आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

९८ वर्षीया हुममायाको भोट हाल्ने धोको

आइतबार, २० कात्तिक २०७९, ०७ : ११
आइतबार, २० कात्तिक २०७९

चाउरी परेको अनुहारमा फिस्स मुस्कान । कापिरहेको लवज, थरथराइरहेको हात । गोरखा– १४ याङकोटकी हुममाया सिलवाललाई हिँडडुल गर्न वैसाखीको सहारा चाहिन्छ । तर ९८ वर्षकी हुममायालाई हिजोआज पनि हलचल नगरी दिन काट्नै मुस्किल हुन्छ ।

उनी टाढाको आवाज कम सुन्छिन् । नजिक गएर कुरा गरे भने प्रष्ट सुन्छिन् । भलाकुसारी गर्न रुचाउने हुममाया घर नजिकै हुने नेताको आमसभा र कोणसभामा सहभागी हुन्छिन् । शुक्रबार गोरखा–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’को कोणसभामामा उनी सहभागी भइन् । प्रचण्डकै मञ्चपछाडि रुखको फेदमुनि बसेर कोणसभा नियालिन् ।

आधा घण्टासम्म चलेको उक्त कार्यक्रम हुममायालाई भने रमाइलो लागेको बताइन् । ‘केही २ दिनअघिसम्म गाउँ सुनसान थियो । चुनाव आएर नयाँनयाँ मान्छे गाउँमा आइरहेका छन् । घरमा पनि आइरहन्छन् । अस्ति पनि कुन पार्टी आएर भोट मागे । घरसम्मै पिच गर्छु भनेर गएँ,’ उनले सुनाइन् ।

हुममाया जुनसुकै पार्टीको चुनावीसभामा सहभागी हुन्छिन् । बैँसमा पनि कुनै अमुक पार्टीको कार्यकर्ता बनेर हिँड्ने जाँगर नचलेको उनले बताइन् । ‘पार्टीमा आइज भनेर कतिले भने म भने छोराछोरी हुर्काउनै व्यस्त भएँ,’ उनले भनिन् ।  

मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा उनलाई भोट हाल्ने धोको छ । ‘यो पाली भोट हाल्ने ठुलो धोको छ । छोराहरूले लैजान्छन् । स्थानीय चुनावमा पनि आएर फर्के,’ उनले भनिन्, ‘यसपालि पनि छोराहरूले लगिदिए भोट  हाल्छु ।’ ०७४ सालका चुनावमा छोराहरूले नै भोट हालिदिएको उनले सुनाइन् । हुममायालाई भोट हाल्ने प्रकृया भने थाहा छैन  । गाउँमा अहिलेसम्म कुनै मतदान शिक्षा नै नभएको गाउँलेहरू बताउँछन् ।

विवाह गरेपछि आफूले भोट हाल्न थालेको उनले सुनाइन् । उनका अनुसार  २०१५ सालको पहिलो प्रजातान्त्रिक चुनावमा पहिलो पटक भोट हालेकी हुन् । यति बेलादेखि नै नेताले बोलेका भाषण पूरा नगरेको उनको दुखेसो छ । । ‘भोट त कति हालियो हालियो । उ त्यो मन्दिरमा पुगेर भाषण पनि सुनियो तर, गाउँमा केही माखो मारेनन्,’ सबै नेताले भाषण राम्रो गरे पनि विकासका काम भने गर्न नसकेको उनको गुनासो गरिन् । ‘बाटो पनि बनाउन सक्दैन । नातिनातिना खेल्छन् । धुलो उडेर बिरामी भइरहन्छन् । भोट चाहिँदा भने मीठा भाषण गर्छन् । गाउँमा कसैले केही गरेन,’ उनले भनिन्  । 

राणाकाल, पञ्चायतकाल, प्रजातन्त्र र अहिले संघीय गणतन्त्र आउँदा पनि राजनीतिमा भौतिक पूर्वाधारमा गोरखामा परिवर्तन भने आएको छैन । ‘घरअगाडि पानी पनि श्रमदानले आएको हो । कुनै नेताले ल्याएन । सबै गाउँलेहरू मिलेर पहरो छेडेर पानी ल्यायौँ । बाटो घरको तलसम्म आए पनि वर्षौँदेखि धुलाम्मे छ,’ उनले भनिन् । 

पहिलो पटक भोट हालेदेखि आफूहरूको माग बाटोघाटो, कुलो, पुलपुलेसा, टोल तथा बस्तीमा धाराकुवा, सडक बत्तीको तर अहिलेसम्म आइपुग्दा सडकको स्तरोन्नति र पुल निर्माण नभएको उनले दुखेसो गरिन् । सिंहदरबारको अधिकार गाउँगाउँमा आइपुगे पनि अहिलेसम्म आफूहरूले विकास महसुस गर्न नसकेको उनले सुनाइन् । उनले भनिन्, ‘घरअगाडि बाटो पिच भए नातिनातिना सजिलै स्कुल जान्थे ।’

गोरखा–१४ याङ्कोटबाट पृथ्वी राजमार्ग निस्कन हिँड्दै आधा घण्टा लाग्छ । बाटो पिच भए त्यहाँ पुग्न १५ मिनेट पनि नलाग्नु पर्ने हो । त्यो बाटो पिच नहुँदा धेरै दुर्घटना भएको स्थानीय गोविन्द नेपालीले बताए । उनले बाटो पिच गर्ने धेरै नेताले आश्वासन दिए पनि अहिलेसम्म आश्वासनमै सीमित रहेको बताए । ‘आश्वासन त के–के थिए । तर विकासले फड्को मारेन,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप