आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

'हामीले तत्काल रेल चलाउने, विमानस्थल बनाउने एजेण्डा बनाएका छैनौं'

सोमबार, २१ कात्तिक २०७९, १७ : ५५
सोमबार, २१ कात्तिक २०७९

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा लागि सत्ता गठबन्धनका तर्फबाट काभ्रे क्षेत्र नम्बर–२ बाट कांग्रेसले शिवप्रसाद हुमागाईलाई उम्मेदवार बनाएको छ । उनको प्रतिस्पर्धीका रुपमा नेकपा एमालेका गोकुल बास्कोटा उम्मेदवार छन् । २०३६ सालमा विद्यार्थी आन्दोलनमा सहभागी भएर राजनीति सुरु गरेका हुमागाईले २०३६ सालमै कांग्रेसको सदस्यता लिएका थिए । २०३६–२०३९ सालमा नेविसंघ र शिक्षक संघको जिल्ला कार्यसमिति सदस्य भएका उनी २०३८ सालमा नेविसंघको केन्द्रीय महाधिवेशन प्रतिनिधि, २०३९ देखि २०४१ सम्म नेविसंघ काभ्रेको सचिव भए । उनले २०४२ देखि २०४६ सम्म नेविसंघ जिल्ला सभापतिको रुपमा नेतृत्व गरे ।

२०४८ देखि २०५१ सम्म काभ्रेको क्षेत्र नम्बर–३ को सभापति र जिल्ला सचिवको एकैसाथ जिम्मेवारी निर्वाह गरेका उनी २०५२ साल फागुन ३० गते पहिलो पटक कांग्रेस जिल्ला सभापति भए । २०५३ वैशाख १५ गते भएको अधिवेशनमा उनी सभापतिमा निर्वाचित भए ।

२०५८ देखि २०६१ सालसम्म पार्टीको केन्द्रीय संगठन विभागको सदस्यसचिव भएर पनि काम गरिसकेका उनी काभ्रेको पाँचौ जिल्ला अधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका थिए । २०६७ साल साउन १७ गते सम्पन्न छैठौं जिल्ला अधिवेशनमा उनी पुनः सभापति निर्वाचित भए ।

पार्टीको १३ औं महाधिवेशनपछि पार्टी सभापति शेरबहादुर देउवाले उनलाई केन्द्रीय सदस्य मनोनित गरे । लामो राजनीतिक यात्रा सँगालेका हुमागाईका प्रतिस्पर्धी मानिएका बास्कोटा पनि एमालेमा प्रभावशाली नेता मानिन्छन् । आसन्न निर्वाचनको सन्दर्भ पारेर रातोपाटीले कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुमागाईसँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

आगामी निर्वाचनमा तपाई एमालेको हेभीवेट नेता गोकुल बास्कोटासँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । कतिको चुनौती महसुस गर्नु भएको छ ?

हामीले के बुझ्नु प¥यो भने उम्मेदवार कहिल्यै पनि ‘हेभीवेट’ भन्ने मलाई लाग्दैन । हेभीवेट भनेको त मतदाता हुन्छन् । त्यो मतदाताले निर्णय गर्ने कुरा हो । हामीले उहाँहरुको अधिकारलाई अवमूल्यन गर्न मिल्दैन । जसको अमूल्य मत पाएर हामीले जित्ने हो, उहाँहरु नै ठुला हुनुहुन्छ । हामी त केवल उहाँहरुको सेवकको रुपमा रहने हो ।

आगामी निर्वाचनमा मैले त्यस्तो चुनौतीको सामना गर्नुपर्छ जस्तो मलाई लाग्दैन । म विगतदेखि नै जनताको सुख, दुःखमा साथमा छु । उहाँहरुको भावना बुझेर काम गर्दै आएको छु । उहाँहरुले मलाई रुचाउनु भएको छ । त्यसैले त्यस्तो चुनौती महसुस छैन । यद्यपि चुनावी प्रतिस्पर्धा हो, केही समस्या आउँछन् । त्यसको व्यवस्थापन गर्दै अघि बढ्ने हो ।

२०७४ को निर्वाचनमा काभ्रे–२ बाट कांग्रेस फराकिलो मतान्तरले पराजित भएको थियो । यस पटक पनि पहिले जितेकै व्यक्तिलाई एमालेले उम्मेदवार बनाएको छ, तपाईलाई गाह्रो होला नि त ?

अहिलेको अवस्था फेरिएको छ । हामी विगतमा जसरी पराजित भयौं, सोही अनुसार आगामी दिनमा जित्छौं । विगतमा जति मतले हारेका थियौं, अब त्यति नै मतान्तरले जित्छौं । यहाँ को उम्मेदवार भयो भन्दा पनि कस्ता एजेण्डा र विकास भयो भन्ने कुराले प्रभाव पार्छ । को हार्छ भन्दा पनि हामी जित्छौं । यहाँ पात्रको होइन प्रवृत्ति र विचारको प्रतिस्पर्धा हो । हामी सहजै निर्वाचनमा विजयी हासिल गर्छौं । चुनावी अभियानमा लाग्दै गर्दा दिनहुँ हाम्रो विजयको उचाई बढिरहेको छ । अहिलेसम्मको अवस्था हेर्ने हो भने हामी १८ हजारभन्दा बढी मतान्तरले चुनाव जित्छौं ।

तपाईले जित्ने आधार के के हुन् ?

पहिलो त लोकतान्त्रिक वाम गठबन्धनमा हामी आवद्ध छौं । दोस्रो भनेको स्थानीय तहको निर्वाचनको सफलता नै हाम्रो आधार हो । हामीले सो निर्वाचनमा १६ हजार मत पाएका छौं । तेस्रो, म निरन्तर लामो समयदेखि जनताको साथमा जनताको घरमै पुगेको छु । कोरोनाकालमा जनताले स्वास्थ्य सामग्री पाउन नसकेको अवस्थामा सरकार पनि निरीह बनेको थियो । सो अवस्थामा काभ्रे जिल्लाका सबै स्वास्थ्य चौकीमा आफ्नो नेतृत्वमा स्वास्थ्य सामग्री पु¥याएको थिएँ । भूकम्पको समयमा पनि सबै दलका साथीहरुसँग समन्वय गरेर स्थलगत रुपमा हरेक गाउँमा पुगेर छुट्टै पोलिसी बनाएर हामीले काम गरेका थियौं ।

मैले आफ्नो कामको प्रचार गर्न खोजेको होइन कि म विगतदेखि नै जनता माझमा छु मात्र भन्न खोजेको हो । त्यही नै मेरो चुनाव जित्ने आधार हो । अर्को भनेको काभ्रे–२ को विभिन्न पालिकामा कांग्रेसको अवस्था अत्यन्त राम्रो रहेको छ । पार्टीसँगै गठबन्धन दलमा पूर्ण एकता रहेको छ । त्यसैले मलाई चुनाव जित्न कुनै समस्या छैन ।

कांग्रेसभित्रको आन्तरिक विवाद र गुटले त चुनावमा समस्या पर्ला नि ? उता सत्ता गठबन्धन दलभित्र पनि प्रतिवद्ध नहुने अवस्था त स्थानीय चुनावमा पनि देखिएको हो ?

काभ्रे कांग्रेसमा निर्वाचनको सवालमा गुट, उपगुट र फुट छैन । हामी पूर्ण एकतावद्ध छौं । अरुले हाम्रा बारेमा चलाएको भ्रम, अफवाहको पछि लाग्न आवश्यक छैन । गुट उपगुट भन्ने कुरा इस्यू बेसमा हुने कुरा हो । यो निर्वाचनमा कांग्रेसका कार्यकर्ताहरुले अरुलाई मत हालेर बस्न सक्छन् होला र ? उनीहरुले अन्त मत हालेर कांग्रेस भएर पार्टीमा बस्न सक्छन् र ? त्यो सम्भव छ ? यो सम्भव छैन । हामीसँग कुनै विवाद छैन । लोकतान्त्रिक पार्टी भएकाले अधिवेशन, सम्मेलनहरुमा मत मतान्तर हुनु सामान्य कुरा हो । लोकतन्त्रको सुन्दरता नै यही हो । अब विवाद र गुटका कारणले मत नै अन्त हाल्ने सम्मको अवस्था आउँछ जस्तो म नेपालभर कहीँ कतै देख्दिनँ । कोही कसैले त्यसो गरे ऊ पार्टीको नेता वा कार्यकर्ता हुनै सक्दैन ।

गत स्थानीय तहको निर्वाचन गठबन्धनको लागि पहिलो अभ्यास थियो । त्यहाँ सबै व्यवस्थापन हुन सकेको थिएन । त्यो पार्टी र म स्वयंले पनि महसुस गरिरहेको कुरा हो । त्यस समयमा मत पत्र पनि ठुलो र चुनाव चिह्न पनि धेरै थिए । धेरै उम्मेदवारलाई मत दिनुपर्ने भएकाले साधारण मतदाताका लागि त्यो सहज पनि थिएन । जसले गर्दा मतदानमा समस्या पनि भयो । मतदाता शिक्षाको पनि कमी थियो । जनताको घरदैलोमा पुग्न सकेको थिएन । हिजोको कमी कमजोरीलाई पुनः दोहोरिन नदिन हामी सचेत छौं । हामी ती कमी कमजोरी सुधार्न सक्रिय छौं ।

चुनाव जित्ने दाबी त गर्नुभयो । कस्ता योजना बोक्नु भएको छ त ?

हामी २००७ सालदेखि २०६२÷०६३ सम्मको आन्दोलन र क्रान्तिबाट प्राप्त भएको उपलब्धिहरुलाई संस्थागत गर्ने र त्यसको विकास गर्नतर्फ अग्रसर छौं । मुलुकमा शान्ति, सुशासन र समृद्धिका लागि वातावरण बनाउने हाम्रो राजनीतिक एजेण्डा छ । मुलुकमा हालसम्म बनेका नीतिहरु परिवर्तन बेला आएको छ । यसतर्फ हामी सचेत भएर अघि बढिरहेका छौं । रह्यो विकास पूर्वाधारका योजनाहरु, त्यो हाम्रो पार्टीको घोषणापत्रमा पनि समावेश छ । काभ्रेको विकास, गौरवका योजनाहरुमा हामी काम गर्छौं । स्थानीय तहसम्म जनताको सरोकार तथा असुविधाका विषयहरुलाई आफ्नो दायराभित्र ल्याएर काम गर्ने योजना छ ।

काभ्रेमा काम गर्दै गर्दा २०५६ सालमा मैले चुनाव जितेपछि मेगा प्रोजेक्टहरु सुरु गरेँ । निर्वाचनमा विकासको बहस हुने प्रचलन नै मैले जितेपछि भएको हो । त्यस समयमा वृहत योजना तर्जुमा भएको हो । ती कामहरु ८० प्रतिशतभन्दा बढी सकेर फर्किएको मान्छे हो म । अहिले पनि हामीले काभ्रेको समृद्धिको लागि नयाँ भिजनका साथ ६१ बुँदे संकल्प जारी गरेका छौं । त्यही बोकेर हामी जनताको घरदैलोमा पुगेका छौं । त्यसमा हामीले हाम्रा एजेण्डाहरु समावेश गरेका छौं ।

विगतमा काभ्रेमा विमानस्थलदेखि सुक्खा बन्दरगाहसम्मको योजना चर्चामा ल्याइएको थियो, त्यसतर्फ के हुन्छ ?

विमानस्थलको प्लानिङचाहिँ हाम्रोमा छैन । २०७४ सालमा चुनाव लड्ने साथीहरुले त्यो बनाइसक्नु पनि भयो होला । हाम्रो भूगोल भएर आकासमा जहाजहरु पनि उड्छन् । गफका लागि गफ र हावादारी आश्वासन हामी दिन चाहदैनौं । हामीले तत्काल रेल चलाउने, विमानस्थल बनाउने कुराहरुलाई एजेण्डा बनाएका छैनौं । हामी सामान्य काम गर्छौं । काभ्रेको समस्या समाधानमा काम गर्छौं । जनताको जीवनस्तरसँग जोडिएका विकासका काम गर्छौं । आर्थिक समृद्धिका लागि विभिन्न योजना ल्याउँछौं ।

चुनावी अभियान कसरी सञ्चालन गरिरहनु भएको छ ?

अहिले हामी जनतामाझ गएर आफ्ना विचार र एजेण्डा प्रस्तुत गरिरहेका छौं । काभ्रे–२ का सबै जनताको घरदैलोमा पुग्ने हाम्रो लक्ष्य हो । त्यसपछि हामी विभिन्न चुनावी छलफलमा छौं । चुनावी रणनीति निर्माणका लागि हामी टिम भेटघाटमा पनि छौं । गठबन्धन दलको टिमले बनाएको कार्यक्रम तालिकाका आधारमा काभ्रेका विभिन्न भागमा गएर हामीले चुनावी अभियान चलाइरहेका छौं ।

चुनावी अभियान अन्तर्गत जनताको घरघर पुग्दै गर्दा कस्तो प्रतिक्रिया पाउनु भएको छ त ?

हाम्रा मतदाताहरु अत्यन्त उत्साहित भएको पाएको छु । उहाँहरुले हामीलाई सौहार्द्रपूर्ण माहोलमा स्वागत गरिरहनु भएको छ । जनताको आकर्षण पनि बढेको पाएको छु । उहाँहरुको अपेक्षा अझ भनौं, गुनासो भनेकै जितेर गएका उम्मेदवार फर्किएर गाउँ नआउने भन्ने छ । अर्को भनेको ठुलाठुला आश्वासनले उनीहरु आजित भएको अवस्थामा पाएको छु । उहाँहरुले गरेको अपेक्षा भनेको आफ्ना प्रतिनिधिहरु चुनावपछि पनि आइदिउन्, गरेका प्रतिवद्धता पूरा गरुन् र गर्न सक्ने जतिमात्र बोलुन् भन्ने छ ।

जनताको अपेक्षामाथि न्याय गर्नु कति चुनौतीपूर्ण लागेको छ तपाईलाई ?

म सदैव जनताको माझमा जनता नै बनेर बसेको मान्छे हो । म अझै पनि उहाँहरुसँगै छु । म काभ्रेमा जनताबाट टेष्टेड भएको मान्छे हो । उहाँहरुको गुनासो मेरो पनि हो । मैले त्यसलाई राम्ररी महसुस गरेको छु । समस्या पर्दा नेतृत्वको साथ नपाएको अनुभव मसँग पनि छ । त्यसैले उहाँहरुले गरेको अपेक्षामा मैले न्याय गर्न सक्छु भन्नेमा पूर्ण विश्वास लिएको छु । मैले आफ्नो प्रतिवद्धतामा पनि भनेको छु, जति सक्छु त्यो गर्छु, नसक्ने काम मैले गर्छु भनेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप