एसीको चिसोले गर्मी यामको मौसमलाई नै चुनौती दिइरहेको थियो । अगाडि टेबलमा सिसी फुटेज देखिने कम्प्युटर कार्यकक्ष थियो । सुरक्षा गार्डको सुरक्षामा बडो आन, बान र शानसंग भद्रता र सुशीलताले भरिएको जिल्लाको वरिष्ठ न्यायाधिवक्ता अरू कोही थिएन, मेरी श्रीमती थिइन्, जसलाई मैले लोसेआ फर्म भर्न मात्र २ सय रुपियाँ माग्दा उपहास गरेको थिएँ । 

उनलाई यो शानदार र सम्मानित ओहोदामा देख्दा उनको अगाडि मेरो शिर एकाएक झुक्न पुग्यो । उनीसँग मेरो नजरहरू जुध्न डराउन थाले, मेरा हातहरु थर्रर काँप्न थाले । उनको सामु मेरो बोली फुट्न सकेन । मेरी बहिनीले म तिर पुलुक्क हेरिन् । मेरा काका पनि चकित परेर हेरिरहनु भयो । 

आज हामी उनको सामु अपाङ्ग झैँ भएका थियौँ । न त बस्न सक्यौ, न त उनीसँग बोल्नै सक्यौ । हामी यसरी लाचार भएर उभिएको देखेर उनले नमस्कार बस्नुस् भन्दै अनुमति दिइन् । 

हजुरहरु यहाँ आउनुको कारण के होला ? केही समयसम्म हामी नबोल्दा उनी आफैले प्रश्न गरिन् । 

म कसरी भनौँ कि जुन पीडा मैले तिमीलाई दिएँ, त्यस्तै पीडा मेरी बहिनीलाई परेको छ भनेर । छिः म कति निर्लज्ज रहेछु, जसलाई धेरै अन्याय गरेँ, आज उसकै सामु आफ्नी बहिनीलाई न्याय दिलाइदिनु भन्न आएको छु । म केही बोल्न सकिनँ ।

बहिनीले आफ्नो समस्या सुनाउँदै गइन् । मेरो मनमा भने विगतमा उनीप्रति गरेका तुच्छ व्यवहार सम्झिएर मनमा अनेक तर्क वितर्कका छालहरुउर्लिरह्यो । उनलाई प्रयोग गरेका तिखा वचनहरूको ज्वालामुखीले मेरो मुटु कलेजो छिया छिया पारिरहेको थियो । 

भगवान्जस्ती मेरी श्रीमतीलाई मैले चिन्न सकिन, उनी साक्षात् भगवती सत्यवती जस्ती थिइन् ।

साच्चै भन्नु पर्दा उनी त्यो कफीजस्तै थिइन्, जो पिएपछि सबै तनावहरू हराएर जान्छ ।

उनी त्यो बलिरहेको मैनबत्तीजस्तै थिइन्, जसमा कोमलता भए पनि आगोको ज्वाला सहन सक्ने क्षमता हुन्छ ।

उनी त्यो किताब र किताबभित्रका हरेक पाना, हरेक वाक्य, हरेक शब्द र अक्षरजस्तै थिइन्, जुन पढ्दा र सुन्दा मानिसमा भरपुर ज्ञान भरिदिन्छ । 

उनी त्यो चस्माजस्तै उदार थिइन्, जुन लगाएपछि आँखा नदेख्ने र दूरदृष्टिलाई पनि सहज बनाइदिन्छ ।

उनी त्यो वरिपरिको हरियाली वातावरणजस्तै थिइन्, जसले सधैँ अरुलाई शीतलता प्रदान गर्दछ ।

उनी त्यो मसिना पानीका थोपा र उडिरहेका सुन्दर पुतलीजस्तै थिइन्, जसले जीवनलाई अत्यन्त सुन्दर तरिकाले परिभाषित गर्दछ ।

उनी त्यो टेबलजस्तै अटल थिइन्, जसमा हरेक कार्य, भारी अनि जटिलताको बोझ भए पनि कत्ति पनि विचलित हुँदैन ।

उनी त्यो मीठो सुमधुर गीतजस्तै थिइन्, जो सुनेर हरेकले आफ्नो पीडा बिर्सिने र मनमा माया पलाउने गर्दछ ।

यस्ती थिइन्, मेरी प्यारी, मेरी श्रीमती, मेरी धर्मपत्नी । उनको स्वाभाव आज पनि उस्तै र उत्तिकै उदार अनि मायालु छ । छैन त केवल उनको र मेरो बिचको नाता सम्बन्ध ।

मैले आफ्नै हातको हीरालाई कीरा सम्झेर मिल्काएको रैछु । तिमीलाई कमजोर सोच्नु मेरो ठुलो भुल थियो प्यारी । मैले तिमीलाई कहिल्यै राम्रो व्यवहार गर्न सकिनँ, मलाई माफ गरिदेउ है । 

यो निर्दयी मन र फुस्रो पुरुषत्वको अहङ्कारले आज मेरो जिन्दगी तहस नहस भएको छ । तिमी कोमल फुल थियौ । तिम्रो कोमल दिल दुखाएर तिमीले गर्ने चोखो मायाको बदलामा सधैँ आँसु र पीडा दिएँ । तिमी मेरो जिन्दगीको सुनौलो पाना थियौ । मेरो निर्दयी मनले तिम्रो कोमलता र प्रेम बुझ्न सकेन । अब त पछुतो र पश्चातापबाहेक मसँग अरू केही छैन । उनलाई सम्झिनु, आफैले आफैलाई धिक्कार्नु यही चलिरहेछ जिन्दगीमा अचेल । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप