आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देही–३ ग्राउन्ड जिरो : बालकृष्ण र दीपकलाई पछ्याउँदा जे देखियो

बुधबार, ३० कात्तिक २०७९, १२ : २०
बुधबार, ३० कात्तिक २०७९

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरू चुनावी प्रचार–प्रसारको अन्तिम समयमा पुगेका छन् । रातोपाटीले सोमबार रुपन्देही–३ मा कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार बालकृष्ण खाँण र राप्रपाका दीपक बोहरालाई पछ्यायो ।

हामी सुरुमा ६ दलीय गठबन्धनका साझा उम्मेदवार गृहमन्त्री खाँणको चुनावसभाको खोजीमा लाग्यौँ । रुपन्देहीको फर्साटिकट खेलमैदानमा आयोजित चुनावीसभामा पुग्दा दिउँसो २ बजिसकेको थियो ।

६ दलीय गठबन्धनका कात्तिक २८ को दोस्रो चुनावी सभामा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपा, जनमोर्चा र राष्ट्रिय जनमुक्ति पार्टीका साझा उम्मेदवार खाँणसहितका नेता मञ्चमा आसीन थिए ।

हामी पुग्दा कार्यक्रम भरखरै सुरु भएको देखिन्थ्यो । कार्यक्रम सञ्चालकले स्वागत मन्तव्यको सेसन सकेर कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको तस्बिरमा माल्यार्पण सुरु भयो ।

खाँणले बीपीको तस्बिरमा फूलमाला लगाए र कार्यक्रम अगाडि बढ्यो । नेताहरूको भाषण सुरु भयो । माओवादी नेतृ सोनिया यादव र कांग्रेसका प्रदेशसभा उम्मेदवार रामचन्द्र ढकालले मोतीपुर औद्योगिक क्षेत्रको करिडोर विस्तारको विषय उठाए । त्यसपछि भाषण गर्ने पालो खाँणको आयो । उनले करिब २० मिनेट भाषण गरे ।

खाँणको भाषणको केन्द्रमा गठबन्धनको औचित्य, रुपन्देही–३ को विकास र प्रमुख प्रतिद्वन्द्वी दीपक बोहराको स्वास्थ्य समस्या रह्यो । गठबन्धनले बहुमत ल्याउने र आगामी सरकार पनि गठबन्धनकै बन्ने उनको भनाइ थियो ।

साथै उनले तिनाउ नदीमा पुल, फर्साटिकटमा खानेपानी, सिँचाइको प्रबन्ध गरेको सुनाए । त्यसपछि खाँणले बोल्ने मन छैन भन्दै बोहराको स्वास्थ्यमाथि टिप्पणी गरे । यहाँको नागरिकको सेवा गर्नका लागि बोल्न सक्ने सांसद चाहिने भन्दै बोहराभन्दा आफू योग्य रहेको खाँणले दलिल राखे ।

‘यहाँका समस्या सरकारलाई सुनाउन पहिले त बोल्न सक्नुपर्छ । नागरिकका समस्या समाधानका लागि सहजीकरण गर्न पनि बोल्नै पर्छ,’ खाँणले भने । उनी यतिमै रोकिएनन् । बोहराले रुपन्देहीको विकासका लागि प्रधानमन्त्रीलाई ब्रिफिङ गर्न र संसद्मा आवाज उठाउन सक्ने अवस्था नरहेको खाँणको दाबी थियो ।

उनले भने, ‘बोल्न सक्ने मान्छेलाई जिताउँदा मात्र यहाँको विकास हुन्छ । यसमा तपाई (मतदाता)हरू सोचेर मतदान गर्नु हुन्छ भन्ने विश्वास छ ।’

त्यति भन्दै उनले भाषण सके । त्यसपछि गृहमन्त्री खाँण बुटवल उपमहानगरपालिका–१५ सेमलारको चुनावी सभातिर लागे । हामी पनि उनलाई पछ्याउँदै सेमलारमा पुग्यौँ । सेमलारको चुनावीसभामा राम्रै भिड थियो । यहाँ पनि खाँणले पुरानै भाषण दोहोर्‍याए ।

त्यसपछि हामी एमाले–जसपाका साझा उम्मेदवार राप्रपाका उम्मेदवार दीपक बोहरालाई पछ्याउन भैरहवातिर लाग्यौँ । बोहरा एमाले सिद्वार्थनगर नगर कमिटीद्वारा भैरहवाको महेद्रसभागृहमा आयोजित कार्यकर्ता भेलामा थिए । हामी सो कार्यक्रममा पुग्दा रातको ८ बजिसकेको थियो । चुनावी चटारोमा रहेका नेताहरूलाई रातको प्रवाह थिएन ।

हामी सभाहलमा छिर्दा राप्रपाका नेता तथा पूर्व गृहमन्त्री निरञ्जन थापा भाषण गरिरहेका थिए । एमाले, जसपा र राप्रपाको तालमेललाई उनले राष्ट्रवादी शक्तिको गठजोडका रूपमा व्याख्या गरे ।

खाँटी राष्ट्रवादी नेताका भन्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेर एमालेजनको मन जित्ने प्रयत्न गरिरहेका थिए ।

उनको भाषणको केन्द्रमा भने उम्मेदवार बोहरा नै थिए । भाषणको धेरै समय उनले बोहराले रुपन्देही–३ मा गरेको विकासको विस्तारपूर्वक चर्चा गरे । त्यसपछि  उनी बोहराका प्रतिद्वन्द्वी खाँणको अभिव्यक्तिको प्रतिवादमा उत्रिए । कुनै एजेण्डा नपाएर खाँणले बोहराको स्वास्थ्यमाथि टिप्पणी गरेकोमा उनी केही आक्रोशित बने । उनले भने, ‘विपक्षले दीपक बोहराजी बोल्न सक्दैनन् भनेर भोट मागिरहेका छन् । २०–३० दिन नबोल्नु भयो भने घाँटी ठिक हुन्छ । दीपक बोहराले संसद्मा गएर बोल्नु हुन्छ ।’

रुपन्देही–३ मा राप्रपाले चुनाव जित्नेमा विश्वस्त देखिएका थापाले बोहरा मन्त्री बन्ने भविष्यवाणी पनि गरे । उनले भने, ‘मन्त्रीलाई हराउने मान्छे मन्त्री हुन्छ हुन्छ ।’

त्यतिभन्दै उनले आफ्नो भाषण टुङ्ग्याए । त्यसपछि कार्यक्रम सञ्चालक नारायणप्रसाद भण्डारीले पनि खाँणमाथि प्रश्न उठाए । एमाले नगर सचिवले भने, ‘कांग्रेसका सभापति शेरबहादुर देउवाको घाँटी कहिले सञ्चो हुन्छ ?’

नेताहरूको भाषणको बीच–बीचमा कलाकारलाई पनि स्थान दिइएको थियो । सोही क्रममा कलाकार नरेन्द्र भण्डारी कलाकार  र गंगा घिमिरेबाट दीपक बोहरा केन्द्रित गीत  हलमा गुञ्जियो । उनीहरूको गीतले ताली र हुटिङ पनि राम्रै पायो । त्यसपछि एमाले लुम्बिनी प्रदेश सहइन्चार्ज तथा पोलिटब्युरो सदस्य खिमलाल भट्टराईको बोल्ने पालो आयो । करिब २० मिनेट भाषण गरेका भट्टराईले अधिकांश समय ओलीको प्रशंसामा खर्चिए ।

संविधान बनाउने अडान र कार्यान्वयन गर्ने ओलीको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । रुपन्देही–५ का भट्टराईले बोहरालाई भोट माग्नेभन्दा पनि ओलीको बयानमा केन्द्रित देखिन्थे । घुमिफेरी उनको भाषणको केन्द्रमा ओली नै हुन्थे । ‘केपी ओलीलाई प्रधानमन्त्री बनाउन बोहराले जित्नुपर्छ । राप्रपा र जसपा हामी सँगसँगै छौं । एमालेले मन खुम्च्याउनु पर्ने कुनै कारण छैन । राजेन्द्र लिङ्देन र दीपक बोहराले केपी ओलीलाई प्रधानमन्त्री बनाउने भन्नु भएको छ ।’

राप्रपाले पनि ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको भट्टराईको दाबी थियो । अन्त्यमा भने दीपक बोहरा भैरहवाको धर्तीपुत्र भएको भन्दै उनले प्रशंसा गरे ।

‘उहाँ सक्रिय र गतिशील नौजवान हुनुहुन्छ । उहाँको घाँटी एक महिनामा ठिक हुन्छ । उहाँ संसद्मा बोल्नु हुन्छ । आज हामी बोलिदिन्छौँ,’ भट्टराई भन्छन् । उनले यसो भनिरहँदा उम्मेदवार बोहरा मुस्कुराइरहेका थिए ।

पोस्ट कोभिडले ‘भ्वाइस रेस्ट’मा रहेका बोहराले हातको इसारामा मात्र सन्देश प्रवाह गरिरहेको पाइयो । बोहराको हातको इशारामा चुनावी प्रचार प्रसार चलेको छ । उनको योजना र भिजन के हो भन्ने कुरा सुन्न रुपन्देही–३ का मतदाता वञ्चित छन् ।

हामी करिब दुई घण्टा कार्यक्रममा बस्दा बोहराले तालीमात्र बजाए । मञ्चमा आफ्नो वरिपरि बसेकासँग पनि उनले संवाद गर्न सकेको देखिएन । कार्यक्रम हलबाट बाहिरिँदा पनि सेल्फी खिच्नेहरूसँग उनी मुस्कुराई मात्र रहे । उनको आवाज निस्किएन । हामीले त्यसपछि बोहराको स्वास्थ्य समस्या जान्न चाह्यौँ । त्यसका लागि राप्रपा केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नम्बर ३ को  निर्वाचन परिचालन समिति संयोजक स्वति थापासँग कार्यक्रम हलबाहिर जिज्ञासा राख्यौँ ।

पोस्ट कोभिडका कारण स्पिच थेरापी गरिरहेकाले डाक्टरको सुझाव अनुसार बोहराले बोल्न नमिलेको थापाले जवाफ दिइन् । बोहराकी छोरी समेत रहेकी उनले भनिन्, ‘अरू कुनै प्रकारको रोग छैन ।  हामीले  काठमाडौँ, दिल्लीमा चेक गराउँदा उहाँमा अरू कुनै समस्या छैन ।’

बोहराले बिहानदेखि रातिसम्म पूर्ण रूपमा निर्वाचन प्रचार परिचालन गरिराखेको उनले सुनाइन् । ‘उहाँलाई अझै एक दुई महिना लाग्ला । बिस्तारै सुधार हुँदैछ,’ उनी भन्छिन् ।

स्वती थापासँगको कुराकानीपछि हामी रुपन्देही क्याम्पस नजिकै रहेको गृहमन्त्री खाँण बसेको घरमा पुग्यौँ । चुनावीसभामा गृहमन्त्री खाँणसँग अन्तर्वार्ताका लागि समय नमिलेपछि हामी उनी बसेकै ठाउँमा पुग्यौँ ।

हामी त्यहाँ पुग्दा गृहमन्त्री खाँणका निजी स्वकीय सचिव नरेन्द्र केसी कांग्रेसको सदस्यतामा पार्टी प्रवेश गर्नेको विवरण भर्दै थिए । यसैबीचमा खाँण घरभित्रबाट प्राङ्गणमा आइपुगे । प्राङ्गणमा पार्टी प्रवेश गर्न आएको भिड थियो । सदस्यतापत्रमा लेखिएको नाम एक जनाले वाचन गरिरहे । क्रमशः पार्टी प्रवेश गर्न आएकाहरू खाँणको नजिक पुगे । खाँणले खादा र प्रमाणपत्र वितरण गरेर नवप्रवेशीलाई स्वागत गरिरहे । बेलाबेला रोकिँदै सोमबार राति ११ बजेसम्म पनि त्यहाँ पार्टी प्रवेश चलिरहेको थियो ।

खाँणको सचिवालयका अनुसार यस्तो पार्टी प्रवेश ७–८ दिनदेखि जारी छ । यो मङ्सिर ३ गतेसम्म चलिरहने खाँणको सचिवालयले बतायो ।

रुपन्देहीका अन्य क्षेत्रमा पनि यस्तो खालको पार्टी प्रवेश चलिरहेको देखिन्छ । पार्टी प्रवेश कार्यक्रम रोकेर बीच–बीचमा खाँणले भेटघाट पनि गरिहरेका हुन्थे । करिब ३ घण्टाको पर्खाइपछि अन्तर्वार्ताका लागि खाँणले समय दिए । दिनभरको दौडधुपले थकित देखिएका खाँणसँग हामीले संक्षिप्त कुराकानी गह्यौँ ।

कुराकानीका क्रममा उनले भने, ‘चुनावमा यति दुःख कहिल्यै गरेको थिइनँ । यस पटक दैनिकजसो १८ घण्टा चुनावी प्रचारमा छु । राम्रै मतान्तरले चुनाव जित्छु भन्ने लागेको छ ।’

रातिको १२ बज्नै लाग्दा हामीले खाँण र बोहराका चुनावी गतिविधिबाट बिट मार्‍यौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप