आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गुल्मीका मतदाता भन्छन्– चुनावी कार्यक्रम बिहान-बेलुका गरौँ

नेता घर घरमा, मतदाता खेतबारीमा
शनिबार, २६ कात्तिक २०७९, १२ : ५४
शनिबार, २६ कात्तिक २०७९

आसन्न मंसिर ४ को निर्वाचन नजिकिँदै जाँदा गुल्मीमा विभिन्न पार्टीका उम्मेदवार घरदैलोमा व्यस्त छन् । आफ्ना उम्मेदवारलाई जिताउन पार्टीका अगुवा कार्यकर्ता पनि दौड धुपमा छन् । 

विभिन्न पार्टीका नेता उम्मेदवार बनेर मतदाताको घरदैलोमा पुगिरहेका छन् । तर कतिपय किसानलाई राजनीतिको भन्दा आफ्नै खेतीबाली भित्र्याउने चटारो छ । कतिपय किसानहरु खेतमा धान काट्दै गरेका भेटिन्छन् त कतिपय बारीमा तरकारी लगाउँदै । वर्षदिन खाने खेती छोडेर चुनावी कार्यक्रममा बसिरहन नभ्याइने गुल्मी मालिका गाउँपालिका– ६ अर्जेका लालबहादुर बिक बताउँछन् । उनी भन्छन्, ‘खेतिपाती नगर्नेलाई त चुनाव आउँदा चाडपर्व आएजस्तो भएको छ तर हामीलाई खेती स्याहार्ने चटारोले फुर्सद नै छैन ।’

त्यस्तै इश्मा गाउँपालिका वडा नंं २ का मुमलाल आचार्यले भने, ‘नेताहरुले चुनावी कार्यक्रम बिहान र बेलुका मात्र गरिदिए हुन्थ्यो, दिउँसोमा कार्यक्रम गर्दा हामीजस्ता किसानलाई समय मिलाउन गाह्रो भयो ।’ नेताहरुको कार्यक्रम पनि छुटाउन मन नलाग्ने तर कार्यक्रमहरुमा बस्दा खेतमा धान सुकेर जानसक्ने भएकाले कार्यक्रम बिहान बेलुका गरे उचित हुने आचार्यले बताए । इश्माको छल्दीपनाका फाँटमा धान पाकेर यहाँका किसानहरु व्यस्त बनेको उनले बताए ।

अर्का किसान अनन्त आचार्यको पनि उस्तै सुझाव छ । अनन्तले भने,‘छरछिमेकीले चुनावी कार्यक्रममा बोलाउँछन्, गए आफ्नो खेती बिग्रने नगए छिमेकी रिसाउने,गाह्रो भएको छ ।’ राजनीतिक आस्था भएकाले खेतको काम छोडेरै पनि कहिलेकाँही राजनीतिक कार्यक्रममा बस्ने गरेको उनले बताए ।

इश्माको रातडांडामा बिहान ८ बजे नै जम्मा भएर उम्मेदवार रामकुमारी झाँक्रीलाई कुर्दै गरेका किसानले यस्तो प्रतिक्रिया दिएका हुन् । १० बजेपछि मेलामा जानुपर्ने भएकाले उम्मेदवारलाई छिटो बोलाउन उनीहरुले अगुवा नेताहरुलाई आग्रह गरिरहेका देखिन्थे । करिब ९ बजे प्रदेश सभा सदस्यका उम्मेदवार भुवनप्रसाद श्रेष्ठ आएर भाषण गरे भने १० बजे रामकुमारी झाँक्री आएर संक्षिप्त भाषण गरेपछि कार्यक्रम सकियो । त्यसपछि किसानहरु मेला हिंडेका थिए ।

ज्यालामा असमानता
गुल्मीको यस क्षेत्रमा महिला र पुरुष कामदारलाई छुट्टाछुट्टै ज्याला निर्धारण गरिएको पाइएको छ । खोतबारी जोत्ने पुरुषलाई ६ सय ज्याला दिइन्छ भने खन्ने महिलालाई ३ सय ज्याला दिने गरिएको स्थानीय लालप्रसाद श्रेष्ठले बताए ।

दाउरा काट्ने पुरुषले दैनिक ६ सय पाउँछ भने दाउरा बोक्ने महिलाले ३ सय पाउने गरेको श्रेष्ठले बताए । गर्ने काम  र काम गर्न जाने दुरीको आधामा पनि ज्यालामा घटबढ हुने गरेको उनले जानकारी दिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप