बच्चालाई खुवाउनुहोस् सुन्तला, स्वास्थ्यलाई मिल्छ यी ५ फाइदा
सुन्तला स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ, जसले धेरै रोगबाट बचाउँछ । सुन्तलाको सेवन वृद्धवृद्धाका लागि मात्र नभई बालबालिकाका लागि पनि निकै फाइदाजनक हुन्छ । यसमा भिटामिन ए, भिटामिन सी, फाइबर, पोटासियम र एन्टिअक्सिडेन्ट जस्ता पोषक तत्व प्रशस्त मात्रामा पाइन्छ । आमाबाबुको मनमा धेरैजसो प्रश्न के उठ्छ भने, साना बच्चालाई सुन्तला खुवाउन मिल्छ ? आजको यो लेखमा यसको जवाफ बताइएको छ ।
बच्चालाई सुन्तला खुवाउनुका फाइदा
सुन्तलामा धेरै पोषक तत्वहरू पाइन्छन् जुन शरीरका लागि फाइदाजनक हुन्छ । बालबालिकालाई सुन्तला खुवाउँदा उनीहरुको स्वास्थ्यमा धेरै फाइदा हुन्छ । बालबालिकालाई सुन्तला खुवाउँदाका फाइदा के कस्ता छन् त, थाहा पाऔँ ।
प्रतिरोधी क्षमता बढाउँछ
सुन्तलामा भरपुर मात्रामा भिटामिन सी हुन्छ जसले प्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ । यसका साथै, यसमा एन्टिअक्सिडेन्ट पनि धेरै पाइन्छ जसले संक्रमणबाट जोगाउँछ । सुन्तला खाँदा रुघा–खोकी, ज्वरो र अन्य रोगबाट जोगाउँछ ।
रक्तअल्पत्ताबाट जोगाउँछ
थुप्रै बच्चालाई रक्तअल्पत्ताको समस्या हुन्छ । यस्तोमा उनीहरुलाई सुन्तला खुवाउँदा शरीरमा रगतको कमी हट्छ । सुन्तलामा भरपुर मात्रामा भिटामिन ए, भिटामिन सी र आइरन हुन्छ जसले रक्तअल्पत्ताको समस्या हटाउन मद्दत गर्छ ।
हड्डी बलियो बनाउँछ
बच्चालाई सुन्तला खुवाउँदा उनीहरुको हड्डी बलियो हुन्छ । सुन्तलामा भरपुर मात्रामा क्याल्सियम र फस्फेट हुन्छ । यी पोषक तत्व हड्डीलाई बलियो बनाउन र यसको विकासका लागि आवश्यक हुन्छ । बच्चालाई सुन्तला खुवाउँदा रिकेट्सजस्ता हड्डी सम्बन्धि रोगबाट बच्न सकिन्छ ।
पाचनका लागि राम्रो
अक्सर बच्चालाई अपचको समस्या हुन्छ । सुन्तला खुवाएमा यो समस्या समाधान हुन्छ । सुन्तलाको सेवनले पाचन प्रणालीलाई स्वस्थ राख्छ, जसले अपचको समस्याबाट राहत दिन्छ ।
कब्जियतको समस्या हट्छ
साना बच्चाहरूले आहारबाट पर्याप्त फाइबर नपाउन सक्छन् जसले कब्जियत निम्त्याउन सक्छ । यस्तो अवस्थामा बालबालिकालाई सुन्तला खुवाउँदा यो समस्याबाट छुटकारा मिल्छ । वास्तवमा सुन्तलामा प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले पेट सफा गर्छ र कब्जियतको समस्यालाई हटाउँछ ।
तपाईंले बच्चाहरूलाई सुन्तला कहिले खुवाउनुपर्छ
यदि तपाईंको बच्चा ६ महिना भन्दा माथि छ भने, तपाईं उसलाई ठोस खानाहरूसँग परिचय गराउन सक्नुहुन्छ । तर, बच्चाको पाचन प्रणाली निकै कमजोर हुन्छ । यस्तो अवस्थामा फाइबर र साइट्रिक एसिडले भरिपूर्ण सुन्तला खुवाउँदा बच्चामा डाबरको समस्या देखिन सक्छ । १ वर्षपछि मात्र आफ्नो बच्चालाई सुन्तला खुवाउन सुरु गर्नु राम्रो हुन्छ । साना बच्चाहरूलाई सुन्तला दिनु अघि, यसको दाना निकाल्नुहोस् । सुन्तलाको टुक्रालाई दुई वा तीन भागमा काट्नुहोस् र बच्चालाई खान दिनुहोस् । यदि तपार्इं चाहनुहुन्छ भने, बच्चालाई सुन्तलाको रस मात्रै पनि दिन सक्नुहुन्छ ।
सुन्तलाको सेवन बालबालिकाका लागि निकै फाइदाजनक हुन्छ । सुन्तलामा भिटामिन सी र पोषक तत्व प्रचुर मात्रामा पाइन्छ, जसले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ । बालबालिकालाई सुन्तला खुवाउँदा हड्डी बलियो हुन्छ र पाचनसम्बन्धी समस्यामा पनि फाइदा हुन्छ । यदि तपाईंको बच्चा धेरै सानो छ भने, डाक्टरको सल्लाह पछि मात्र सुन्तला खुवाउनुहोस् ।
ओन्ली माई हेल्थ