सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वाम–लोकतान्त्रिक सहकार्यबाट संवृद्धि​ ल्याउने उम्मेदवारको आश्वासन

आइतबार, २० कात्तिक २०७९, १२ : २१
आइतबार, २० कात्तिक २०७९

कास्की १ का सत्ता गठबन्धनका उम्मेदवारहरुले अहिलेकै वाम–लोकतान्त्रिक सहकार्यबाट मात्रै स्थिरता, सुशासन र संवृद्धि​​को यात्रा सफल हुने दाबी गरेका छन् । आइतबार रुपा गाउँपालिका वडा नं. ६ का बराहथोक, मियाँगाउँ लगायतका ठाउँमा भएका चुनावी कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । कास्की १ (क)मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार दीपक कोइरालाले अबको संवृद्धि​को जग अहिलेकै गठबन्धन बन्ने बताए ।

कोइरालाले भने, ‘माओवादी–कांग्रेस सहकार्यले व्यवस्था परिवर्तन भयो, अब संवृद्धि​मा पनि यही सहकार्यबाट सम्भव छ ।’ गण्डकी प्रदेशसभामा गएको कार्यकालमा सोही क्षेत्रबाट सांसद चुनिएका कोइरालाले पहिलो कार्यकालमा प्रदेशको जग निर्माणसहित विकास, निर्माणमा तीव्रता दिइएको उल्लेख गरे । उनले कोटभैरवको योजना विकास, मियाँगाउँमा मदरसा र बाटो कालोपत्र गर्न पहल गर्ने प्रतिवद्धता जनाए ।

माओवादी केन्द्रीकी समानुपातिक उम्मेदवार जुवेदा खातुनले विभेद, उत्पीडनको जरा उखेल्ने माओवादीलाई नजिताए तल्लो वर्गको उत्थान हुनै नसक्ने जिकिर गरिन् । उनले भनिन्, ‘मुस्लिम समुदाय धेरै इमान्दार भए पनि अरुले नागरिक नठान्ने परिपाटी थियो । हामीलाई विदेशी जस्तो ठानिथ्यो । माओवादी जनयुद्धकै जगमा हामीमाथि हुने विभेद हट्यो, हामी मुलधारमा आउँदै छौं ।’

कार्यक्रममा सत्ता गठबन्धनबाट कास्की १ का उम्मेदवार किशोरदत्त बरालले संघ सरकारमा कास्कीको प्रभावशाली प्रतिनिधित्व जरुरी भएको बताए । विगतमा निर्वाचनहरुले काम गर्न नसक्दा यो क्षेत्रमा ठुला योजना नपरेको र संवृद्धि​को आधार बन्न नसकेको उनले दाबी गरे ।

कांग्रेस नेता कृष्ण केसी गठबन्धन अहिलेको आवश्यकता भएको उल्लेख गर्दै यही सहकार्यकै जगमा संवृद्धि​को खाका कोरिने उल्लेख गरे । पूर्वमन्त्री यज्ञबहादुर थापाले संविधानलाई बारम्बार कुल्चिने र आफूले बहुमत पाएको प्रतिनिधिसभा बारम्बार विघटन गर्नेले चुनावमा मत माग्ने नैतिकता नहुने दाबी गरे । कांग्रेस सहमहामन्त्री जीवन परियारले ५ वर्षमा गाउँपालिकाका भवनको पनि निर्माण गर्न नसक्नेले विकासका कुरा गर्दा जनताले पत्याउन नसक्ने उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप