सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बिपी कांग्रेसका उम्मेदवार तितुङको समर्थन बानियाँलाई

आइतबार, २० कात्तिक २०७९, ०९ : ४४
आइतबार, २० कात्तिक २०७९

प्रदेशसभा तर्फका मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार पदमबहादुर तितुङले आफ्नो उम्मेदवारी निष्क्रिय गरेका छन् । बिपी कांग्रेसका उम्मेदवार बनेका तितुङले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बानियाँलाई समर्थन गरेका हुन् । तितुङले आफ्नो उम्मेदवारी फिर्ता लिँदै बिपी कांग्रेस समेत परित्याग गरी कांग्रेसमा आबद्ध भएका छन् ।

आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले राजनीतिक रुपमा आफ्नो उम्मेदवारी फिर्ता लिंदै बानियाँलाई समर्थन गरेको बताए ।  पार्टी सञ्चालनका क्रममा भएका केही कमजोरीका कारण चित्त दुखेर आफूले उम्मेदवारी दिए पनि आफ्नो उम्मेदवारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी सिद्धान्त जस्ता उपलब्धि गुम्न सक्ने र अहिलेको व्यवस्था मास्नेहरूलाई नै बल पुग्ने खतरा देखेपछि उम्मेदवारी स्थगन गरेको बताए । उनले नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामासहितका जिल्ला र प्रदेशका नेता कार्यकर्ताहरूको आग्रहलाई स्वीकारेको बताएका छन् ।

उनले गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बानियाँलाई विजयी गराउने आफ्नो अबको अभियान रहेको र यसमै आबद्ध भई अघि बढ्न म आफ्ना समर्थकलाई अपिल समेत गरेका छन् ।

पत्रकार सम्मेलनमा बानियाँले तितुङ त्यस क्षेत्रकै अगुवा कार्यकर्ता भएको र उनको समर्थन र साथले त्यस क्षेत्रका विकास चाहने जनता र नेपाली कांग्रेस उत्साहित भएको बताए । उनले विगतमा कांग्रेसमा रहेर काम गरेका र पछि विभिन्न मनोमुटाव भइ पार्टी छोडेकाहरूलाई पुन कांग्रेसमा फर्किन आग्रह गरे ।

यस अघि पनि सो क्षेत्रबाट बाघी उम्मेदवारी दिएका माओवादी केन्द्रका नेता एवं चेपाङ संघ बागमती प्रदेशका अध्यक्ष खुशीलाल चेपाङले पनि आफ्नो उम्मेदवारी फिर्ता गरेर बानियाँलाई समर्थन गरेका थिए ।

पत्रकार सम्मेलनमा कांग्रेस जिल्ला सभापति बुद्ध लामा, प्रदेश कार्यसमिति सदस्य सन्तबहादुर चेपाङ, चम्फुरत्न लामा, सचिव भीमसेन महत, जिल्ला सहसचिव ताराचन्द्र बजगाई, सङ्घीय क्षेत्र नम्बर २ सभापति लोकबहादुर मुक्तान, नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य बनस्तम थिङ लगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप