सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मतदाताका वारेसप्रति चनाखो बन्न निर्वाचन आयोगको निर्देशन

बिहीबार, २४ कात्तिक २०७९, ०९ : ५४
बिहीबार, २४ कात्तिक २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दृष्टिविहीन, शारीरिक अशक्तता वा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरूका वारेस बनेर मतदान गर्ने प्रति चनाखो हुन निर्देशन दिएका छन् । 

अशक्तताहरुको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेस बनी मतदान गरिदिएकोप्रति चनाखो हुन उनले निर्वाचन अधिकृतहरुलाई निर्देशन दिए । उनले गत स्थानीय तहको निर्वाचनमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएका अथवा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरुको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेस बनी मतदान गर्दा भनेअनुसार मतदान नभएको गुनासो आएको भन्दै त्यसप्रति चनाखो हुन आवश्यक रहेको बताए । 

उनले गत स्थानीय तहको निर्वाचनमा आफैँ मतदान गर्नसक्ने मतदाताहरुले समेत आफू अशक्त भएको बहाना बनाइ अरु मार्फत मतदान गराएका केही उदाहरण आएकाले त्यसप्रति सचेत रहन आग्रह गरे । उनले मतदानको सन्दर्भमा आफू अशक्त भएको बहाना बनाइ पक्षधर व्यक्तिलाई मतदान गर्न दिन गम्भीर प्रकृतिको कसुर भएकाले त्यसो नगर्न पनि सचेत गराए । उहाँले यदि कुनै मतदाताले आफू मतदान गर्न सक्षम हुँदा हुँदै विभिन्न बहाना बनाएर अरुमार्फत मतदान गराउने किसिमको कार्य गरेमा निर्वाचन कसुर तथा सजाय ऐन अन्तर्गत कारबाही हुने चेतावनी दिए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रक्रियालाई समावेशी, लैङ्गिक एवं अपाङ्गतामैत्री बनाउने कुरामा ध्यान दिन पनि सम्बन्धित प्रमुख निर्वाचन अधिकृतहरुलाई निर्देशन दिए । उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा लैङ्गिक र अपाङ्गतामैत्री मतदान केन्द्र निर्माण गरी उदाहरण प्रस्तुत गर्न आग्रह गरे । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले सबै मतदातालाई सहज ढंगले मतदान गर्ने अवस्था सिर्जना गरी यस पटकको निर्वाचन लैङ्गिक, समावेशी र अपाङ्गतामैत्री दृष्टिकोणबाट नमुना मतदान भएको छ भन्ने स्थापित गर्ने गरी काम गर्न पनि सम्बन्धित पक्षहरुलाई आग्रह गरे । 

न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप