सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा पर्यटन प्रवर्द्धन गर्न लन्डनमा विशेष कार्यक्रम

बिहीबार, २४ कात्तिक २०७९, १० : ३२
बिहीबार, २४ कात्तिक २०७९

नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लन्डनस्थित  नेपाली दूतावासले मंगलबार साँझ एक विशेष कार्यक्रम  ‘नेपाल इभिनिंग प्रोग्राम’ को आयोजना गरेको छ । पर्यटन सम्बन्धी विश्वकै कुम्भमेला मानिने वर्ल्ड ट्राभल मार्केट (डब्लुटिएम) मा नेपालबाट सहभागी हुन आएका नेपाल सरकार, पर्यटन बोर्ड र ट्राभल व्यवसायीसहितका डेलिगेटका साथै बेलायत सरकारका अधिकारी, व्यापारिक समुदायका प्रतिनिधि र पर्यटन तथा ट्राभल व्यवसायी समेतको बाक्लो उपस्थिति रहेको थियो । 

कोभिडको मारले थलिएको नेपालको पर्यटन बजार अब सकारात्मक रुपमा अघि बढेको र नेपालका पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको दूतावासले जनाएको छ । नेपाल पर्यटन बोर्डका सिइओ डा धनञ्जय रेग्मीले नेपालको पर्यटन क्षेत्र फस्टाउँदै गएको र पर्यटकको संख्यामा पनि उल्लेखनीय सुधार आएको बताए । बेलायती पर्यटकहरुको संख्या पनि उत्साहजनक रहेको बताउँदै  उनले  यहाँका पर्यटकलाई नेपाल भ्रमण गर्न आग्रह गरे । इलामदेखि हिमालसम्म नेपालको पर्यटकीय क्षेत्रलाई पूर्ण रुपमा सदुपयोग गर्नुपर्ने जोड दिँदै रेग्मीले ‘पावरपोइन्ट प्रिजेन्टेसन’ मार्फत रमणीय स्थलहरुको बारेमा प्रस्ट्याएका थिए ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पनि नेपालको पर्यटन प्रवर्द्धनमा बेलायतको थप खाँचो रहेको बताउँदै बेलायतीहरुलाई कम्तीमा एकपटक नेपाल भ्रमण गर्न आग्रह गरे । कोभिडपछि ओझेलमा परेको  नेपालको पर्यटन बजार झन्डै ७० प्रतिशत रिकोभर भइसकेको आचार्यले बताए । नेपाल हरेक क्षेत्र र हरेक सिजनको लागि  भ्रमण गर्न योग्य रहेको राजदूत आचार्यले बताए ।कोभिडपछि पहिलोपल्ट वर्ल्ड ट्राभल मार्केट (डब्लुटिएम) प्रत्यक्ष रुपमा आयोजना भएको छ जसको कारण पर्यटन क्षेत्रमा थप सुधार हुने उनले बताए ।

त्यस अवसरमा सगरमाथासहितका नेपालका कयौं उच्च हिमालहरु आरोहण गरिसकेका बेलायती पर्वतारोही सर क्रिस बोनिङटनले नेपालको विशिष्ट प्राकृतिक सौन्दर्य र सुन्दर हिमालहरुसंगै नेपालीहरुको न्यानो आतिथ्य पनि सम्झनलायक रहेको बताए। सन् १९६१ मा अन्नपूर्ण र १९८५ मा सगरमाथा आरोहण गरेका उनले विगतको तुलनामा अहिले पूर्वाधार विकासको कारण नेपालको पर्वतारोहण धेरै सहज बनेको अनुभव सुनाए।

त्यसैगरी, ८ हजार मिटर उचाइका संसारका सबै १४ हिमाल आरोहण गर्ने कीर्तिमानी बेलायती आरोही एलान हिंक्स ‘ओबिई’ ले नेपालका हिमाल आरोहण गर्दाको आफ्नो अनुभव पावरपोइन्ट प्रिजेन्टेसनमार्फत् शेयर गरे। झन्डै ४ दशकअघि पहिलोपटक नेपाल पुगेर मनास्लु आरोहण गरेदेखि नै नेपालसँग प्रेममा परेको सुनाउँदै उनले पर्वतारोहण र पदयात्रा दुवैको लागि नेपाल सर्वोत्कृष्ट गन्तव्य रहेको बताए।

दूतावासकी उपनियोग प्रमुख रोशन खनालले सञ्चालन गरेको कार्यक्रममा नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिट, नेपालको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव राजेन्द्रकुमार केसी, बेलायतका लागि पर्यटन दूत महन्त श्रेष्ठसहित उल्लेख्य संख्यामा बेलायतीहरुको पनि उपस्थिति थियो।

कार्यक्रममा  कलाकार डम्मर सिंहको सारंगीवादन र केहरजंग गुरुङको बांसुरवादनका साथमा सयपत्री सांस्कृतिक समूहका तर्फबाट नेपाली संगीत प्रस्तुत गरिएको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप