सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने

आइतबार, २० कात्तिक २०७९, १० : ५८
आइतबार, २० कात्तिक २०७९

मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बैतडीका कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने भएका छन् । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको हो ।  

कैदीबन्दीका लागि कारागारमै अस्थायी मतदान केन्द्र तोकिएको  जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले बताए ।   उक्त मतदान केन्द्रबाट कैदीबन्दीका साथै र चुनावमा नखटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीले मतदान गर्न पाउनेछन् ।  बैतडीमा पाँच कैदीबन्दीसहित करिब आठ सय अस्थायी मतदाता छन् । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मीले भने सम्बन्धित  मतदान केन्द्रबाटै मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।  

कैदीबन्दी, सुरक्षाकर्मी र निजामती कर्मचारीले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मात्र मत दिन पाउनेछन् । अस्थायी मतदान केन्द्रमा चार कर्मचारी खटिने जनाइएको छ ।  जिल्लाभरि एक सय २९ मतदानस्थल र दुई सय १० मतदान केन्द्र छन् । 
 
निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन आयोगले आन्तरिक तयारीलाई पनि तीव्र बनाएको छ ।  मतपत्र र निर्वाचन सामग्री जिल्ला पुगिसकेको छ ।  निर्वाचनमा खटिने आवश्यक जनशक्तिलाई तालिम दिने क्रम जारी रहेको र केही दिनपछि खटाइने फुँयालले जानकारी दिए । यसका साथै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्रचार–प्रसार कार्य जारी राखेका छन् ।  

प्रतिनिधिसभाका लागि एक मात्र क्षेत्र रहेको बैतडीमा ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेशसभाका दुई सिटका लागि पनि  ११ उम्मेदवार प्रतिस्पर्धामा छन् । यहाँ एक लाख ५० हजार एक सय ५६ मतदाता रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप