आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

झापा-३ मा लिङ्देनलाई सिटौलाको चुनौती

बिहीबार, ०१ मङ्सिर २०७९, ११ : ३९
बिहीबार, ०१ मङ्सिर २०७९

झापा ३ बाट निर्वाचित भएका लिङ्देन सोही क्षेत्रमा यसपटक दोस्रो जितको खोजीमा छन् । झापा–३ मा सत्तारुढ गठबन्धनबा कांग्रेसका कृष्णप्रसाद सिटौलाको उम्मेदवारी परेको छ । यो क्षेत्रमा सिटौला र राप्रपा अध्यक्ष लिङ्देनबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । लिङ्देनलाई एमालेको समर्थन छ । एमालेको समर्थन, स्थानीय तहको मतपरिणाम र चुनावी प्रचारमा देखिएको मतदाताको उत्साहले लिङ्देनको जितलाई सुनिश्चित गरेको राप्रपाको दाबी छ । 

लिङ्देनसँग २०७४ सालको निर्वाचनको बदला लिने उद्देश्यसहित कृष्णप्रसाद सिटौला चुनावी मैदानमा उत्रिएका छन् । तर, ६ महिनाअघि मात्र भएको स्थानीय तह निर्वाचनको परिणामलाई हेर्ने हो भने सत्तारुढ गठबन्धन ९ हजार ५८ मतले पछि छ । अझ स्थानीय तहको निर्वाचनमा कचनकवलमा एमाले र कांग्रेसबीच तालमेल भएको थियो। जहाँ ६ वटा वडामा कांग्रेस विजयी भएको थियो । तर, अहिले एमालेले राप्रपालाई सहयोग गर्नेछ । 

स्थानीय तहको मतपरिणामलाई आधारमा मान्दा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले २५ हजार ९४९ मत पाएका थिए । दोस्रोमा राप्रपाका वडा अध्यक्षले २१ हजार १५९,  तेस्रोमा एमालेको २१ हजार ८५ मत, चौथोमा माओवादी केन्द्रको ६ हजार ६८८ मत, पाँचौँमा जसपाको ५३७ मत, छैटौँमा लोसपाको २०८ मत र एकीकृत समाजवादीको १२ मत छ ।

यसरी हेर्दा एमाले र राप्रपाको मत जोड्दा ४२ हजार २४४ हुन्छ भने सत्तारूढ गठबन्धनको ३३ हजार १८६ मत देखिन्छ । स्थानीय तह निर्वाचनमा कांग्रेसलाई सघाएको एमालेले अहिले राप्रपालाई समर्थन गरेको छ । 

यता लिङ्देनलाई पराजित गरेर बदला लिन दाउमा छन् सिटौला पनि । उनी पनि यसपटक लिङ्देन पराजित हुने दाबी गर्दै आएका छन् ।

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप