सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘ब्लडमनी’ तिर्दा पनि छोराको मुख हेर्न पाइनँ,  केका लागि भोट दिने ?

मङ्गलबार, २९ कात्तिक २०७९, ०६ : १०
मङ्गलबार, २९ कात्तिक २०७९

यतिवेला देशमा चुनावी महासंग्राम छ । गाउँ सहरभरि नेताहरू मत मागिरहेका छन् । जनता नेताका एजेन्डा हेरिरहेका छन् । चुनावले कात्तिकको चिसोलाई गर्मागर्मी बनाइदिएको छ । तर, त्यही चुनावी सरगर्मीले ७३ वर्षीय गंगादेवी दाहाललाई छोएको छैन ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहा कालीखोलाकी ७३ वर्षीय दाहाल भन्छिन्, ‘जुन नेतालाई भोट दिए पनि के पाइँदो रहेछ र ? आपतविपतमा साथ नपाइँदो रहेछ ।’ दाहालले आक्रोश पोख्दै भनिन्, ‘हत्या अभियोगमा विगत १५ वर्षदेखि साउदी अरबको जेलमा रहेको ४० वर्षको (विवेक दाहाल) छोरा बचाउन सकिँन । राष्ट्रपति, परराष्ट्रमन्त्रीसम्मलाई छोरो बचाइदिन अनुरोध गर्दा पनि कसैले सुनेनन् । के को भोट दिनु?’

हत्या अभियोगमा उनका छोरालाई साउदी अरब स्थित जुबेल जेलमा गएको कात्तिक ६ गते मृत्युदण्ड दिएको थियो । छोरालाई मृत्युदण्ड दिएपछि आमालाई पनि चुनावमा नेताको मुख नै हेर्न मन छैन । आँखाभरि आँसु बनाउँदै भनिन्, ‘नेतालाई चुनावको वेला भोट चाहिने तर जनतालाई विपत् आइलाग्दा कसैको साथ नपाइने । किन, केका लागि भोट दिनु?’

उनका चार छोरा छन् । मृत्युदण्ड पाउने विवेक कान्छा छोरा हुन् । छोराको फोटो देखाउँदै आमाले भनिन्, ‘मेरो श्रीमान् (विवेका बुवा) को पनि छोरो भेट्ने आशामै तीन वर्षअघि मृत्यु भयो । कान्छो छोरो थियो । घर फर्काउन सकेनौँ । कोही नेताहरूले सहयोग गरेनन् ।’

उनका बाँकी रहेका तीन छोरा पनि छुट्टिएर अलग्गै बसिसकेका छन् । कान्छो छोरो आउने आशामा बसेकी दाहाल भन्छिन्, ‘ब्लडमनी तिर्दा पनि छोरोको मृत्युको प्रमाणपत्र पाइएको छैन । मृत्युदण्ड दिएको खबर मात्र आएको छ । शव पाउने त कुरै छाडौँ ।’ ​
मृतक दाहालका जेठा दाजु टेकबहादुर दाहालले बुवा पनि भाइसँग भेट्ने आशामै स्वर्गवास भएको बताए । उनले भने, ‘हामीले भाइलाई जीवितै नेपाल ल्याउने ठूलो कोसिस ग¥यौँ । १० लाखभन्दा बढी ब्लडमनी बुझायौँ  । तर, पनि ल्याउन सकेनौँ ।’

उनका अनुसार मृतक विवेक जीवितै नेपाल ल्याउन झन्डै १५ लाख बढी परिवारले खर्च गरेको थियो । उनले भने, ‘परराष्ट्रमन्त्री हाम्रै जिल्ला– क्षेत्रको भए पनि विवेकलाई जीवित ल्याउन सकेनौँ । खबरको भरमा काजकिरिया गर्नुप¥यो । मृत्युको प्रमाणपत्र कसरी पाउनु?’
दाहाललाई मृत्युदण्ड दिनुअघि परिवारलाई साउदीबाट जानकारी आएको उनले बताए । उनले भने, ‘शव भने नेपाल नपठाएर उतै गाडेको भन्ने खबर छ ।’  विवेक वैदेशिक रोजगारीको सिलसिलामा सन् २००६ मा साउदी अरब पुगेका थिए । मृतक विवेकलाई सन् २००७ मा आफ्नै साथी राजेन्द्र विष्टको हत्या र सुडानी नागरिकमाथि हत्या प्रयासको आरोप लागेको थियो ।

अदालतले विष्टको हत्या गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो । तल्लो अदालतको आदेशलाई क्रिमिनल कोर्ट हुँदै सर्वोच्च अदालतबाट पनि सदर भएको थियो । दाजु टेकबहादुरले भने, ‘जेलमा हुँदा भाइसँगको टेलिफोन कुराकानीमा भाइले हत्या नगरेको बताएका थिए ।
पानी बोक्ने ट्यांकरचालक मृतक विवेक दाहाल जुबेलस्थित भेडाचरण गोठको लागि पानी लिएर जाँदै गर्दा केही व्यक्ति र साथी विष्टबीच झगडा भइरहेको थियो रे’ दाजु दाहालले भने, ‘त्यो देखेपछि छुट्याउन गएको थियो भाइ । झगडा छुट्याउँदै गर्दा अरू भागेपछि विवेकमाथि उल्टै कुटपिटको आरोप लाग्यो ।’ 

उक्त घटनामा विष्टको मृत्यु भएपछि हत्या आरोपमा फसाएको दाजु टेकबहादुरको भनाइ छ । विवेक निर्दोष रहेको परिवारको भनाइ छ । झगडामा सामेल अरू सबै भागेपछि दोष विवेकमाथि थोपरिएको र मालिकले समेत सहयोग नगरेपछि हत्याको आरोप लागेको परिवारले बतायो ।  

मृतक परिवारलाई दाहाल परिवारले ब्लडमनीबापत झन्डै १० लाख रुपैयाँ दिएको थियो । सन् २०११ मा नेपाली दूतावासले जुबेलको अदालतमा आममाफी दिन निवेदन दिएको थियो ।
तर, सुडानी नागरिक उपचारपछि घर फर्किएकाले सम्पर्कविहीन भएपछि विष्ट परिवारबाट माफी भए पनि सुडानी नागरिकबाट माफी नभएकाले मृत्युदण्ड दिएको दाहाल परिवारको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप