आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जुम्लामा छैनन् अपाङ्ग मैत्री मतदान स्थल

बिहीबार, ०१ मङ्सिर २०७९, ०७ : ५३
बिहीबार, ०१ मङ्सिर २०७९

जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ७ खलढुङ्गाका सूर्य अधिकारी ह्वीलचियरमा आवतजावत गर्ने अपाङ्गता भएका व्यक्ति हुन् । यस्तै चन्दननाथ नगरपालिका वडा नम्बर ५ कालेखोलीका मोहन शाही र विष्णुमाया श्रेष्ठ पनि ह्वीलचियरमा आवतजावत गर्ने व्यक्ति हुन् । उनीहरू जस्तै मतदाता नामावली भएका अपाङ्गता व्यक्तिहरू धेरै छन् । तर आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि अपांगमैत्री मतदान स्थल छैनन् ।

यता चन्दननाथ नगरपालिका नम्बर ७ खलाचौरका हरिचन्द्र रावल पनि ह्वीलचियरमा आवतजावत गर्ने अपाङ्गता भएका व्यक्ति हुन् । जुम्लामा  मतदाता नामावली भएका करिब ३ हजार अपाङ्गता भएका व्यक्तिहरू छन् । उनीहरूलाई मताधिकारको अधिकार छ, तर सहज रुपमा मतदान गर्नका लागि अपाङ्गमैत्री मतदान स्थल छैनन् । 

अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा मतदान गर्नका लागि अपाङ्गमैत्री मतदान स्थल हुनुपर्ने सरकारको नीति नियम छ । निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी प्राप्त गरेका सरकारी निकायले अपाङ्गमैत्री मतदान स्थल बनाउन प्रयास नगरेको अपाङ्गता भएका व्यक्ति सूर्य अधिकारीले गुनासो गरेका छन्  । 

कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्ला भौगोलिक रुपमा विकट भए पनि समथर भएका स्थानमा अपाङ्गमैत्री मतदानस्थल बनाउन सकिने भएप नि  राज्यका सरोकारवाला निकायको इच्छा शक्ति नभएको अपाङ्ग पुर्नस्थापना तथा विकास केन्द्र जुम्लाका अध्यक्ष रामकृष्ण न्यौपानले बताए । उनले भने -'यो विषयमा हाम्रो घोर आपत्ति छ । हामी राज्यको ध्यानाकर्षण गराउदछौँ ।'

जिल्ला निर्वाचन कार्यालय जुम्लाका सूचना अधिकारी अभिनन्द चौलागाईंका अनुसार जुम्लामा ८३ मतदान स्थल र १ सय ६ मतदान केन्द्र छन् । सबै मतदान स्थल अपाङ्गमैत्री नभएको उनले जनाए । उनका अनुसार भौगोलिक रुपमा नै कठिन भएकाले अपाङ्गमैत्री मतदान स्थल नभएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप