सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मलाई त्यो ‘डर्टी प्राक्टिस’मा विश्वास छैन : रवि लामिछाने

‘जिते पनि, हारे पनि घरघरको समस्या मेरो समस्या हो’
आइतबार, २७ कात्तिक २०७९, ०७ : ५८
आइतबार, २७ कात्तिक २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल गठन गरी पहिलो पटक संसदीय राजनीतिक प्रतिस्पर्धामा उत्रिएका रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । राजनीतिमा भर्खरै पाइला टेकेका भए पनि उनको उम्मेदवारीले चितवन–२ प्रति धेरैको चासो बढाएको छ ।

स्थलगत रिपोर्टिङका क्रममा रातोपाटीको टिमले रवि लामिछानेलाई उनकै निर्वाचन क्षेत्र अन्तर्गत रामनगर चोकमा शुक्रबार बिहान भेट्यो । केहीबेर उनको घरदैलो कार्यक्रम नियालेर हामीले उनीसँग संक्षिप्त कुराकानीका लागि प्रस्ताव गर्‍यौँ ।

समर्थकले एकातिर डोर्‍याउन खोजिरहेको अवस्थामा उनले ‘छोटो कुराकानी गरौं न त’ भन्दै समय निकाले । देवघाट क्षेत्रमा घरदैलोकै क्रममा उनीसँग संक्षिप्त कुराकानी भयो । प्रस्तुत छ, रातोपाटीका लागि सुदर्शन आचार्य र गणेश दुलालले रवि लामिछानेसँग गरेको कुराकानीको सम्पादित अंश–

घरदैलो अभियानमा हुनुहुँदो रहेछ, कतिको उत्साहित हुनुहुन्छ ?

एकदम उत्साहित छु । सबै ठाउँमा पुगिरहेको छु । सबैले न्यानो स्वागत दिइरहनु भएको छ । माया गरिदिनु भएको छ । एकदम उत्साहित छु ।

पहिलो पटक संसदीय राजनीतिमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, तपाईं उम्मेदवार भएको क्षेत्रमा आम नागरिकको एजेण्डा के रहेछ ?

मैले यहाँ देखेको समस्या भनेको आधारभूत कुराहरू नै हो । हाम्रो देशैमा आम नागरिकहरुको माग नै केही छैन क्या ! जुन उसको आधारभूत अधिकार हो, त्यो माग बनिरहेको छ । आज बाटो बनाउने कुरा चुनावको मुद्दा बनिरहेको छ । अब उपाय नै छैन मान्छेमा । पानी, बत्ती, बाटो दिनुपर्ने छ । स्कुल राम्रो चाहिएको छ । रोजगारी चाहियो । जुन मान्छेको अधिकारको कुरा हो । त्यो बेसिक कुरा पनि हो । मान्छेको माग केही छैन । यही सामान्य कुरा दिने मान्छे नै महान् हुने देखिन्छ ।

तपाईं अहिले नयाँ दल स्थापना गरेर पहिलो पटक चुनावमा जाँदै हुनुहुन्छ । तपाईं यी आधारभूत कुरा दिन सक्नुहुन्छ त ?

सकिन्छ । विशेष गरी हामी सुशासनमा प्रतिबद्ध छौँ । सुशासनमा के छ भने जब स्वार्थ समूहबाट बाहिर हामी मात्र होइन, कुनै पनि दल आउँछ, जसलाई आफ्ना नेता तथा कार्यकर्ताहरू व्यवस्थापन गर्नु छैन । त्यति नगर्दा पनि सुशासनका लागि प्रतिबद्ध मान्छेले धेरै चिज गर्न सक्छ । अपेक्षा बढी छ स्वाभाविक रूपमा तर, डेलिभरी गर्न नसक्ने कुरा भने छैन ।

संसदमा पुग्नुभयो भने तपाईंंहरु पनि सरकार ढाल्ने र बनाउने खेलमा त लाग्नु हुन्छ होला नि ?

त्यो ढंगको होइन । हाम्रो उपस्थिति अलिकति जबरजस्त हुन्छ भन्ने मलाई विश्वास छ । मलाई त्यो ‘डर्टी प्राक्टिस’मा विश्वास छैन । किनकि त्यही डर्टी प्राक्टिसले आज यो अवस्था भएको छ । यो डर्टी प्राक्टिसको एउटा पार्ट बन्नु छैन हामीलाई । तर हाम्रो प्रस्तुति जबरजस्त हुन्छ ।

अहिलेको निर्वाचन पद्धतिले कुनै पनि दलको एकल बहुमत हुँदैन भनेर सबैजसोले स्वीकार गरेकै कुरा हो, त्यो अवस्थामा तपाईंंहरु संसदमा गए पनि भूमिका उही त हो, सरकार बनाउने वा ढाल्ने ! त्यो भन्दा के फरक होला र ?

धेरै चिजहरू छन् । धेरै चिजहरू गर्न सकिन्छ । प्रतिपक्षको भूमिका पनि एकदमै डिफाइन तरिकाले गर्न सकिन्छ । सरकारमै रहियो भने, आफैले नेतृत्व पाइयो भने पनि डेलिभरी गर्न सकिने अवस्था बन्छ । हामी यो बिग्रिएको एउटापात्र बन्न चाहदैनौँ । यतिकामध्ये अर्को एउटा हामी पनि थपिन आएका होइनौं ।

आफ्नै क्षेत्रमा तपाईंलाई चुनाव प्रचारमा भ्याइ–नभ्याई रहेछ, अन्य जिल्ला र क्षेत्रमा पनि तपाईंंको पार्टीका उम्मेदवार छन्, त्यता पनि जानै पर्ला, कसरी ‘टाइम म्यानेज’ गरिरहनु भएको छ ?

म सकेसम्म पुगिरहेको छु । सबैतिर दौडादौड गरिरहेको छु । म स्वभावले पनि अलि छिटो काम गर्ने भएकाले केही सहज भएको छ । पहिले पनि अलि छिटो काम गर्ने मेरो स्वभाव हो ।

चितवन–२ मा घरदैलो कति भ्याउनु भयो ?

घरदैलो गर्दैछु । धेरै ठाउँ त भ्याइसकेको त छैन । अब म आफ्नै निर्वाचन क्षेत्रमा फोकस छु । जहाँ जहाँ भ्याउँछु, सबै ठाउँमा पुग्छु । चुनावमा घरदैलौमा पुग्न नभ्याए पनि घरदैलोका समस्या मेरा समस्या हुन् । त्यसैले गर्दा चुनाव अगाडि म घरदैलोमा हात जोडेर नपुगौँला तर, चुनावपछि जिते पनि, हारे पनि घरघरको समस्या मेरो समस्या हो । त्यसैले म अर्को ढंगबाट अघि बढिरहेको छु । तर, पनि म भ्याएसम्म सबै घरदैलोमा पुग्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप