सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रुस र टर्कीबीच वार्ताको प्रयास भइरहेको छ : टर्कीस् राष्ट्रपति

आइतबार, २७ कात्तिक २०७९, १२ : ४३
आइतबार, २७ कात्तिक २०७९

टर्कीस् राष्ट्रपति रिसेप तैयब एर्डोगानले रुस र युक्रेनका बीचमा वार्ताको प्रयास भइरहेको जानकारी दिएका छन् । उनले टर्कीले दुई देशबीच शान्ति वार्ताको प्रयास जारी नै राखेको तर अमेरिकाले रुसको कडा विरोध गरेका कारण वार्ता सुरु हुन नसकेको बताएका हुन् ।

टर्कीस् राष्ट्रपति एर्डोगानले पछिल्लो समयमा अमेरिकाले रुसको अनावश्यक रुपमा विरोध गरेका कारण वार्ता सुरु हुन नसकेको आरोप समेत लगाएको समाचारमा जनाइएको छ । 
 
उज्बेकिस्तानबाट टर्की आउने क्रममा उनले सम्वाददाताहरुसँग यस्तो कुरा बताएका हुन् । टर्कीस् राष्ट्रपति एर्डोगानले टर्कीले रुस र युक्रेनका बीचमा शान्ति वार्ताको ढोका खोल्न खोजेकाले यस कार्यमा पश्चिमा देशहरूले पनि आवश्यक मात्रामा सहयोग गर्नुपर्ने बताएका हुन् ।

 उता युक्रेनले भने रुसी सेना फिर्ता गरेपछि मात्र रुससँग वार्ता गर्ने जनाएको छ । युक्रेनले पहिलेदेखि राख्दै आएको यो अडान गत हप्ता पनि दोहोर्याएको थियो ।  युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीका सल्लाहकार मिखाइलो पोदोलियाकले गत हप्तामात्र सो धारणा राखेको युक्रेनी मिडियाले जनाएका थिए । 
 
हाल रुसले युक्रेनमा एक प्रकारको युद्धविराम जस्तो गरेको र त्यो युद्धविरामको अवस्था उसले आफ्नो शक्ति थप सञ्चय गर्ने काममा पनि दुरुपयोग गर्न सक्ने धारणा युक्रेनको रहेको छ ।  युक्रेनले वार्ताका बारेमा भने केही बताएको छैन । युक्रेनको विषयलाई लिएर अहिले रुस र कुनै पनि पश्चिमा देशसँग छलफल र निर्णय नभएको पनि युक्रेनले केही दिन अघि स्पष्ट गरेको थियो ।
 
गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेको थियो । त्यसपछि मार्च २९ मा टर्कीको इस्तानबुल सहरमा रुस र युक्रेनकाबीचमा प्रत्यक्ष वार्ता भएको थियो ।  त्यसयता यी दुई देश बीचमा प्रत्यक्ष रुपमा वार्ता हुन सकेको छैन । त्यसैले आफ्नो मध्यस्थतामा यी दुई देशका बीचमा वार्ता गराउने प्रयासमा टर्की रहेको टर्कीस् राष्ट्रपति एर्डोगानले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप