सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
पुस्तक चर्चा

मृत्युबाट ब्युँझिएर लेखिएको गम्भीर जीवन दर्शन: जिजीविषा

शनिबार, २६ कात्तिक २०७९, ०९ : १७
शनिबार, २६ कात्तिक २०७९

यतिबेला मनीषा कोइराला राप्रपालाई जिताउन काठमाडौंको चुनावी सभामा सम्बोधनका कारण चर्चामा छिन् । तर यो लेखोट उनको राजनीतिक संग्लग्नताबारेको होइन, उनको आत्मकथाको पुस्तक बारेको हो । 

उनले पहिलो पटक अभिनय गरेको नेपाली फिल्म हो, ‘फेरि भेटौँला’ । नेपाली दर्शकलाई फेरि भेट्ने बाचा गरेकी उनी नेपाली फिल्ममा भने त्यसपछि करिब करिव फर्केर आइनन् ।

नेपाली रजटपटलाई माया मारेर उनी सुबास घईको हिन्दी सिनेमा ‘सौदागर’ मा देखिइन् ।  बलिउडमा स्थान बनाउनु धेरैको सपना हुन्छ । भनिन्छ, फिल्म खेल्ने सपना बोकेर हरेक बर्ष लाखौँ युवायुवती मुम्बई पुग्छन् । मुम्बई पुगेका ती लाखौँ कलाकार कालान्तरमा आफ्नो जन्मभूमि नफर्किएर उतै कतै हराउँछन्, गुमनाम हुन्छन् । 

सन् १९९१ मा भारतीय सिने क्षेत्रमा छिरेकी मनीषा सन् २०१२ सम्मका २१ वर्षसम्म मुम्बईको रंगीन संसारमा हराइन् । त्यस दरमियानमा मनीषाले आफैलाई स्थापित कलाकारको सूचीमा उभ्याउन सफल मात्रै भइनन्, जुनियर कलाकारका लागि उनी सपना बनिन्, उद्देश्य बनिन् एक मुकाम बनिन् ।

मनीषा भारतीय सिने जगतकी लोकप्रिय र स्थापित नायिका थिइन् । अन्तर्राष्ट्रिय ख्याती पाउने नेपाली मूलकी एकमात्र कलाकारको रुपमा आफ्नो पहिचान बनाउन सक्नु मनीषा कोइरालाको जिन्दगीकै सबैभन्दा ठूलो सफलता हो ।

उनको हातमा दर्जनौ सिनेमा थिए । उनले आफ्नो जमानाका नाम चलेका सबै नायकसँग फिल्म खेल्ने मौका पाइन् । उनको हातमा नाम र दाम सबै थोक थियो । मनीषा आफ्नो कर्ममा दिलोज्यानले लागेकै पनि थिइन् । तर अचानक उनको जीवनमा यस्तो मोड आइदियो, जसले गुडिरहेको जिन्दगीको गाडीलाई ब्रेक लगाउनु मात्र परेन, अर्कै बाटोमा गुडाउनुपर्ने बाध्यता आइपर्यो ।

को थिएन होला, जो मनीषाको सौन्दर्यमा मोहित नभएको होस् । उनको यौवन, अनुहार र अभिनयले तानेर करोडौँ मानिस थिएटर पुग्ने, रमाउने र केही समयका लागि भए पनि गहिरा दुःखबाट बाहिर आउँथे । जुन शरीरलाई हामीले गर्व गरेका हुन्छौँ वा अत्यन्त हचुवामा लिएका हुन्छौं, त्यही शरीरले एक्कासी कुनै पूर्वजानकारी नदिई तपाईंलाई निःशब्द बनाउने गरी धोका दिइरहेको हुन सक्छ । 

तर मनीषाको त्यही शरीरले धोका दियो । उनी जुन स्वास्थ्य समस्याबाट ग्रसित भइन् र अर्को पटक बाँच्ने मौका पाइन् । उनको जीवन प्रतिको बुझाई नै आकाशपाताल फरक भइदियो । यही सन्देश हो, उनको जीवनबाट प्राप्त गर्न सकिने । उनको आत्मकथा ‘जिजीविषा’मा पढ्न सकिने ।

उनको पेट अस्वाभाविक रुपमा बढ्दै थियो । शरीर शिथिल हुँदै गएको थियो । कति कतिबेला बमिटिङ समेत हुन्थ्यो । त्यतिबेला उनै काठमाडौंमै थिइन् । त्यसैले, चेकजाँचको लागि नर्भिक अस्पताल पुगिन् । चिकित्सक मधु घिमिरेले चेकजाँच पछि उनको शरीरमा क्यान्सर रोगले संक्रमण गरेको सार्वजनिक गरिदिए । जुन खबर मनीषा कोइरालाका लागि स्वभाविक खबर थिएन । त्यो स्तब्ध बनाउन पर्याप्त थियो ।

जीवनका सम्पूर्ण सफलता, रंग र उत्सवहरु छोड्नुपर्ने भयो । उनको निम्ति  प्राथमिकतामा अभिनय होइन, आफ्नै उपचारलाई महत्व दिनुपर्ने अवस्था आयो । एकजना ब्यस्त नायिकाको जीवनमा यो परिस्थिति चट्याङ परेजस्तै   अकल्पनीय थियो । आफ्नै जीवनमा आएको अप्रत्याशित विपत्तिले मनीषा मात्र स्तब्ध भइनन्, उनलाई माया गर्ने करोडौ फ्यानहरु निराश बने । विश्वासै गर्न कठिन माने ।

यो सन् २०१२ को अन्त्यतिरको घटना हो, जतिबेला उनलाई क्यान्सर भएको थाहा भयो । उनी आफूलाई क्यान्सर छ भन्ने स्वीकार्ने मुडमा थिइनन् । उनी अझै गहन चेकजाँचको निम्ति भारतको महाराष्ट्र प्रान्तको राजधानी मुम्बइ पुगिन् । मुम्बईमै बस्थे, भारतका चर्चित क्यान्सर रोग विशेषज्ञ डा सुरेश आडबाणी । डा आडबाणीसँग उनको चिनजान थियो । आडबाणीले उनको थप चेकजाँच गरे । मनीषा रिपोर्ट मिथ्या सबित होस् भन्ने चाहन्थिन् तर त्यसो भएन । उनले जिन्दगीको वास्तविक यथार्थ स्विकार्नै पथ्र्यो । उनी आफैसँग त्रस्त थिइन् । उनको परिवार कुनै हालतमा छोरीलाई गुमाउन चाहँदैनथ्यो ।

मनीषालाई आफ्नो शरीरमा आएको जटिलताको सामान्य आभाष नभएको होइन । तर त्यो यति हदसम्म अघि गैसकेको होला भन्ने उनले कल्पनासमेत गरेकी थिइनन् ।

उपचारको लागि उनी अमेरिकाको न्यूयोर्क पुगिन् । न्यूयोर्क क्यान्सर उपचारको लागि विश्वकै सुविधाजन्य ठाउँ मानिन्छ । त्यहाँ पुगेर उपचार गराउने ल्याकत सबैसँग हुँदैन । मनीषा आफै पनि स्थापित कलाकार थिइन् । उनको उपचार प्रक्रिया सुरु भयो । डिम्बाशयको शल्यक्रिया भयो । उनको शरीरमा पटक पटक किमो चढाईयो । उनको टाउकोको एउटै कपाल बाँकी रहेनन् । उनले एकदम नजिकबाट मृत्यु नियालिन् । स्वस्थ भएर जीवनको लय फेरि समात्न सकिन्छ भनेर उनले कल्पना समेत गरेकी थिइनन् । अन्ततः उनले क्यान्सर जितिन् ।

क्यान्सर निको भएको ५ वर्षपछि सन् २०१७ मा मनीषाले किताब लेख्न सुरु गरिन् । उनले आफ्नो शरीरमा क्यान्सर देखिएदेखि उपचार र निको हुँदा सम्मका सम्पूर्ण अनुभव र अनुभूति समेटेर किताब लेखिन् । सन् २०१८ मा पहिलो पटक अंग्रेजी संस्करण ‘हिल्ड’ सार्वजनिक भयो । मनीषाको कथालाई लेखनमा निलम कुमारले सघाएका छन् । उनी भारतका राम्रा मोटेभेसनल लेखक हुन् । नेपालमा २०७६ सालमा मनीषाको नेपाली संस्करण ‘जिजीबिषाः क्यान्सरले दिएको नयाँ जीवन’ सार्वजनिक भयो । हिल्डलाई अनुवाद गरेका छन् स्वरुप आचार्यले । अहिले मैले त्यही किताब पढेर सिध्याएको छु ।

‘जिजीबिषा’ मनीषाको पाठेघर क्यान्सरले दिएको नयाँ जीवनको कथा हो । जीवनलाई हेर्ने एक आँखीझ्याल हो । प्रेरणाको पुञ्ज हो । 

जिजीबिषा मनीषा कोइरालाको जीवनको साँगोपाँगो कथा होइन । एउटा  विशेष कालखण्डको उनको जीवन भोगाईको एउटा पाटो मात्र हो । क्यान्सर संक्रमित भएपछि जो कोही बाँच्ने सम्भावना न्यून रहन्छ । त्यसमा पनि क्यान्सरको अन्तिम खुड्किलोमा पुगेकी मनीषाले आफ्नो दृढइच्छा शक्तिले क्यान्सर जितिन् । 

शरीरमा क्यान्सर देखिएदेखि उपचार क्रममा भोगेका अन्त्यहीन त्रास र कष्टप्रद पलको दस्तावेज हो, यो पुस्तक । जगदीश घिमिरेको “अन्तर्मनको यात्रा“ पनि यही कोटीको किताब थियो ।

जिन्दगीको कुनै ठेगान हुँदैन । आज छ, भोलि छैन । तपाईं हरेक पल, हरेक दिनको योजना बनाइरहनु भएको हुन्छ । त्यहीबेला तपाईंको जिन्दगीमा कल्पनै नगरेको जटिलता आएको पनि हुन सक्छ । तपाईं क्षणभरमै आफैसँग पराजित भएर बिछ्यौनामा पर्न सक्नुहुन्छ । एकै किसिमको दिनचर्याबाट आजित थिइन् मनीषा ।

 ‘म हरेक दिनको एउटै दिनचर्याबाट आजित भैइसकेकी थिएँ । उठ्यो मेकअप लगायो, सुटिङका लागि गयो, थकित भएर घर फर्कियो र फेरि भोलिपल्ट त्यही दोहोर्यायो ।’ (पृ.७२)

मुम्बई मनीषाको लागि स्वप्न नगरी थियो । उनले मात्र १९ बर्षको उमेरमा भारतको चमकदमक फिल्म दुनियाँमा पाइला टेकेकी थिइन् । कहिलेकाहीं अवसर पाउनु पनि ठूलो कुरा बन्दो रहेछ । जतिसुकै क्षमतावान ब्यक्तिलाई पनि आफ्नो क्षमता देखाउन सबैभन्दा पहिले अवसर चाहिन्छ । कति क्षमतावान ब्यक्ति अवसर नपाएर त्यत्तिकै बिलाएका छन् । नयाँ कलाकारलाई अवसर पाउनु सबैभन्दा गाह्रो छ । अवसर पाएर मात्रै पनि हुँदैन । ब्यक्तिभित्र रहेको क्षमतामा निखार ल्याईदिने निर्देशक पाउनुपर्छ । 

मनीषाले भारतीय सिने क्षेत्रमा पाईला टेक्ने बित्तिकै सौदागर फिल्मको लागि सुबास घई जस्ता कहलिएका निर्देशक पाइन् । उनी नेपाली चेली त्यसमाथि नेपालको राजनीतिक घरानासँग जोडिएकी किशोरी । त्यसैले पनि अवसर पाइन् ।

मनीषाले अवसरलाई खेर जान दिइनन् । उनको अगाडि डर र चुनौती दुबै थियो । आफूले सकेको राम्रो गरिन् । उनको पहिलो फिल्म नै सुपरहिट भयो । पहिलो फिल्मबाटै उनले बलिउड फिल्म नगरीमा आफ्नो दरिलो पाईला टेक्न सफल भइन् ।

सफलता भनेको अलिकति भाग्य, केही संघर्ष, केही क्षमता र धेरै मिहिनेतको  मिलिजुली संयोग रहेछ भन्ने किताबले बताउँछ । सौदागर हिट हुनु, उनको निम्ति मुम्बईमा सम्भावनाका अनेक ढोका खुल्नु थियो । उनी मुम्बई फिल्म नगरीका लागि नयाँ अनुहार थिइन् । पछि १९४२ ः अ लभ स्टोरी, अकेले हम अकेले तुम, बम्बे, खामोशीः द म्यूजिकल, दिलसे, मन, लज्जा, कम्पनी, बाम्बे जस्ता अनेकन सुपरहिट फिल्म खेलिन् । यसरी मनीषाले ८० भन्दा बढी हिन्दी फिल्ममा काम गरिन् ।

विश्वमै दबदबा रहेको भारतीय फिल्म नगरीमा नहराएकी एउटी नेपाली नायिकाप्रति आमनेपालीलाई चासो र चिन्ता त हुन्छ नै । त्यत्रो प्रतिस्पर्धामा नहराएकी, नडराएकी एउटी सफल नायिका मनीषा, आफ्नो अलग्गै अस्तित्व बनाएकी एउटी नायिका मनीषा, जहिल्यै मिडियाको नजरमा हट केक बन्थिन् । 

मिडियामा उनको बिषयमा अनेक समाचार आउँथे । बैँसमा प्रेमी बनाइन् होला । प्रेमी फेरिन् पनि होला । सफलताले अलिकति घमण्ड बोकी होलिन् । सधैँको कामको ब्यस्तताले दिक्क पनि लाग्यो होला । सधैँ राम्रो काम गर्नुपर्ने दबाब झेल्दा झेल्दै उनी दिग्भ्रमित पनि भइन् होला । अनि त तनाव भुल्न मदिराको चुस्कीमा बानी पर्यो ।

सधैँको काम, सधैको धपेडी । उनीभित्र पनि त एउटा नारी मन थियो । उनलाई पनि श्रीमती हुने, सन्तानको आमा बन्ने रहर थियो । उमेर घर्किँदै जाँदा ओहो बिहे गर्नुपर्छ है भन्ने पनि लाग्यो । बिहे पनि गरिन् । बिहे पर्दामा देखाइनेजस्तै सुन्दर त किन हुन्थ्यो र ? उनको बिहे सुखद रहेन । नचाहेरै उनको वैवाहिक जीवन टुक्रिदा उनी अझै टुटिन् । 

उनलाई राजनीतिमा लाग्नुपर्छ भन्नेहरु पनि अघि सरे । राजतन्त्र आफै भुङ्ग्रोमा परेको बेलामा उनले राजतन्त्रको औचित्यको बारेमा बोलेको कुरा उनकै लागि प्रत्युत्पादक बन्यो । पर्दामा अभिनय र वास्तविक जिन्दगीको लयमा धेरै भिन्नता थियो ।

मनीषा अभिनयको जिन्दगी र वास्तविक जीवनलाई तालमेल मिलाउन प्रयासमा थिइन् । तर उनलाई उनकै जिन्दगीले साथ दिइरहेको थिएन । बाहिरबाट हेर्दा सबैकुरा ठिकठाक थियो । उनको हातमा पैसा थियो, फिल्म थियो । मान सम्मान सबथोक थियो । सबथोक भएर पनि केही नभएजस्तो खालीपन महसुस हुन्थ्यो ।

प्रकृति एकदम निर्मम छ । गलत आहार बिहार, गलत जीवनशैलीले शरीरलाई हानी पुर्याउन सक्छ । तर हिजो असाध्य ठानिएका रोग आज प्रविधिले गर्दा उपचार सम्भव भएको छ । प्रविधिले शरीर भित्रका जटिलता क्षण भरमा नियाल्न सम्भव भएको छ । मनीषाले पुस्तकमा आफ्नो जीवनका ससाना कुरा पनि खोतलेकी छिन् । उनीभित्र आफ्नै भविष्यदेखि डर थियो, आफ्नै करियरको चिन्ता थियो ।

कुनै पनि ब्यक्तिलाई यति ठूलो संसारमा प्रतिस्पर्धामा टिकिरहन, चर्चामा आउन सहज छैन । चाहे जुनसुकै क्षेत्र किन नहोस्, बिना प्रतिस्पर्धा, बिना संघर्ष कहीँ पनि टिक्न गाह्रो छ । दुश्मन कसका पो हुँदैनन् र ? मनीषाले खुट्टामा छिर्के हानेर लडाउनेहरु भेटिन् । यौवनमा आँखा गाड्नेहरु पनि भेटिन् । आफ्नो अस्तित्व निरन्तर जोगाइराख्नु उनको निम्ति पक्कै सहज थिएन होला । तर खरो प्रतिस्पर्धामा आफूलाई लामो समयसम्म टिकाई राख्न सफल भइन् । किनकि उनले सहयोगी हात पनि प्रशस्त भेटिन् ।

मनीषाले सकारात्मक नकारात्मक अनेक भूमिकामा अभिनय गरिन् । धनीदेखि गरीब केटीको भूमिकामा खेलिन् । प्रेमप्रति पागल केटीको भूमिका निभाइन् । एउटी नारीको रुपमा जीवनमा अनेक खालका भूमिका निभाइन् । अभिनय गर्दा गर्दै आफ्नै जिन्दगीले उनीसँग मजाक गर्यो । वास्तविक जीवनमा भने उनले क्यान्सरले ग्रस्त युवतीको रुपमा अभिनय गर्ने बाध्यता आइलाग्यो । तर पटकथा परिवर्तन गर्दै क्यान्सरलाई जितिन् र त, उनी यही संसारमा श्वास फेर्दै छिन् ।

जिन्दगी रंगीन मात्रै नहुँदो रहेछ । जिन्दगी अभिनय मात्रै पनि त होइन रहेछ । जिन्दगीले दिने खुशीहरु क्षणिक र चोटहरु लामा हुँदा रैछन् । जस्तै प्रतिकुल परिस्थितिमा पनि जिन्दगीको आशा गुमाउनु हुँदो रहेनछ ।

जिन्दगी सन्तुलनमा बाँच्न जान्नुपर्छ । जिन्दगी अनमोल छ । पुस्तकले धेरै सन्देश बोकेको छ । उनले क्यान्सर जितेपछि आफ्नै जिन्दगीलाई गहिरोसँग नियालेकी छिन् र त्यही गहिराईको अनुभव गर्दै बाँचेकी छिन् । उनी अहिले सामाजिक अभियन्ता बनेर सार्वजनिक कार्यक्रममा आफ्ना अनुभव शेयर गर्दै आएकी छिन् । उनी अभिनय क्षेत्रमा पनि फर्किएकी छिन् ।

धेरै कुरा फेरिएको छ । सबैभन्दा महत्वपूर्ण कुरा जिन्दगी हेर्ने मनीषाको दृष्टिकोण पुरै बदलिएको छ । पुस्तक धेरैका लागि अनुकरणीय बन्न सक्छ । मनीषाको ‘जिजीबिषा’ले केही नयाँ संकेत पनि गरेको छ ।

नेपाली पुस्तक संसार दिनानुदिन फराकिलो हुँदै गएको छ । नेपालमा राजनीतिक, ऐतिहासिक, सामाजिक जीवनका अनेक पाटामा पुस्तक निक्लिएका छन् । अनेक ब्यक्तिका आत्मकथा प्रकाशित हुँदै आएका छन् । तर कलाकारका कथा कमै छापिएका छन् ।

भारतमा फिल्मी कलाकारको जीवनमाथि लेखिएका पुस्तक बग्रेल्ती पाइन्छन् । नेपालमा भने अभ्यासै नभएको पो हो कि ? अपवादको रुपमा मनीषाको पुस्तक आइपुगेको छ । एउटा सार्वजनिक कलाकारको बारेमा आम मानिसमा धेरै चासो र जिज्ञासा हुन्छ । नेपालमा पनि कलाकारहरुका जीवनी लेखिनुपर्छ । उनीहरुलाई कथा लेख्न उत्प्रेरित गर्नुपर्छ । उनीहरुका अनुभव, संघर्षहरु धेरै जनाका लागि प्रेरणा बन्न सक्छ ।

मनीषा क्यान्सरलाई जितेर हामीसामु फेरि भेटिएकी छिन् । नेपाली फिल्म ‘फेरि भेटौंला’को अभिनयपछि अब नेपाली फिल्ममा फेरि भेटिने हुन् कि होइनन्, त्यो भने उनीमाथि नै निर्भर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप