आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गठबन्धन सरकार आएपछि गाउँमा विकासको लहर आएको छ : रामचन्द्र पौडेल

शुक्रबार, २५ कात्तिक २०७९, १४ : ४४
शुक्रबार, २५ कात्तिक २०७९

मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले देश अहिले चुनावमय भएको छ । राजनीतिक दल, उम्मेदवार र कार्यकर्ताहरू आआफ्नो पार्टीका उम्मेदवारलाई चुनाव जिताउन मतदाताको घरदैलोमा व्यस्त छन् ।
निर्वाचनका लागि सर्वसाधारणसँग मत माग्न ठूलादेखि साना नेताहरू आआफ्नो निर्वाचन क्षेत्रमा व्यस्त छन् । यस्तैगरी आफ्नो निर्वाचन क्षेत्रमा व्यस्तमध्येका एक नेता हुन्– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । 

तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका पौडेल २०७४ को आम निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार किसान श्रेष्ठसँग पराजित भएका थिए । यसपालि चुनाव जित्ने लक्ष्यका साथ मैदानमा खटिएका पौडेलसँग तनहुँको दमौलीस्थित निवासमा पुगेर रातोपाटीका लागि शिव सत्याल र सुवास श्रेष्ठले कुराकानी गरेका छन् 

चुनावी प्रचार प्रसारका लागि गाउँगाउँ जानुभएको छ, मतदाताको प्रतिक्रिया कस्तो पाउनुभयो ?

जनप्रतिनिधिहरू आएनन् भन्ने जनताको गुनासो छ । चुनाव जितेर जान्छन्, फेरि फर्केर आउँदैनन् भन्ने गुनासो छ । अर्काे कुरा, बाटो भएन, सडक कालोपत्रे भएन, धारा जीर्ण भयो भनेका छन् । कहीँ रोजगारी छैन भन्छन्, कहीँ के छैन भन्छन् । जनताले आफ्ना गुनासा राखेका छन् । समस्या देखाएका छन् । 
यसपालि जनताले मबाट आशा गरेका छन् । अरूले ढाँट्ने मात्रै हुन्, गरे यसैले गर्छ भन्ने तनहुँको जनतामा परेको छ । तनहँुका जनताले मलाई माया गरेको पनि पाएको छु । सत्ता गठबन्धनको पक्षमा अत्यन्त सशक्त जनमत भएको पाएको छु । 

गठबन्धनको मत ट्रान्सफर हुने सम्भावना कत्तिको छ ?

गठबन्धनको मत ट्रान्सफर हुन्छ । यसमा शङ्का छैन । तनहुँका जति पनि ठाउँमा म गएँ, त्यहाँका जनताले केन्द्रमा रुख चिन्हमा भोट हाल्ने र प्रदेशमा गठबन्धनका उम्मेदवारहरूलाई भोट हाल्ने भनेका छन् । 

तपाईंको निर्वाचन क्षेत्रमा आफ्नो पहलमा भएका विकास आयोजनाको बारेमा पनि जनतालाई सुनाउनुुभएको छ ?

तनहुँ जिल्लामा मात्रै होइन, म पहिलो पटक स्थानीय विकासमन्त्री भएको बेलामा नै (२०४८ सालमा) देशभरमा ग्रामीण विकास थालेको हो । त्यो बेला मैले ग्रामीण स्वावलम्बन अभियान चलाऔँ भनेर मैले क्याबिनेटमा प्रस्ताव राखेको थिएँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थमन्त्रालय र सबै विकास मन्त्रालयहरू सहभागी भएर बालुवाटारमा निर्णय पनि भएको हो । त्यो कार्यक्रम बीपी जयन्तीमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले घोषणा गर्ने भनिएको थियो । तर पछि प्रधानमन्त्रीबाट त्यो घोषणा आएन, विज्ञप्तिमा मात्रै आयो । तैपनि हामीले गाउँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सञ्चार पुर्याउनुपर्छ भनेर अभियान सुरु गरेका थियौँ । राज्यको ७१ प्रतिशत बजेट गाउँतिर विनियोजन गर्ने हो भनेर सुरु गरेको परिणाम आजको ग्रामीण विकास हो । ग्रामीण विकासका उपलब्धि सबै गाउँमा अहिले देख्न सक्छौँ । 

मैले २०४८ सालमा यहाँ चुनाव लड्दा नै गाउँमा सेवा र सुविधा पुर्याएर गाउँमै बसौँ बसौँ लाग्ने बनाउने मेरो जीवनको लक्ष्य हो भनेर भनेको थिएँ । त्योअनुसार काम पनि भए । बीचमा विभिन्न विघ्न बाधाहरू आएका छन् । पहिला भारी बोकेर उकालो ओरालो गर्नुपर्ने नेपाली जनतालाई अहिले सबै कुरा गाडीले घरमा पुर्याइदिन्छ । फेदीको धान गाउँमा पुर्याइदिन्छ । बेँसीको उत्पादन गाउँमा र गाउँको उत्पादन बेँसीमा पुर्याइदिन्छ । तर कच्ची सडक भयो, धुलो भयो । त्यसलाई पक्की बनाउनुपर्ने भयो । समयक्रममा यस्ता माग बढ्दै जान्छन् । अहिले सबैतिर यही माग छ । अब हामी सबैतिर कालोपत्रे सडक अभियान सुरु गर्छाैं । पछिल्लो ५ वर्ष खेर गयो । त्यो बेलामा एमालेले चुनाव जित्यो । एमालेको सरकार बनेको बेलामा एक रुपैयाँ बजेट पनि केन्द्रबाट आएन । यो गठबन्धनको सरकार बनेपछि २ अर्बको बजेट आएर काम सुरु हुँदैछ । शिक्षा, सडकजस्ता क्षेत्रमा धेरै काम अब हुँदैछ । गठबन्धन सरकार आएपछि जिल्लामा विकासको लहर, विकासको हलचल आएको छ । सेलाएको, सुस्ताएको, अस्ताएको विकास फेरि जागेर उठेको छ । 

–दमौली बजारका लागि जनस्तरबाट नदी व्यवस्थापन, ढल व्यवस्थापन, रोजगारी सिर्जना जस्ता विषय प्रमुख रूपमा उठेको देखियो, ती माग सम्बोधन गर्न तपाईंले कस्ता योजना बनाउनुभएको छ ?

दमौली बजार पहिला नै हामीले बनाएको बजार हो । किनभने व्यास नगरपालिका मैले नै बनाएको नगरपालिका हो । यसले यति ठूलो सम्पत्ति प्राप्त गरेको छ । यति व्यवस्थित नगरपालिका बनेको छ । यसका चारैतिर विकासै विकास छ । चारैतिर ठूला भवनहरू बनेका छन् । नगरपालिकाको भवन पनि बनेको छ । २३ करोड रुपैयाँ लगानीमा सभा भवन बन्दैछ । पराशरा पार्क, शान्ति पार्क बन्दैछ । खेलकुद मैदान बन्दैछन् । 

मैले भतेरीमा बसपार्क बनाउन खोजेको थिएँ । यहाँका मानिसले त्यसलाई सहयोग गरेका छैनन् । भतेरीलाई मादीले चाटेर सबै लगिदियो, लगिराखेको छ । तैपनि फेरि म के भन्छु भने त्यहाँ म बसपार्क बनाउन चाहन्छु । त्यही चिल्ड्रेन पार्क बनाउन चाहन्छु । चिल्ड्रेन पाराडाइज बनाउन चाहन्छु । ताकि पूर्व–पश्चिम हिँड्ने मान्छेले पुलबाट हेर्दैखेरि मनोरम दृश्य के रहेछ भनेर बसै रोकेर ओर्लेर हेर्न जाने ठाउँ बनाउन चाहेको छु, बनाएर छोड्छु । व्यास नगरपालिका सुन्दर बन्दैछ । गाउँगाउँमा सबैतिर बाटो पिच हुँदैछ । नदी तटबन्ध, पुल निर्माण जस्ता कार्यका लागि अर्बाैंका आयोजना आएका छन् । सुक्खा मौसममा १४४ मेगावाट बिजुली उत्पादन हुने सेती परियोजना आएको छ । अब तल्लो सेती पनि बनाउँदै छौँ । त्यसबाट १२६ मेगावाट बिजुली निकाल्छौँ । बुद्धसिंह राजमार्ग विचल्लीमा परेको थियो । अहिले बजेट परेको छ ४६ करोड रुपैयाँको टेन्डर परेको छ । त्यो सडक कालोपत्रे हुँदैछ । यताका सबै सडक बहुवर्षीय योजनामा परेर काम भइरहेको छ । अहिले राम्रो सुरुवात भएको छ । मैले जितेपछि झनै विकास हुन्छ । मैले जितेपछि कायापलट हुन्छ । 

 यसपालि नेपाली काँग्रेस तुलनात्मक रूपमा एक भएर चुनावी प्रतिस्र्धामा होमिएको छ, तपाईंको निर्वाचन क्षेत्रको अवस्था के छ ?
गत चुनावमा हारेको चोट काँग्रेसको दिलमा छ । त्यसैले यसपालि सच्चा काँग्रेसीहरू एक ठाउँमा छन् । टिकट वितरणमा कतिपय जिल्लामा, कतिपय ठाउँमा नमिलेको मैले नै महसुस गर्छु । सभापतिजीलाई के लाग्यो, उहाँले कसरी टिकट वितरण गर्नुभयो, उहाँलाई नै सोध्नुपर्ने हुन्छ । त्यसका बाबजुत पनि काँग्रेस एकजुट भएर लागेका छन् । यो चुनाव पार्टीले जित्नुपर्छ, यो चुनाव गठबन्धनले जित्नुपर्छ, यो लोकतन्त्र जोगिनुपर्छ, यो संविधान बच्नुपर्छ, आएको परिवर्तनको रक्षा हुनुपर्छ र अब नेपालको विकास हुनुपर्छ । नेपाल कति विकास नहुने, कति भाँैतारिरहने, नेपाल कति प्रयोगको थलो मात्रै बन्ने ? अब यो देशले धान्न सक्दैन भन्ने कुरा सबैले महसुस गरेर यो गठबन्धनलाई सफल बनाउनुपर्छ भन्नेतिर सबै लागेको मैले देखेको छु । 

तपाईंले यहाँबाट चुनाव जितेपछि तनहँु जिल्लाले पहिलो पटक प्रधानमन्त्री पाउँछ ?

पाउनुपर्ने हो । मलाई के लाग्छ भने देशलाई अब सुशासन चाहिएको छ । जसरी शासन प्रशासन चल्यो, अब त्यसरी चलेर हुँदैन । अब हामीले विकासमा फड्को मार्नु छ । विकासको फड्को मार्नका लागि सुशासन पहिलो सर्त हो । सुशासन दिने नैतिक साहस भएको मान्छेलाई निरुत्साहित गरेर, साम, दाम दण्ड, भेद गरेर पछि धकेलेर, उसलाई पाखा लगाउने र अरू मान्छेहरूले लटरपटर पारेर सत्ता हत्याउने गरेर मात्रै देशको उन्नति, भलो हुँदैन । त्यसकारण नेपालको साँच्चिकै भलो हुनका लागि यसपालि मैले यो कार्यकालमा हस्तक्षेप गर्ने कोसिस गरेको छु । म प्रयास गर्छु । सकभर हुने नहुने, दिने नदिने काँग्रेसका साथीहरूको हातमा छ । जनप्रतिनिधि साथीहरूले के सोच्छन्, पुरानो पट्टी बाँधेको घोडाजस्तो हुन्छन् कि आँखा खोलेर हेर्छन् भन्ने बुझ्न बाँकी छ । 

तपाईंको निर्वाचन क्षेत्रको माहोल कस्तो छ ?

तपाईंहरूले पनि हेर्नु भएकै होला । मेरो विचारमा चुनावी माहोल राम्रै छ । अप्ठ्यारा कुराहरू सबैतिरबाट समाधान हुँदै आएका छन् । जहाँजहाँ समस्या थिए, ती पनि समाधान हुँदै आएका छन् । नेताहरूको पनि व्यवस्थापन भएको छ । मतदाता व्यवस्थापन गर्नेभन्दा पनि नेता व्यवस्थापन गर्ने समस्या पहिलो भयो । पहिला नेता व्यवस्थापन गर्यौँ । त्यसपछि कार्यकर्ता व्यवस्था गरेँ । अब मतदाता व्यवस्थापन हुन्छन् भन्ने मलाई लाग्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप