मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आमाको मृत्युले जन्माएको सपना

बिहीबार, १५ असार २०७४, १० : ४०
बिहीबार, १५ असार २०७४

हजारौँ दर्शको अगाडि उभिएर कार्यक्रम सञ्चालन गर्नु योङजोम शेर्पाको दिनचर्या बनेको छ । विभिन्न जिल्लाका सदमुकाममा पुगी कार्यक्रम सञ्चालन गरिरहँदा हजारौँ दर्शकका अनुहार पढेका छन् । हजारौँ दर्शका पीडा नजिकबाट नियालेकी छन् । 


उनी मञ्चमा कार्यक्रम सञ्चालन गर्दा जति हसिली र सुन्दर देखिन्छन्, त्यति धेरै पीडा उनको मन मुटुमा पनि छ । सबैसँग बोल्दा हसिलो अनुहार पार्छिन् । तर आजभन्दा २० वर्ष पहिला भोगेको पीडाले उनको मनमा एउटा सपनाको बीउ रोपेर गएको थियो । त्यो सपना उनी कहिल्यै भुल्दिनन र त्यस सपनाले राम्ररी सुत्न पनि दिएन । भनिन्छ नि सपनाले मान्छेलाई सुत्न दिँदैन । 


अहिले उनी २० वर्ष पहिला देखेको सपना पूरा गर्ने क्रममा छिन् । उनी भन्छिन्– ‘यो सपनाले मलाई कहिल्यै सुत्न दिएन । अझै पनि पूरा नहुन्जेल सुत्न सक्दिन पनि ।’ अहिले सबै काम छोडेर उनी त्यही सपनाको पूरा गर्न लागिपरेकी छन् । 


गृह जिल्ला ताप्लेजुङको घुन्सामा आफ्नै पहलमा अस्थायी स्वास्थ्य एकाइ स्थापना गरेकी छन् । यसका लागि भवन नभएकाले स्कुलको एउटा कक्षा कोठामा सञ्चालनमा ल्याउनुपरेको छ । 


यही स्वास्थ्य चौकी खोल्न उनी रात दिन लागेकी छिन् । उनले खोलेको अस्थायी स्वास्थ्य एकाइलाई बढाएर स्थायी हुँदै ठूलो बनाउने सोचमा छिन् ।


आजभन्दा २० वर्ष पहिला उनको आमाको सुत्केरी व्यथालागेर मृत्यु भएको थियो । सुत्केरी व्यथा पनि चार दिन लागेको उनी अहिले पनि सम्झन्छिन् । उनले भनिन्– ‘मेरी आमालाई चार दिनसम्म सुत्केरी व्यथा लाग्यो । त्यो ठाउँमा हुने सबै झारफुक पनि गरियो । तर अन्ततः भाइ जन्मेपछि आमा हामीलाई छोडेर सदाका लागि जानुभयो ।’ 


यो स्वास्थ्य चौकी आमाको सम्झनामा स्थापना गरेकी हुन् । आमाको अनुहार सम्झँदा कैयौँ रात रोएकी छिन् । उनी भन्छिन्– ‘सानैमा आमा गुमाउँदाको पीडाले सधैँ पिरोल्छ । जब सम्झन्छु मन थाम्न सक्दिनँ । उनी अहिले आफ्नो पहलमा खुलेको अस्थाई स्वास्थ्य एकाइलाई स्थायी स्वास्थ्य चौकी बनाउने अभियानमा लागेकी छिन् । अभियानको दौरानमा काठमाडौँको पुतलिसडकको फ्रेस कप क्याफेमा भेटिएकी थिइन् । 


कुराको मियो सुरु गर्दा अलि सहज हुन खोजिन । सुरुमै उनले आफ्नो मिसनको बारेमा बोलिन् । उनको अहिलेको मिसन अब उपरान्त आफू जन्मेको गाउँमा सुत्केरी हुँदा कुनै आमाको मृत्यु नहोस् भन्ने हो ।  


उनीसम्झनन्छन्– ‘आमालाई सुत्केरी व्यथा लागेको थियो । चार दिनसम्म मेरी आमाले घरको खाँबोमा डोरी समातेर भाइ जन्माउन गरेको प्रयत्न आज पनि मेरो आँखा अगाडि नै नाच्छ । चार दिनको दिन आमाले भाइलाई त जन्म दिनुभयो तर आफू भने सदाका लागि हामीलाई छोेडेर जानुभयो ।’ 


सुत्केरी पछि रक्तश्राव भएर आमाको मृत्यु भएको रहेछ भनेर थाह पाउन पनि उनलाई धेरै समय लाग्यो । 


तर जति कुरा बुझ्दै गइन्, त्यति नै गाढा बनेर बस्यो उनको स्वास्थ्यसँगको माया । उनी अहिले हरेक आमाको अनुहारमा आफ्नो आमाको अनुहार भेट्छिन् । त्यही भएर त उनी तिनै आमाले अकालमा ज्यान नघुमाउनु परोस् भनेर स्वास्थ्य अभियानमा लागेकी छिन् । 


स्वाथ्य चौकीका लागि जमिनको व्यवस्था उनले गरिसकेकी छिन् । सुरुमा उनका पिताले छोरीले सक्दिनन भन्ने बुबाले नै उनको यो अभियानमा जमिन दिएर हौसला दिएका छन् । उनीनलाई गाउँलेले पनि सहयोग गर्दै आएका छन् । अहिले देश विदेशमा रहेका व्यक्ति तथा संस्थाले गरेको सहयोगबाट बरिब ११ लाख जति पैसा जम्मा गरिसकेकी छिन् । तर उनलाई चाहिने पैसा ४० लाख रहेछ । 


उनको योजना छ यतिको खर्चमा एउटा स्वास्थ्य चौकिको आफ्नै भूकम्परहित भवन । उपचारको लागि चाहिने आधुनिक उपकरणसहित चिकित्सकको टोली । 


यो ठाँउसम्म पुगाउनमा उनको सपनालाई साथ दिएको छ उनले रोखेको स्वास्थ्य सम्बन्धी तालिमले पनि गाँउ छोडेको १७ वर्ष पछि गाँउमा एउटा स्वास्थ्य सम्बन्धी तालिम लिएर जादा गाउँभरि तालिममा आउ भन्दा पनि आउनुपर्ने सयमा कुनै पनि महिला आएनन् । सम्झँदै भन्छिन्– ‘गाउँमा महिलालाई प्रजनन्सम्बन्धी तालिम दिन भनेर गएँ । स्कुलमा टाँसे १२ बजे आउने समय तोके तर ४ बजेसम्म पनि कोही आएनन् । त्यो सबै चेतनाको कारणले हो ।’


उनले स्कुलका भित्ता भरी टाँगेका स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने पोस्टरको अनुहार आफ्नै गाउँका महिला दिदी बहिनीलाई देखाउन सकिनन् । अस्थायी पसलेले पसल बटुलेर पोके पारेजसरी पोको पारिन् र अर्को गाउँतिर लागिन् । त्यो गाउँमा अलिअलि महिला दिदी बहिनी जम्मा पारिन र केही स्वास्थ्यसम्बन्धी तालिम दिइन् । यसबाट उनले गाउँका महिलाको चेतना देखेर भित्रैदेखि घोच्यो । उनले हार मानिनन् । महिला नआउनुमा तिनको चेतनाको स्तरसँग दाँजिन् । मनमा पहिलादेखि नै साचेर रोखेको सपना पूरा गर्नतर्फ छिटो लागिन् । 


यस्तो उत्साह बढ्नुमा उनले  स्थापना गरेको अस्थायी स्वास्थ्य इकाइले गर्दा धेरै आमाहरु र अन्य विमारीको ज्यान बचेको छ । अहिले स्वास्थ्य एकाइ स्कुलको कक्षा कोठामा सञ्चालन गर्नुपर्दा भने मन भारी बनाएकी छन् । पल्लो कोठामा विद्यार्थी पढ्छन् । ओल्लो कोठामा सुत्केरी गराउँदा त्यति सहज नहुने भएकाले सकेसम्म छिटो भवन बनाउन पाए हुन्थ्यो भन्ने सोचमा छिन् । 


२०७३ साल पुसबाट स्थापना गरेको अस्थायी स्वास्थ्य एकाइमा अहिले एक जना हेल्थ असिसटेन्ट र एक जना अनमी छन् । यी दुई जनाको व्यवस्थापनमा  हिमालयन डेबलभमेन्ट फाउन्डेसन अस्ट्रेलियाले सहयोग गरेको छ । यो संस्थाले उसो त शिक्षामा लगानी गर्छ तर उनले पहल नै गरेर आफ्नो गाउँमा भरखर स्थापना भएको स्वास्थ्य एकाइलाई सहयोग गर्न भनेपछि उसले पनि मान्यो । 


अहिले त्यो एकाइमा नेपाल सरकारले ४० प्रकारका औषधि दिन्छ । कुनै समयमा औषधिको अनुहार देख्न पनि दुई दिन हिँड्नुपर्ने गाउँमा उनले पहल गर्दा ४० प्रकारका औषधि गाउँमा नै पुर्याएकी छन् । तर त्यो औषधि गाउँ पुग्न भने त्यति सहज छैन । गाउँमा यातायात छैन । औषधि बोेकेर गाउँ पुर्याउन चार दिन लाग्छ । 


अहिले स्वास्थ्य एकाइमा औषधि, हेल्थ असिसटेन्ट र अनमीको व्यवस्था गरेकी छिन् । उनी काठामाडौँको पुतली सडकको कफी कप क्याफेमा भए पनि मन भने आफ्नै गाउँ घुन्सामा नै थियो । उनले भनिन् ‘मेरो देशको विकासको मोडेल नै अचम्मको छ । स्कुल दिन्छ, प्रहरी चौकी दिन्छ तर स्वास्थ्य चौकी दिँदैन । विडम्बना छ, २१औ शताब्दीको मेरो देशको विकासको मोडेल नै टिठलाग्दो छ ।’


उनले आफ्नो विगतलाई सम्झँदै भनिन्– ‘म फुपूको घरमा आएर बसे । त्यही पढेँ । सबैलाई आमा भनेर बोलाएको सुन्दा मलाई पिरोल्थ्यो । म फुपू भन्थेँ ।’ आमा वितेपछि उनी तेह्रथुमको आठरई आएर बसिन, त्यहीँ पढिन् । 
उनको गाउँ विश्वका सर्वोच्च हिमालमध्ये तेस्रो स्थानमा रहेको कञ्चनजङ्घा हिमालको आधार शिविर हो घुन्सामा पर्छ । यहाँ अहिलेसम्म सरकारले एउटा स्वास्थ्य चौकी खोलेको छैन । उनको यो प्रयासले कैयौँ आमाहरुको अकालमा ज्यान गुमाउनबाट जोगाउनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप