सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मतदाता रिझाउन गाउँ गाउँमा उम्मेदवार, एजेन्डा पुरानै

बुधबार, २३ कात्तिक २०७९, ०८ : १८
बुधबार, २३ कात्तिक २०७९

मङ्सिर ४ गते हुने निर्वाचनको मिति नजिकिएसँगै प्रतिनिधिसभा तथा प्रदेश सभाका उम्मेदवार  गाउँ गाउँ पुगेर मतदातालाई रिझाउन व्यस्त छन्। विभिन्न दलबाट उम्मेदवार बनेकाहरू मतदातालाई आश्वासन बाँड्दै आफ्नो पक्षमा मत माग्न व्यस्त छन् । 

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा आफ्नो पक्षमा जित हासिल गर्न लमजुङमा रहेका दलहरू पुरानै एजेन्डासहित गाउँ गाउँ पुगेका हुन् । जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले अगुवा कार्यकर्ता भेला, पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम गरिरहेका छन् ।   

उम्मेदवारहरू प्रचारप्रसार तथा भेटघाटमा व्यस्त रहेका छन्। लमजुङमा सत्ता गठबन्धनका दलहरूका उम्मेदवारहरू सँगसँगै कार्यक्रममा हिँडेका छन्। भेटघाट र घरदैलोमा पुगेका उम्मेदवार जित आफ्नै पक्षमा हुने दाबी गर्दै आफले जिल्लाको विकास गरी समृद्धिको बाटोमा लैजाने  बताउँछन् । प्रतिनिधिसभा माओवादीले र प्रदेश सभा ‘क’ र ‘ख’ मा कांग्रेसले उम्मेदवारी दिएको छ । 

प्रतिनिधिसभा सदस्यमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीच कडा प्रतिस्पर्धा हुने भएको छ । प्रदेश सभा (क) मा एमालेका जमिन्द्रमान घले र कांग्रेसका टकराज गुरुङ, प्रदेश सभा (ख) मा एमालेका कृष्णप्रसाद अधिकारी र कांग्रेसका भेषबहादुर पौडेल चुनावी मैदानमा छन् । 

प्रतिनिधिसभामा एकजना स्वतन्त्रसहित ११ जना उम्मेदवार छन्। प्रदेश सभा (क)मा पाँच जना र प्रदेश सभा (ख) मा छ जना उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।  जिल्लामा जिल्ला कारागार र जिल्ला समन्वय समिति अस्थायीसहित एक सय ३० वटा मतदानस्थल र एक सय ८८ वटा मतदान केन्द्र छन् । जिल्लामा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता छन् ।

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप