आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महोत्तरी–३ : उम्मेदवारलाई मतदाता भेट्न भ्याइ नभ्याइ

मङ्गलबार, २९ कात्तिक २०७९, १० : ४१
मङ्गलबार, २९ कात्तिक २०७९

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतदान नजिकिँदैछ । जिल्ला सदरमुकाम जलेश्वर नगर क्षेत्रसमेत सम्मिलित महोत्तरी–३ प्रतिनिधिसभा क्षेत्रका उम्मेदवारलाई अहिले मतदाता भेट्न भ्याइनभ्याइ छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य हरिनारायण यादवसहित २१ प्रतिनिधिसभाका उम्मेदवार छन्। 

संयोग नै भन्नुपर्छ, ठाकुर, लाल र यादवले विगतमा नेपाली कांग्रेसबाट राजनीति प्रारम्भ गर्नुभएको थियो । तत्कालीन पञ्चायतकालमै कांग्रेसमा आवद्ध रही प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा लामो योगदान दिनुभएका यी तीनै नेता २०६२÷६३ को मधेस आन्दोलनपछि तत्कालीन तमलोपा र मधेसी जनअधिकार फोरममा आवद्ध हुनुभयो । ठाकुर र लाल तमलोपामा र यादव तत्कालीन फोरमबाट नयाँ राजनीति यात्रा सुरु गरेका थिए   । यादव विसं २०६४ को पहिलो संविधानसभामा जिल्लाको तत्कालीन क्षेत्र नं २ बाट निर्वाचित भएका थिए। २०७७ सालमा उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी पार्टी र तमलोपा एकीकरण हुँदा तीनैजना एउटै दलमा आवद्ध हुन पुगे । तर यो एकीकरण एक वर्ष नपुग्दै २०७८ मा पुनः विभाजन आएको थियो ।  २०७४ सालको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी र सङ्घीय समाजवादी पार्टी गठबन्धनमा चुनाव लड्दा लाल र यादव अध्यक्ष ठाकुरका सहयोगी थिए । अहिले तिनै पूर्वसहयोद्धा र सहयोगी अध्यक्ष ठाकुरका यसपटकका मुख्य प्रतिष्पर्धीमा उत्रिएका छन् ।

“उम्मेदवार त २१ जना हुनुहुन्छ, सबै जनताकै बीच देखिनुहुन्छ”, जलेश्वरवासी मनोज झा भन्छन्, “तर अहिलेसम्मको जनप्रतिक्रिया हेर्दा ठाकुर, यादव र लालको बढी चर्चा सुनिन्छ । ठाकुर यसअघि २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट निकटतम् तत्कालीन वाम गठबन्धनका प्रतिष्पर्धीभन्दा झण्डै तेब्बर मत बढी पाएर प्रतिनिधिसभामा विजयी भएका थिए । खासमा अहिलेको आसन्न  निर्वाचन परिणाम जसको पक्षमा आए पनि क्षेत्रको चर्चा भने ठाकुरको उम्मेदवारीले बढाएको कुरा सामान्यतया यहाँ सबैले स्वीकार्छन् ।

यसपालि दोस्रोपटक यो क्षेत्रबाट उम्मेदवार बन्नुभएका ठाकुरले २०७४ को निर्वाचनमा आफ्ना निकटका सहयोगी जसपा नेपालका केन्द्रीय सदस्य हरिनारायण यादवसँग कडा टक्कर लिनुपर्ने आकलन धेरैले गर्दछन् । २०७४ मा वाम गठबन्धनबाट एमालेका उम्मेदवारलाई करिब तेब्बर मतले पछि पार्दै विजयी हुनुभएका ठाकुर यसपालि भने आफ्ना यसअघिका सहयोगीसँगको प्रतिस्पर्धाले ढुक्क हुने स्थिति भने नरहेको कतिपयको अड्कल छ । ठाकुरका सहयोगी फेरिएका छन् ।  कांग्रेसले त २०७४ मा पनि उनको समर्थन गरेको थियो, त्यो यसपालि पनि सत्ता गठबन्धनमार्फत कायम छ । गठबन्धनमार्फत नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ठाकुरका नयाँ सहयोगी बनेका छन् ।

यसअघि २०७४ मा फराकिलो अन्तरको विजय, राष्ट्रिय व्यक्तित्व र सत्ता गठबन्धनका साथ ठाकुरको अहिलेको जितका लागि मुख्य आधार लोसपाका नेता–कार्यकर्ताले मान्दै आएका छन् । “उहाँ निष्कलङ्क छविका शीर्षनेता हुनुहुन्छ, जनताले साथ दिनेछन्”, मटिहानी–७ का चन्देश्वर साहले भने ।

निर्वाचन अभियानमा अहिले सघनरूपले मतदातासँगको भेटघाटमा रहेका ठाकुर पनि आपूmप्रति २०७४ भन्दा बढी जनताको स्नेह पाएको बताउछन्। “म, मेरो दल र हामी आवद्ध गठबन्धन निर्वाचन परिणामबारे संशयमा छैनौं, जितप्रति ढुक्क छौँ”, उनले भने “जनताको अपार समर्थन हामीसँग छ ।” महोत्तरीका जनताले संविधानको पुनर्लेखनको मुद्दा सम्बोधनका लागि पनि आपूmलाई साथ दिने ठाकुरको विश्वास छ ।

जसपाका केन्द्रीय सदस्य यादवलाई नेकपा एमालेको साथ छ ।  एमाले–जसपा गठबन्धनका उम्मेदवार यादव अहिले दिनरात नभनी जनसम्पर्कमा छन् । सञ्चारकर्मीसँगको कुराकानीमा यादवले आफ्नो दल र एमाले क्षेत्रका मुख्य जनआधार भएका पार्टी भएको हुँदा आसन्न निर्वाचनको परिणाम आफ्नो पक्षमा आउने दाबी गरे । उनी भनछन्, “अहिले जनताले लयबाट व्यक्त गर्दैछन्, हेर्नुहोला, मङ्सिर ४ गते मतबाट अभिव्यक्त हुनेछ ।”

यसैगरी तमलोपाका अध्यक्ष लाल पनि जनताको समर्थन पाइरहेको बताउछन् । क्षेत्रमा जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलका उम्मेदवार पनि सघनरूपले चुनावी अभियानमा जुटेका देखिन्छ । यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदमा दलका अतिरिक्त १० जना स्वतन्त्र उम्मेदवार छन् ।

क्षेत्रमा निर्वाचन प्रयोजनको सभा, सम्मेलन खुला प्रचार अभियानको अवधि केही दिनमात्र बाँकी छँदा चुनावी प्रचार उत्कर्षमा देखिँदो छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुरुप १७ कात्तिकदेखि मङ्सिर १ गतेसम्मको खुला प्रचार अवधि अब आजबाहेक दुई दिनमात्र बाँकी छँदा यहाँका बस्ती–बस्तीमा  दल र उम्मेदवारको सघन आउजाउ बढ्दो छ ।

क्षेत्रका बस्ती–बस्तीमा दल र उम्मेदवारका निर्वाचन चिह्नका प्रचार गीत र नाराका स्वर जताततै सुनिन्छन् ।  दल र उम्मेदवारले समूहमा घरदैलो र बस्ती–बस्तीमा कोणसभाका कार्यक्रम सम्पन्न गर्दैछन् । प्रतिनिधिसभा क्षेत्रभित्रका दुई प्रदेशसभा क्षेत्रमध्ये प्रदेशसभा (१) र (२) मा क्रमशः सत्ता गठबन्धनबाट लोसपाकै अभिराम शर्मा र रानी शर्मा तिवारी उम्मेदवार छन् ।  एमाले जसपा गठबन्धनबाट भने (१) बाट जसपाका दीपेन्द्र झा र (२) बाट एमालेका पोलिटब्यूरो सदस्य रामदयाल मण्डल उम्मेदवार छन् ।

प्रदेशसभा क्षेत्र (१) मा एक महिलासहित १२ उम्मेदवार छन् । जसमा आठ स्वतन्त्र हुन् । त्यसैगरी प्रदेशसभा क्षेत्र (२) मा २६ जना उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवारको सङ्ख्या १७ रहेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताए ।

यसपटक महोत्तरी–३ प्रतिनिधिसभा क्षेत्रमा ९९ हजार नौ सय ३० मतदाता कायम छन् । महोत्तरी–३ प्रतिनिधिसभा क्षेत्रभित्र ७८ मतदानस्थलमा एक सय २९ मतदान केन्द्र रहेका मुख्य निर्वाचन अधिकृत सेनले जानकारी दिए । अहिले सबै मतदान केन्द्रका लागि कर्मचारी  नियुक्ती गरी तालिम दिएर सम्बन्धित मतदान केन्द्र खटाइ पठाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप