सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुरक्षा व्यवस्था कडा पारेका छौँ, ढुक्कसँग मतदान गर्नुहोस्: गृहसचिव

शनिबार, ०३ मङ्सिर २०७९, १८ : ३४
शनिबार, ०३ मङ्सिर २०७९

सरकारले मङ्सिर ४ गते आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अवरोध सिर्जना हुन नदिन सुरक्षा व्यवस्था कडा पारेको बताएको छ । गृह मन्त्रालयले निर्वाचनका लागि देशभर आवश्यक तयारी सकिएको र सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको बताएको हो । 

शनिवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा गृह मन्त्रालयको सचिव विनोदप्रकाश सिंहले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरी निर्वाचन सुरक्षाको लागि तैनाथ रहेको बताए । उनले निर्वाचनलाई कुनै पनि किसिमको अवरोध हुन नदिनको लागि सम्पूर्ण निर्वाचन क्षेत्रमा सुरक्षाकर्मीहरू परिचालन गरेको बताए । 

उनले भने, ‘मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेका छन् । सुरक्षा व्यवस्थालाई पनि चुस्त दुरुस्त राखिएको छ । सम्पूर्ण सुरक्षा भरपर्दो, चुस्त दुरुस्त पारिएको छ । सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरू निर्वाचनको लागि सम्पूर्ण रूपमा निर्वाचन क्षेत्रमा खटिसक्नुभएको छ । सबै ठाउँमा निर्वाचनलाई कुनै पनि किसिमको अवरोध नहुने गरी र निर्वाचन सहज हुने गरी सुरक्षा व्यवस्था मिलाइएको छ । मतदातालाई बिहान ७ बजेदेखि ५ बजेसम्म देशभरका विभिन्न मतदान केन्द्रमा हुने मतदान ढुक्क भएर गर्न आग्रह गर्दछु ।’

गृह मन्त्रालयले आज काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप जिल्लाका अति संवेदनशील मतदान केन्द्रको अवलोकन एवं निरीक्षण गरेको थियो । आइतबार (भोलि) देशभर एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप