सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

निबन्ध : धमिराको गुँडमा छिचिमिराको साम्राज्य

शनिबार, ०३ मङ्सिर २०७९, ०६ : २६
शनिबार, ०३ मङ्सिर २०७९

धमिराबाट छिचिमिरा बनेकाहरूले २४ घण्टाको जीवनचक्र पुरा गरेर भुइँमा झरे । पहिला हिँड्नमा नै रमाएका छिचिमिराहरू उड्ने लोभमा परेर जीवनलाई आहुति दिने तरखर गरिरहेका छन् । प्वाँख पलाएपछि के के न हुन्छ भन्ने छिचिमिराहरू अहिले प्वाँख झरेपछि न हिँड्न सक्छन्, न त उड्न नै । यो सम्भाव्य मृत्युको आह्वान र चित्कार पनि हो । 

माटोको गहिराइमा बसेर सौन्दर्यताले भरिपूर्ण दरबार बनाउँछ धमिराले । लाखौँ कोठाहरू हुन्छन् उसको दरबारमा कलात्मकताले भरिएका । दर्जा अनुसारको सजावट र खानपानको व्यवस्था हुन्छ । रानी धमिराका लागि छुट्टै सुसारे र अन्य सेवकहरूको दर्जा निर्धारण गरिएको छ । भाइ भारद्वाजमा पनि यो नियम छँदैछ । सबैले आफ्नो दर्जाको ख्याल र कर्तव्यको परिपालन गर्ने कानुन छ धमिराहरूमा ।

वर्षात्को समयपूर्व सौम्य रहेको धमिराको देवलमा माटो खाएर माटोकै पर्खाल बनाउने परम्परा हुन्छ । देख्दा सानो देखिने यो धमिराले हजारौँ किलो माटोको १० औँ मिटर अग्लो देवल बनाउन सक्छ । यो एउटा परम्परा हो, सृष्टि सिर्जना कालदेखिको । थाहा छैन कसैलाई पनि यो आफ्नो देवललाई माटोभित्र दुई भाग र बाहिर एक भाग किन बनाउँछ ? बाहिरको संरचनाभन्दा भित्रको किन ठुलो चाहिन्छ ? बाहिरको भाग बनाउँदा सूर्यको पाटोलाई प्राथमिकतामा किन राख्छ ? आफ्नो गुडँमा प्रयोग गरेको चिसो सुकाउन वा देवललाई बलियो पार्न । यो एउटा खोजको विषय छ, प्राणी जगत र वैज्ञानिकहरूका लागि ।

देवलको आकार निर्माण गर्दा पूर्व पश्चिम फैलाएर देवलको निर्माण गर्छ । घामको ताप दक्षिणमा पर्ने भएका कारण ओस नलागोस् भनेर उसले विज्ञानको प्रयोग गरेको हुन सक्छ । सधैँ ढोका देवलको माथिल्लो भागमा बनाएको हुन्छ । आवश्यक पर्दा आपत्कालीन ढोकाको व्यवस्था पहिला नै गरेको हुन्छ । तर, त्यो सधैँ बन्द हुन्छ । दायाँबायाँ वा बिचको भागमा बनायो भने हावाहुरीले देवल भत्किन सक्छ । धमिरामा यो बुझाइ स्पष्ट छ भन्ने भान हुन्छ । हुन त धमिराहरू विद्यालय र विश्वविद्यालय जाँदैनन् । तर, आफ्ना अग्रजले सिकाएको ज्ञान, सीपलाई मानिसले जस्तो यो परम्परागत भनेर बिर्सन चाहँदैनन् पनि । 

हामी मानिस जस्तो धमिराहरू कामचोर हुँदैनन् । उनीहरू आफ्नो जिम्मेवारीमा परेको कामलाई पूर्ण गरेर छोड्छन् । हामीले रातमा ढोका बन्द गरेर आराम गरे जस्तै निर्माण भएको देवलको मुख बन्द गर्छन् । भोलि फेरि त्यहीबाट सुरु हुन्छ, निर्माणको काम । बन्द गरेको मुख भत्काएर । यो सुरक्षाको दृष्टिले हो वा वातावरणीय बुझ्न कठिन छ । थकाइ त अवश्य हुँदो होला तर आराम गर्दैनन् धमिराहरू । निरन्तर निरन्तर आफ्नो जिम्मेवारीमा लागिरहन्छन् । खानेकुरामा सबैको समान अधिकार हुन्छ । खाने बेलामा धमिराहरू दर्जा बिर्सन्छन्, भ्रष्टाचारमा लिप्त भएका नेताहरू जस्तै । 

वर्षात्को पानीले देवल भत्काउने प्रयास गर्छ । माटोको पत्रका राखिएको पिसाबको रसायनका कारण जोडिन्छ, बाहिरको माटो भित्रको पत्रसँग । यसले देवल भत्किनुको साटो झन् मजबुत बन्छ । वर्षात्को पानी धमिराका लागि अभिशाप नभएर वरदान बन्छ । चाहे छिचिमिरा बन्न होस् वा च्याउ उमार्न । प्रकृतिले जीवन र जगतलाई पाल्न र बचाउनका लागि सृष्टिचक्रको ज्ञान उसको जन्मसँगै भरिदिएको छ । यसका लागि उसले अरू ज्ञानका लागि साधना गर्नुपर्दैन । 

वर्षात्को सुरुवातसँगै धमिराकोे देवलमा छिचिमिराको जन्म हुन्छ । धमिराले आफूलाई शक्ति र बलको अहम्ता देखाउन छिचिमिराको रूप धारण गर्छ भनिन्छ । वर्षभरि संगालेको जीवनको मोहकता र श्रमले बनाएको देवलको रक्षा गर्न उनीहरू असमर्थ हुन्छन् । तव न पुर्खाहरू ‘शक्ति चढेपछि विनाश हुन्छ’ भन्ने किस्सा सुनाइरहन्छन् । नभन्दै २४ घण्टाको छोटो छिचिमिराको आयु बाँचेर धमिराको जीवनको समाप्ती हुन्छ । यसरी धमिरा छिचिमिरामा परिणत हुने कुरालाई स्थानीय भाषामा छेक पसाएको भन्ने गरिन्छ ।  

छिचिमिरा पसाउनु भनेको माटो पाकेको संकेत हो । छिचिमिरा पसाएपछि (निस्किएपछि) जमिन बीजारोपरणका लागि तयारी भएको संकेत गर्छ । यही समयमा जमिनमा वीजारोपण गरिन्छ । मानिस र पशुमा पनि त रज गुणको विकास हुन्छ प्रजनन्का लागि । यो एउटा नियमित प्रक्रिया हो सृष्टि र बाली चक्रका लागि । 

उड्ने लालसा स्वभाविक हो, जमिनको अन्तर कुनामा बस्ने जीवका लागि । तर, उड्ने चाहनामा रमाइरहेका धमिराहरू अहिले खुट्टा आकाशतर्फ फकाएर भूइँमा लडेका छन् । यतिबेला न त यिनीहरू हिँड्न सक्छन्, न त उड्न नै । सर्वोपरिको चाहना कहिलेकाहीँ अभिशाप हुन्छ, आफ्नो जीवनको अस्तित्व गुमाउनका लागि भन्ने दृष्टान्त हेर्नका लागि धमिराको जीवनचक्र हेरे प्रष्ट हुन्छ । 

आनन्दको दरबार र दर्जाको मोहकतामा रमाइरहेका धमिराहरूलाई प्वाँखमा उड्नका लागि आउने शक्ति आन्तरिक हो वा बाह्य, यो जान्न कठिन छ । यदि आन्तरिक शक्ति हो भने त्यो सानो धमिरो कसरी त्यत्रो ठुलो छिचिमिरामा परिणत भयो । हैन, बाह्य शक्ति हो भनौँ भने आफूमा रहेको घुर्मैलो त्यो फुस्रे धमिरो कसरी कालो छिर्के छिचिमिरोमा परिणत भयो ? एकछिन दिमाखले चक्कर खान्छ । 

उडेर उचाइ कायम गर्न नसकी जमिनमा झरेका धमिरालाई चरा र कमिलाले घिसार्दै लगिरहेका छन् । कतिलाई आफ्नै गुँडभित्रका धमिराले बोकेर प्वालभित्र छिराइरहेकका छन् । आफ्नु रूप र गुण छोडेका छिचिमिरालाई पक्कै धमिराले उपचारका लागि नभइ आहारका लागि लगेको हो भन्ने कुरामा शंका छैन । रूप बदलेपछि सद्भाव हुँदैन भन्ने कुराको यो संकेत पनि हो । नत्र आफ्नै देवलमा हुर्केकाहरूलाई कसरी आफैले आहाराको रूपमा ग्रहण गर्छन् धमिराहरूले ।

रूप र रंग बदलेपछि संस्कार भुलिन्छ । संस्कार भुले दुःखले आक्रमण गर्छ । ‘संस्कार छोड्नु भनेको आफूलाई आफैसँग अलग गर्नु बराबर हो’ भन्ने बूढापाकाको भनाइ धमिराको जीवनबाट सिक्न सकिन्छ । तथापि हरेक वर्ष धमिराले छिचिमिराको रंंग बदलिरहन्छ । यहाँ चैतन्यताको कमीले यसो भएको हो भन्ने होइन । यो एउटा जीवन पद्धतिको रित पनि हो । यदि यो रितको उलंग्घन हुँदो हो त आज पृथ्वीमा पुरा धमिराहरूको साम्राज्य हुने थियो ।

धमिराले छिचिमिराले रूप धारण गरेपछि पेलिने भनेको साना आकार भएका छिचिमिरा बन्न नसकेका धमिराहरू नै हुन् । उनीहरू २४ घण्टाको समय छिचिमिराको थिचोमिचो सहेर बाँच्न विवश छन् । त्यसपछिको आफ्नो संस्कार र रित त फेरि छँदैछ । आफैमा मिलेर एकाकार भएका धमिरा छिचिमिरा भएपछि कति फरक हुँदो रहेछ । शक्ति र आकारले आकांक्षा र विचारमा फरक पार्दो रहेछ । धमिराबाट छिचिमिरा बनेकासँग यही कुरा सिक्न सकिन्छ ।

आफ्नो पिसाबका कारण उम्रिने च्याउले आफ्नो जीवनलाई संकटमा पार्छ भन्ने बुझेको धमिराले वर्षाको समयमा झन् धेरै पिसाब आफ्नो देवलको पर्खालमा छर्किने गर्दछ । यो पिसाबबाट बन्ने च्याउ निकै पौष्टिक र स्वादिलो हुन्छ । च्याउ बाहिर उम्रिएको देखिए पनि त्यसको जरा देवलको भित्री भागसम्म हुन्छ । मानिसहरूले च्याउ निकाल्नका लागि देवल भत्काउने गर्छन् । वर्षौ लगाएर बनाएको धमिराको देवल क्षणभरमा खण्डहरमा परिणत हुन्छ । 

यो प्रक्रिया धमिराको जीवनचक्रमा नियमित चलिरहन्छ । सबै थिचोमिचो र साम्राज्यका बिचमा पनि केही नभएको जस्तै गरेर । फेरि धमिराहरूले आफ्नो श्रम र सिपले उसै गरी निर्माण गर्छन्, त्यो भत्किएको देवल ।  

हुर्किएका छिचिमिरा उडेपछि दरवारका धेरै कोठाहरू खाली हुन्छन् । ती खाली रहेका कोठाहरू दर्जाअनुसार धमिराको भागमा पर्छ । फेरि पुरानो लयमा फर्किन्छउसैगरी धमिराको देवल । छिचिमिराको साम्राज्यबाट । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप