सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

उज्ज्वल थापाको पुस्तक सार्वजनिक

शनिबार, १९ कात्तिक २०७९, २१ : ०२
शनिबार, १९ कात्तिक २०७९

युवा नेता, उद्यमी तथा सामाजिक अभियन्ताको परिचय बनाएका दिवंगत उज्ज्वल थापाको किताब ‘ह्वाइ नेपाल’ सार्वजनिक भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाठौंमा आयोजित कार्यक्रममा डा. स्वर्णिम वाग्ले, मोहना अन्सारी, डा. गोविन्द केसी, गगन थापा, मनिष झा, आशुतोष तिवारी, गोविन्द नारायण, थापाकी जीवनसाथी एरिका अधिकारी र आमा शान्ता थापाले संयुक्त रुपमा किताब लोकार्पण गरे ।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. वाग्लेले उज्ज्वल थापा फरक प्रकृतिको नेता रहेको र उनले देखेको नेपालको सपनाबारे किताबमा सटिक ढंगले विस्तृत रुपमा अभिलेखन भएको बताए । विद्यालयकालदेखिका साथी उज्ज्वलले देखेको सपना पुस्तकाकार रुपमा आउँदा त्यसमार्फत अबको पुस्तामा विचारको समेत हस्तान्तरण हुने उनको कथन थियो ।

त्यस्तै उज्ज्वल थापाका मित्रसमेत रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्ना असफलताबारे गहिरोगरी आत्मसमीक्षा गर्दै अघि बढ्ने उनको शैली मन परेको बताए । उनले राजनीतिमा नयाँ पुस्तालाई बलियो बनाउन राजनीतिक अभियान थालेको र त्यसको प्रभाव अहिलेको राजनीतिमा पनि परिरहेको बताए । त्यसैले थापाको व्यक्तित्व लोभलाग्दो र अनुकरणीय रहेको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै सत्याग्रही डा. गोविन्द केसीले नेपाली राजनीतिको संस्कार परिवर्तन गर्न थापाले महत्वपूर्ण भूमिका खेलेको बताए । कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वआयुक्त मोहना अन्सारीले विभिन्न अभियानमा उज्ज्वल थापासँग सहकार्य गरेको सम्झना गर्दै किताबले उनको विचारलाई कार्यान्वायन गर्न सहज बनाउने विचार व्यक्त गरिन् ।

कार्यक्रममा थापाको व्यक्तित्व र किताबको महत्वमाथि मनिष झा, आशुतोष तिवारी, गोविन्द नारायण र थापाकी जीवनसाथी एरिका अधिकारीले विस्तारमा बोलेका थिए ।

राजनीति, उद्यम र समृद्ध नेपालको परिकल्पनामाथि थापाले जीवनको पछिल्लो कालखण्डमा गरेको श्रृङ्खलाबद्ध लेखनलाई किताबको स्वरूपमा प्रकाशन गरिएको यात्रा पब्लिसिङ हाउसका अध्यक्ष ऋषिराम अधिकारीले बताए ।

किताबको प्रारम्भिक संस्करण सार्वजनिक भएसँगै संग्रहणीय संस्करण पनि प्रकाशन गरिने पब्लिसिङ्ग हाउसले जनाएको छ । त्यसैगरी पुस्तकको नेपाली संस्करण पनि छिटै प्रकाशन गरिने कार्यक्रममा घोषणा गरिएको थियो । किताबबाट प्राप्त रोयल्टी उज्ज्वल थापा फाउन्डेसनलाई प्रदान गरिने र सामाजिक कार्यमा खर्च गरिने जानकारी पनि कार्यक्रममा दिइएको थियो । ५९९ रुपैयाँ मूल्य रहको किताब किताब यात्रा डटकममार्फत नेपाल र विश्वका कुनै पनि स्थानमा किन्न सकिने किताबको वितरण सहयात्री किताब यात्रा प्रा.लि.ले जानकारी दिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप