आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कास्कीका यी मतदाता जो रवि र घण्टी चिन्छन्, उम्मेदवार चिन्दैनन्

बुधबार, ३० कात्तिक २०७९, ०६ : २४
बुधबार, ३० कात्तिक २०७९

असार ७ अघिसम्म सञ्चार कर्ममा रहेका रवि लामिछाने आसन्न प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट उम्मेदवार छन् । असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा भएपछि निर्वाचन आयोगमा असार १७ गते पार्टी दर्ता गरेका उनले लगत्तै देशभर पार्टी विस्तार अभियान थाले । मङ्सिर ४ गते हुने निर्वाचनमा उनको पार्टीले देशका विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ । 

कुनै बेला जनताका समस्यालाई मुद्दा बनाएर राजनीतिक दल र तिनका नेता, कार्यकर्तालाई प्रश्न सोध्ने रवि अब आफै काम गर्ने र उत्तर दिने ठाउँमा पुग्न चाहन्छन् । जनताका समस्या हल गर्न उनी आफै सांसद बन्ने होडमा छन् । 

वैकल्पिक शक्तिको रूपमा उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले मङ्सिर ४ गतेको निर्वाचनबाट कति सिट ल्याउँछ, त्यो हेर्न बाँकी छ । निर्वाचन हुनुअघि नै यसबारे अनेक आकलन भइरहेका छन् । तर, राजनीतिमा नयाँ अनुहार लिएर ठुला दलको विकल्प दिने भन्दै उदाएको यो पार्टीले आफ्ना उम्मेदवारलाई भने ब्रान्डिङ गर्न सकेको छैन । 

कास्कीका गाउँघर र बजार क्षेत्रका मतदाताले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न र पार्टी सभापति रवि लामिछाने चिने पनि आफ्नै क्षेत्रका उम्मेदवार चिनेको भेटिएन । उम्मेदवारको नाम सोधे मतदाता जिल्ल पर्छन् । तर, केही मतदाता खुलेरै ‘घण्टी’मा भोट दिने बताउँछन् । उम्मेदवारलाई भन्दा उनीहरूले रवि हेरेर भोट दिने सुनाए । 

गत हप्ता स्वतन्त्र पार्टीप्रति मतदाताको आकर्षण बुझ्न कास्कीका ३ वटै निर्वाचन क्षेत्र पुग्दा मतदाताले उम्मेदवार चिनेनन् बरु पार्टी सभापति रवि लामिछानेलाई चिनेको सुनाए । कास्की क्षेत्र नम्बर २ भलामका भरसिंह रसाइली यसपटक ठुला दलको विकल्प खोज्ने बताउँछन् । उनी भन्छन्, ‘यसपटक घण्टीमा भोट दिने हो । छोराछोरीले पनि रवि लामिछानेको पार्टीलाई भोट दिनुपर्छ भनेका छन् ।’

रसाइली जस्तै कास्कीका केही मतदाता पुराना दलसँग रुष्ट हुँदा यसको फाइदा रवि नेतृत्वको पार्टीलाई हुने बताइन्छ । रसाइलीले पुराना दल र नेताप्रति असन्तुष्टि प्रकट गर्दै नयाँ दललाई मत दिने निर्णय सुनाए । 

‘भोट हाल्न थालेदेखि धेरै नेतालाई जिताइयो । जितेर गएका नेता आफू बने, समाज बनाउन सकेनन् । विकासका भिजन दिन सकेनन्,’ ७६ वर्षीय रसाइली भन्छन्, ‘यसपटक रवि नेतृत्वको पार्टीलाई दिने हो । यो पार्टीले पनि केही गर्न सकेन भने अर्कोपल्टबाट भोट नै हाल्दिनँ ।’ 

तर, रसाइलीलाई यसपटक उनको मत कसले पाउँछ भन्ने थाहा छैन । उनी कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रत्यक्ष र समानुपातिकका दुवैतिरका उम्मेदवारलाई चिन्दैनन् । तैपनि उनले राष्ट्रिय पार्टीको विकल्प खोजी गरेका छन् ।

भलामकै कर्मा सुनारले पनि यस पटक घण्टीलाई मत दिने मनोभावना सुनाइन् । उनी भन्छिन्, ‘टेलिभिजनमा यस्तो राम्रो काम गर्नुभयो । अब एकपटक घण्टीमा भोट हाल्छु ।’

१५ मिनेट कुरा गर्दा उनले उम्मेदवारभन्दा रविकै गुणगान गाइन् । टेलिभिजनबाट राम्रो काम गरेको मान्छेले सरकार बनायो भने राम्रो काम हुने उनको आशा छ ।

कास्की निर्वाचन क्षेत्र नम्बर ३ लाहचोकका केही मतदाताले पनि यसपटक घण्टीमा भोट हाल्ने बताए । उनीहरूको रोजाइको कारण पनि उही हो रवि लामिछानेको नेतृत्व । स्थानीय युवराज अधिकारी र घनश्याम अधिकारी यो पटक पुराना दलको विकल्प खोज्ने सुनाउँछन् । उनीहरूले रवि लामिछानेको पार्टीको घण्टी चिह्नमा भोट दिने सङ्केत गरे । पुराना दलले पुरानै एजेन्डा पूरा नगरेकाले नयाँ आशा गर्नु बेकार रहेको उनीहरू बताउँछन् ।

उनीहरूको एउटै स्वर छ, ‘यो पटक झुटा आश्वासन दिनुभन्दा इमानदार भएर काम गर्ने नेतृत्वलाई भोट दिने इच्छा छ ।’

कास्की–१ का केही मतदाता पनि स्वतन्त्र पार्टीलाई मत दिने बताउँछन् । कास्की क्षेत्र नम्बर १ बेगनासका विक्रम राईले यसपटक रविलाई नै भोट दिने सुनाए ।

कास्कीबाट प्रत्यक्ष ३, समानुपातिकमा ५ उम्मेदवार 

कास्कीका ३ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छन् । कास्की क्षेत्र नम्बर १ मा राजु राई, क्षेत्र नम्बर २ मा माधवप्रसाद कँडेल र क्षेत्र नम्बर नम्बर ३ मा योगराज पौडेल चुनावी मैदानमा छन् ।

उनीहरू तीनै जना राजनीतिमा नयाँ अनुहार हुन् । प्रतिनिधिसभामा कास्कीबाट समानुपातिकतर्फ स्वतन्त्र पार्टीका ५ उम्मेदवार छन् । पार्टीले डा ढाकाकुमार श्रेष्ठ, विष्णु गुरुङ ‘एकता’, समिउन निशा, शिव नेपाली र राममाया बस्ताकोटीलाई समानुपातिकमा राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप