आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

म गठबन्धनको साझा उम्मेदवार हुँ, मेरो जित सुनिश्चित छ : कल्पना धमला

मङ्गलबार, २२ कात्तिक २०७९, १४ : २३
मङ्गलबार, २२ कात्तिक २०७९

आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि काठमाडौं संघीय निर्वाचन क्षेत्र नम्बर ९ मा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रकी नेतृ कल्पना धमला चुनावी मैदानमा छिन् । हाल आफ्नो पक्षमा मत माग्न घरदैलोमा रहेकी धमलासँग उनको चुनावी अभियानका विषयमा केन्द्रीत रहेर गरेको कुराकानीको सम्पादिन अंशः

चुनावी अभियान कसरी चलिरहेको छ । मतदाताहरूको कस्तो खालको प्रतिक्रिया पाइराख्नुभएको छ ? 

घरदैलो अभियान सुरू भएको छ । भेटघाटमा व्यस्त छौं । मतदाताको सन्तोषजनक प्रतिक्रिया छ । सँगै अर्को खबरदारी पनि छ, विगतमा गरेको छलछाम, षड्यन्त्रका विरुद्ध त्यस्तो नहोस् भनेर खबरदारी गरिरहेका छन् । त्यसकारण मैले प्रतिबद्धता जाहेर गरिरहेकी छु, म ढाँट्ने छैन र जनताको साथ छोड्ने छैन । 

चुनावी अभियान अन्तर्गत घरदैलोका क्रममा के कस्ता समस्या पाउनुभयो ? 

पहिलो त जनताले राजनीतिक स्थायित्व, संविधानको रक्षा, विकास, सुशासन लगायतका राजनीतिक एजेण्डा कार्यान्वयन होस् भन्ने अपेक्षा गरेका छन् । युवाहरूको शिक्षा, स्वास्थ्य खेलकुदको बारेमा आजका आवश्यकता जस्ता विषयमा विकास होस् भन्ने चाहना छ । 

तपाईंले कस्ता खालका एजेण्डा अघि सार्नुभएको छ ? 

काठमाडौँ क्षेत्र नम्बर ९ फरक खालको विशेषता भएको भूगोल छ । एकातिर लिच्छविकालीन, मल्लकालीन सभ्यताको विकास भएका ठाउँहरू छन् । अर्कोतिर आधुनिक नेपालको सुरूवात भएका क्षेत्र छन् । भाषा, संस्कृति, गुठी, क्लब, धार्मिक स्थलहरू, मठमन्दिरहरूको संरक्षण गर्नुपर्ने अवस्था छ । यसलाई ऐतिहासिक सहरको रूपमा विकास गर्ने लक्ष्य मैले लिएकी छु । 

अर्कोतर्फ आधुनिक जलाधार क्षेत्रको विकास गर्ने, जंगली भूभागहरूलाई पर्यटकीय क्षेत्रमा विकास गर्ने, नेपालको पहिलो सुरूङमार्ग पनि यही क्षेत्रमा बनिरहेको छ । त्यसलाई युवाहरूको रोजगारी र उद्यमशीलतासँग जोड्नेगरी ट्रमा सेवासुविधासहितको सम्पन्न अस्पताल निर्माण गर्ने लक्ष्य मैले लिएको छु । काठमाडौँको क्षेत्र नम्बर ९ को हकमा शिक्षाको क्षेत्रमा एउटा सरकारी स्कूललाई बुढानिलकण्ठको मोडलमा सञ्चालन गर्ने, स्वास्थ्यको क्षेत्रमा ट्रमासहितको सुविधासम्पन्न सरकारी अस्पताल सुरूङ मार्गको मुखमा निर्माण गर्ने, सुविधासम्पन्न ल्याबसहितको घुम्ती अस्पताल समेत निर्माण गर्ने योजना छ । 

​शिक्षा, स्वास्थ्य, पर्यटनको क्षेत्रमा नयाँ मोडल देखाउने । एकातिर सांस्कृतिक सहर, अर्कोतिर आधुनिक पर्यटकीयस्थल निर्माण गरेर देखाउने, मुख्यगरी नागढुंगा कलंकी नाकालाई व्यवस्थित गर्ने, खानेपानी, ढल निकास, बाटो लगायतका काम छन्, यी कामहरूलाई पनि सँगै अगाडि लैजाने योजना छ । 

तपाईंको प्रतिस्पर्धीको रूपमा ‘हेभीवेट’ उम्मेदवार हुनुहुन्छ । उहाँसँगको प्रतिस्पर्धालाई सहज लिनुभएको छ ? 

म हेभिवेट भनेर मान्न तयार छैन । उमेरको हिसाबले भन्नुभएको हो भने हो, ८/१० पटक चुनाव लडेका हिसाबले भन्नुभएको हो भने हो, तर अहिलेको राजनीतिक मुद्दा, आजको आवश्यकता, मैले गरेको राजनीतिक इमानदारिता, मेरो आँट, साहस उहाँसँग तुलना गर्नै मिल्दैन । 

म ५० वर्षभन्दा तलको युवा हुँ । म महिलाको मुद्दामा सक्षम छु, आजको आवश्यकताअनुसार मुद्दा बोक्न सक्छु, म भ्रष्टाचार गर्ने छैन, म ढाँट्ने छैन, म छल्ने छैन र मेरो जीवनमा म ६० वर्षपछि प्रत्यक्ष निर्वाचनमा आउने, सांसद् हुने, मन्त्री हुने कुनै लक्ष्य छैन । त्यसकारण म उहाँभन्दा धेरै सक्षम व्यक्ति हुँ । यो देशको परिवर्तनको आन्दोलनमा उहाँले भन्दा मैले धेरै लगानी गरेकी छु । उहाँ कर्मचारीको फिल्डबाट अवसरका लागि आउनुभयो, म मेरो बाल्यकालदेखि नै यो देशको सेवामा समर्पित भएर देशको, जनताको मुक्तिको निम्ति लडेर आएको हुँ, त्यसकारण म सक्षम छु । 

स्थानीय तहमा वडाअध्यक्ष पाएको मत हेर्ने हो भने माओवादी केन्द्रले निकै कम पाएको थियो । यसरी हेर्दा तपाईंको जित्ने सम्भावना कसरी देखियो ?

त्यो मत हेरेर को ठूलो, कसको मत कति भनेर भएन । आजको राजनीतिक आवश्यकता हो । संविधानको रक्षा गर्ने प्रश्न छ । राजनीतिक स्थायित्वको प्रश्न छ । विकास र समृद्धिको, सुशासनको युग सुरू गर्ने कुरा छ । त्यसो हुँदा यो हाम्रो गठबन्धनको म साझा उम्मेदवार हुँ । म माओवादी पार्टीको मात्र उम्मेदवार होइन । मेरो निर्वाचन चिह्न म रहेको माओवादी पार्टीको भएको हुनाले गोलाकारभित्रको हँसिया हथौडा हो । तर, म माओवादी पार्टीको प्रतिनिधि होइन, म काठमाडौँ क्षेत्र नम्बर ९ को पाँच दलीय गठबन्धनको साझा उम्मेदवार हुँ । त्यसो हुँदा गठबन्धनको टिम यो क्षेत्रमा सशक्त छ, बलियो छ, यसर्थ म मेरो टिमको विजय सुनिश्चित छ । 

विगतका निर्वाचनमा उम्मेदवारले चुनाव जितेपछि न मतदाताकहाँ जाने, न त आफ्ना प्रतिबद्धता पूरा गर्ने गरेको थिए । तपाईं मतदाताहरूलाई कसरी विश्वस्त पार्नुहुन्छ ? 

म यही कुरालाई चुनौती दिन चाहन्छु । विगतमा हामीभन्दा अगाडि निर्वाचित भएका प्रतिनिधिहरूले गरेको झुटो आश्वासन र उनीहरूले गरेको बाचाको भागेदार म हुने छैन र म काठमाडौँ क्षेत्र नम्बर ९ का जनसमुदायकाबीचमा इमानदार भएर सबैका घरघरमा पुग्नेछु । उहाँहरूले बनाउनुभएको योजना लिएर जानेछु र म लाग्नेछु । विगतको त्यो विरासत तोड्नका निम्ति म यहाँ आइरहेको छु । म जनताको शासक होइन, म जनताको साथी भएर अगाडि बढ्ने प्रण गरेकी छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप