आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा मतदाता शिक्षा प्रभावकारी नभएको गुनासो

बिहीबार, ०१ मङ्सिर २०७९, १० : २०
बिहीबार, ०१ मङ्सिर २०७९

कपिलवस्तुमा मतदाता शिक्षा प्रभावकारी नभएको जनगुनासो आएको छ । मतदाता शिक्षाका लागि कोही पनि गाउँ नपुगेको भन्दै स्थानीयले गुनासो गर्ने गरेका छन् । निर्वाचन आइसक्न लाग्दा मतदाताले यस्तो गुनासो गरेका हुन् ।

निर्वाचन आयोगले चुनावको मुखैमा मात्र मतदाता शिक्षा कार्यक्रम लागू गर्दा जनता मतदाता शिक्षाबाट वञ्चित हुनुपरेको बाणगंगा नगरपालिका– ८ का स्थानीय दामोदर बन्जाडेको गुनासो गरे । जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले कार्तिक १८ गतेदेखि मंसिर १ गतेसम्म सम्बन्धित स्थानीय तहमा समन्वय व्यक्ति तोकेर मतदाता शिक्षाका लागि समन्वय गरेको बताए पनि गाउँघरमा भने कोही पुगेका छैनन् ।

बन्जाडेले भने, ‘जिल्लाकै कम मत बदर हुने स्थानीय तहको रुपमा रहेको बाणगंगामा अधिकांशलाई मत हाल्ने तरिका थाहा छैन, स्वास्थ्य स्वयंसेविकाहरू मतदाता शिक्षा दिन आउने कुरा थियो, तर अहिलेसम्म कोही पनि आएका छैनन् ।’ निर्वाचन हुनुपूर्व मतदान गर्न नसिकी सीधा मतदान गर्न जाँदा मत बदर हुने सम्भावना धेरै हुने गरेको उनको भनाइ छ । अर्का स्थानीय कमला पाण्डेले भनिन्, ‘अरु चुनावमा घरघरमै भोट हाल्न सिकाउन आउँथे यसपटक मेरो घरमा कोही पनि आएको छैन ।’ आफ्नो टोलमा समेत कोही नआएको उनको भनाइ छ ।

मतदाता शिक्षाको उद्देश्य नै कमभन्दा कम मत बदर होस् भन्ने रहेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख राजीव पन्थीले बताए । जिल्लाभरका ९६ वडामा प्रत्येक वडाअनुसार एक वडा एक मतदाता शिक्षा स्वयंसेविकाका तवरले कर्मचारी खटाइएको पन्थीको भनाइ छ ।

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्व र वडातहमा वडा सचिवको संयोजकत्वमा तीन सदस्यीय समिति बनाई मतदाता शिक्षा संचालन गर्ने व्यवस्था रहेको छ । मतदाता शिक्षा प्रभावकारी नभएकै कारण यहाँ प्रत्येक निर्वाचनमा धेरै मत बदर हुने गरेको छ । जिल्लामा मतदाता शिक्षा प्रभावकारी नहुँदा प्रत्येक निर्वाचनमा मतदाताले आफ्नो मत आफैँ हाल्न नपाउने र सामान्य व्यक्तिले समेत ‘वारेस मत’ हाल्न लगाउने गरेको सरोकारवालाको भनाइ छ ।

निर्वाचन कार्यालयले सम्पूर्ण तयारी सकिएको बताए पनि धेरै मतदातामा यसपालि मतदान कसरी गर्ने अन्योल भने कायमै छ । गठबन्धनका उम्मेद्वार उठेका क्षेत्रमा झनै अन्योल छ । राजनीतिक दल र उम्मेद्वारहरू चुनावी प्रचार प्रसार हिडेपनि मतदातालाई कसरी भोट दिने भनेर प्रभावकारी रुपमा सिकाउन सकेका छैनन् ।

यता निर्वाचन आयोगले भने विभिन्न सञ्चार माध्यमबाट मतदाता शिक्षालाई प्रभावकारी बनाएको दाबी गरेको छ । यसपाली घरदैलो कार्यक्रम स्थगित गरेको आयोगले सञ्चार माध्यम, विभिन्न सामाजिक सञ्जाल, अनलाइन र मोबाइल रिङ टोन मार्फत मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भएको दाबी छ ।

यता मतपत्रको आकार र उम्मेदवारको संख्याका कारण यसपालिको प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मत बदर हुने प्रतिशत बढ्ने अनुमान छ । कपिलवस्तुमा स्थानीय तहको निर्वाचन २०७९ मा करिब ५ प्रतिशत रहेको छ । 

यस्तै समानुपातिक तर्फ सबैभन्दा धेरै मत भएको देखिएको छ । तीन निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा एकतर्फ १५ हजार ४ मत, दुईतर्फ १५ हजार ११५ मत र तीनतर्फ १७ हजार ५९२ मत बदर रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप