सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री कृषि आधुनिकीकरण  परियोजना सन्चालनको एक वर्ष :  के–के भए काम ?

बुधबार, १२ पुस २०७४, १४ : २४
बुधबार, १२ पुस २०७४

काठमाडौं– प्रधानमन्त्री कृषि  आधुनिकीकरण परियोजना सन्चालन भएको एक पूरा हुँदा  विनियोजितमध्ये ६२ प्रतिशत बजेट खर्च भएको छ । १० वर्षे परियोजना सुरुवातको पहिलो आर्थिक वर्ष २०७३–०७४ को लागि सरकारले ५ अर्ब ७८ करोड ६२ लाख ७५ हजार विनियोजन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ । 

परियोजनाका  निर्देशक डा. नरहरी प्रसाद घिमिरेले  गत आर्थिक वर्षमा ८० प्रतिशत  मात्रै काम सम्पन्न भएको  रातोपाटीलाई बताए ।    ९० प्रतिशतभन्दा बढी  काम सम्पन्न भएको अवस्थामा मात्रै परियोजनाले लिएको लक्ष्य पूरा गर्न सकिने अवस्था छ । 

परियोजनाको अन्तर्गत आर्थिक वर्ष २०७३/७४ मा प्रत्येक जिल्लामा २ वटा ब्लकको दरले १५० वटा ब्लक ,२१ सय पकेट, ३० वटा जोन र ७ वटा सुपर जोन संचालनमा ल्याइएको छ  ।

  परियोजनामा २४ वटा विभिन्न कृषि बालीलाई समावेश गरिएको छ । निर्देशक घिमिरेका अनुसार  १ हजार हेक्टर वा सो भन्दा बढी क्षेत्रमा लगाइएको कृषि बस्तुलाई सुपर जोन, ५ सय हेक्टर र सो भन्दा बढीलाई जोन , एक सय हेक्टर वा सो भन्दा बढी क्षेत्रमा लगाइएको कृषि बस्तुलाई ब्लक र १० हेक्टर वा सो भन्दा बढी क्षेत्रलाई पकेटमा विभाजन गरिएको छ । 

व्यवसायी उत्पादन तथा प्रशोधन क्षेत्रलाई जोनको र  बृहत उत्पादन तथा औद्योगीक क्षेत्रलाई सुपरजोनको नाम दिइएको छ । 

घिमिरेका अनुसार २०७४–७५ मा१० वटा सुपर जोन थपिएको छ । गत वर्ष परियोजनाले जोनको रुपमा संचालन गरेको कृषि क्षेत्रलाई यो वर्ष सुपरजोनमा स्तरउन्नति गरिएको छ । सिन्धुलीको जुनार , धनुषाको माछा र डडेल्धुराको आलु पहिलो बर्ष जोनमा थियो भने दोश्रो वर्ष सुपरजोनमा स्तरउन्नती गरिएको छ । 
यो क्रम परियोजनाको अन्तिम वर्ष अर्थात आ.व २०८१/८२ सम्ममा २१ वटा सुपरजोन,  ३ सय वटा जोन, १५ सय ब्लक र १५ हजार पकेट देशभर निर्माण गरिने लक्ष्य लिइएको छ । 

परियोजनाको उद्देश्य
 निर्देशक घिमिरेले परियोजना संचालन गरेको दुई वर्षमा  नेपाललाई तरकारी र माछामा आत्मनिर्भर गराउने लक्ष्य लिइएको बताए । 

यस्तै ३ वर्षमा मुख्य खाद्यन्नबाली (धान गँहू,मकै) मा आत्मनिर्भर हुने,  ७ वर्षमा (आप, स्याउ, सुन्तला, जुनार ) जस्ता फलफूलमा आत्मनिर्भर बन्ने लक्ष्य लिइएको छ   । कृषि बस्तुमा   उत्पादकत्व तथा गुणस्तर बढाउने, सबै कृषि बस्तुमा आत्मनिर्भर हुने र निर्यात पनि बढाउने परियोजनाको अवधारण रहेको घिमिरेको भनाई छ । 

परियोजना भित्र मेसिनरी सामानहरु जस्तै ट्याक्टर, रोटाभेटर, ह्यारो खरिद गर्नुपरेमा ५० प्रतिशत , भण्डारण घर निर्माणको लागि ८५ प्रतिशत , उन्नत बिउ—मलको लागि ५० प्रतिशत अनुदानको व्यवस्था पनि गरिएको छ ।  

परियोजनाका अनुसार ताप्लेजुङग ,पाँचथर, तेह्रथुम, संखुवासभा, भोजपुर ,दोलखा र लमजुङलाई अलैची खेती, दार्चुला ,जाजरकोट, रोल्पा, काभ्रे, सिन्धुली र ओखलढुङगालाई मकै तथा मकैको बीऊ, इलाम, धनकुटा, सिन्धुपाल्चोक, ललितपुर, भक्तपुर, काडमाण्डौ, धादिङ, मकवानपुर, बारा, स्याङजा, म्याग्दी , सल्यान, सुर्खेत, बझाङ, डडेल्धुरा ,बैलडी लगायत जिल्लालाई तरकारीको लागि ब्लक तोकिएको छ । 

दोश्रो वर्षको बजेट
ब्लक , पकेट र जोनमा गरी  चालू आर्थिक वर्षमा ३ अर्ब २५ करोड ८८ लाख ७८ हजार बजेट विनियोजन गरिएको छ । जसअनुसार पोखरामा संचालन गरिएको तरकारीको सुपर जोनलाई थप ३ करोड बजेट विनियोजन गरिएको छ  ।  सुरुवातको वर्ष सो शीर्षकमा ११ करोड बजेट परेको थियो । 

 यस्तै झापाको धान सुपरजोनलाई ५ करोड ५१ लाख १९ हजार , काभ्रेको आलु सुपर जोनको लागि ४ करोड ४१ लाख १३ हजार , बाराको माछाको सुपर जोनका लागि  १० करोड १८ लाख ११ हजार रकम दोश्रो वर्षको बजेटमा थप गरिएको छ भने दाङको मकै सुपरजोनका लागि ४ करोड ४१ लाख ३७ हजार , जुम्लाको स्याउ सुपरजोनका लागि ५ करोड १३ लाख २१ हजार बजेट विनियोजन गरिएको छ । 

यस्तै कैलालीको गँहु सुपरजोनको लागि ४ करोड ५४ लाख ६३ हजार , धनुषाको माछा सुपर जोनका लागि १ करोड २३ लाख ४९ हजार , सिन्धुलीको जुनार सुपरजोनका लागि ६ करोड २४ लाख २८ हजार र  डडेलधुराको आलु सुपरजोनका लागि २ करोड ५५ हजार बजेट विनियोजन गरेको निर्देशक घिमिरेले बताए । 

१० वर्षे  परियोजना अवधिभर १ खर्ब ३० अर्ब ७४ करोड २० लाख खर्च हुने अनुमान गरिएको छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप