ट्विटरका सबै कार्यालय बन्द
ट्विटरले तत्कालै कार्यान्वयनमा आउने गरी केही समयका लागि आफ्ना कार्यालय बन्द गर्ने जानकारी कर्मचारीलाई दिएका छन् ।
बीबीसीले ट्वीटरबाट पठाएको यो सन्देश हेरेको बताएको छ जसमा २१ नोभेम्बरबाट कार्यालयहरू पुनः खोल्ने जानकारी दिइएको छ ।
यद्यपी कम्पनीले किन यस्तो कदम चालेको हो भन्ने अहिलेसम्म खुलाएको छैन ।
तर यो सूचना ती खबरबीच आएको हो जसमा ट्विटरका थुप्रै कर्मचारीले जागिर छोड्ने तयारी गरिरहेका छन् ।
ट्विटरका कर्मचारीहरूले यस्तो निर्णय एलन मस्कको इमेल सन्देशपछि लिइरहेका छन् जसमा कर्मचारीहरूलाई कि त लामो समयसम्म कडा परिश्रम गर्न वा जागिर छोड्न भनिएको थियो ।
यो सन्देशमा यस्तो पनि लेखिएको छ – कृपया कम्पनीको नीति पालना गर्दै सोसल मिडिया, मिडिया वा कोही अन्यसँग कम्पनीको गोप्य जानकारीबारे कुराकानी गर्नबाट बच्नुहोस् ।’
बीबीसीले यस विषयमा ट्विटरसँग टिप्पणी मागेको तर ट्विटरले यो अनुरोध स्वीकार नगरेको जानकारी दिएको छ ।
एलन मस्कले यस हप्ता ट्विटरका कर्मचारीहरूलाई उनीहरूले लामो समयसम्म कडा परिश्रम गर्न वा कम्पनी छाड्न प्रतिबद्ध हुनुपर्ने बताए ।
वासिङ्टन पोस्टले पनि यस विषयमा प्रकाशित समाचारमा ट्वीटरले आफ्ना कर्मचारीहरूलाई कडा परिश्रम गर्ने संकल्प लिन आदेश दिएको जानकारी दिएको छ ।
यो प्रतिवद्धता लिनेले कम्पनीमा काम जारी राख्न सक्नेछन् र त्यसो नगर्नेले तीन महिनाको सेभरेन्स प्याकेज लिएर जागिर छोड्नुपर्नेछ ।
कम्पनीले यस महिनाको सुरुमा पनि आफ्ना ५० प्रतिशत कर्मचारीलाई हटाउने बताएको थियो ।
ट्वीटरको अफिस बन्द भएको खबर आउनुअघि धेरै ट्विटरका कर्मचारीले जागिर छोडेको खबर आएको छ ।
ट्विटरका कर्मचारीहरूले सामाजिक सञ्जालमा के लेखिरहेका छन् ?
आफ्नो जागिरबाट राजीनामा दिएका ट्विटरका कर्मचारीहरूले #LoveWhereYouWorked ह्यासट्यागको साथ ट्वीट गर्दैछन् । साथै, सलाम गरेको इमोजी पनि राखिरहेका छन् ।
ट्विटरका एक पूर्व कर्मचारीले नाम नछाप्ने शर्तमा बीबीसीलाई भने, ‘मलाई लाग्छ यो गडबडी समाप्त हुँदासम्म ट्विटरमा २,००० भन्दा कम कर्मचारीहरू मात्रै बाँकी हुनेछन् ।’
कर्मचारीले बीबीसीलाई भने, ‘हाम्रो टिमका म्यानेजर र उनका म्यानेजरलाई पनि बर्खास्त गरिएको छ । त्यसैले पूरा टोली नै गायब भएको छ ।’
एलन मस्कले ट्विटरलाई आफ्नो नियन्त्रणमा लिँदा कम्पनीमा आठ हजार कर्मचारी थिए ।
How do you make a small fortune in social media?
— Elon Musk (@elonmusk) November 18, 2022
Start out with a large one.
कम्पनीमा हजारौंले करारमा काम गर्थे । उनीहरुमध्ये अधिकांशलाई जागिरबाट निकालिएको छ ।
अर्का एक पूर्व कर्मचारीले आफ्नो मर्जीले कम्पनी छोडिदिएको बताए ।
उनले भने, ‘म एक यस्ता व्यक्तिका लागि काम गर्न चाहन्नँ जसले हामीलाई इमेलमा धम्काउँछन् । जहाँसम्म कामको कुरा छ, म पहिला पनि ६०–७० घण्टा काम गरिरहेको नै थिएँ ।’
एलन मस्क यतिबेला विश्वका सर्वाधिक धनी व्यक्ति हुन् ।
अघिल्लो महिना ट्विटर किनेपछि उनी कम्पनीका सिइओ बनेका थिए । उनले ४४ बिलियन डलरमा कम्पनी खरिद गरेका थिए ।