नेकपा बहुमतका जिल्ला इन्चार्जसहित ८ पक्राउ
कञ्चनपुरमा निर्वाचन विरोधी गतिविधिमा संलग्न आरोपमा आठ जनालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार निर्वाचन विरोधी गतिविधिमा संलग्न नेकपा (बहुमत)का जिल्ला इन्चार्जसहित ८ जनालाई पक्राउ गरिएको हो ।
भीमदत्त नगरपालिका–४ स्थित भृकुटी माध्यमिक विद्यालय मतदान केन्द्र बाहिरबाट इन्चार्ज हरिश दयालसहित ८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।
उनीहरुलाई निर्वाचन विरोधी पर्चा, पम्पलेट बाँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । इन्चार्ज दयालबाहेक अन्यको नाम भने प्रहरीले खुलाएको छैन । नेकपा (बहुमत) र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनाव बहिष्कारको आह्वान गर्दै आएका छन् ।
यसबीच जिल्लाको विभिन्न स्थानमा शंकास्पद वस्तुहरू समेत फेला गरेका छन् ।